Edukhabar
आइतबार, ०६ जेठ २०८१
विचार / विमर्श

पत्रुले काम चलाउने कि नयाँ बनाउने ?

विहीबार, २० मंसिर २०७५

शिक्षक–विद्यार्थी सम्बन्धलाई निरस व्यापारिक लेनदेनमा रुपान्तरण गर्नु पत्रु चीजबीज बेच्ने पसलको दलालीका लागि ठीकै होला, शिक्षाको मूल्य भने जोगिदैंन – शिव विश्वनाथन, भारतीय समाजशास्त्री  । 

अर्काले बनाएको बाटो छिचोल्न तयार हुने वा आँफैले नयाँ बाटो पहिल्याउने ? मौजुद संसारमा मिसिएर यथास्थितिको पहरेदारी गर्ने वा आँफै परिवर्तनको अभियन्ता बन्ने ? यी प्रश्नहरु सतहमा सामान्य देखिन्छन् । धेरै मन्थन नगरी यसै भन्दिन सकिन्छ, ‘नयाँ बाटो पहिल्याउने ।’ वा फिस्स हाँस्दै कोही जवाफी बन्न सक्छ, ‘अरुले गरेकै काम त किन दोहो¥याउने ? जीवनलाई नयाँ आयाम दिने !’ भन्न जति सजिलो छ, प्रमाणित गर्न त्यो भन्दा दोब्बर हम्मे । 

यी प्रश्नहरु हाम्रो विश्व दृष्टिकोण एवं सो अनुसार हाम्रो बचाईसँग सम्बन्धित छन् । यी प्रश्नमा गहिरो चिन्तन गर्नेले हाम्रो हुर्काई साथै हामीले आर्जन गरेको शिक्षाबारे सोच्नु पर्नेछ । आँफू बाँचेको समाज, सो समाजको आर्थिक एवं साँस्कृतिक संरचना लगायत प्रश्नका ठूलो लहरो सँगै तानिएर अघिल्तिर आउनेछन् । सहजै जवाफ दिइएका प्रश्नहरु अन्ततः प्रश्नकै भूमरी सृजना गर्ने औजार बन्नेछन् । 

हामी कसरी हुर्कियौं वा अहिले हाम्रा बालबालिका कसरी हुर्किँदैछन् भन्ने प्रश्नबारे अरु कुनै मौकामा छलफल गरौंला । अहिले भने हाम्रो औपचारिक शिक्षा सम्बन्धी छलफलका लागि केही अवधारणागत प्रश्न उठाउन मनासिव होला । 

मेरो ठम्याइमा हाम्रो औपचारिक शिक्षाले लिएको सबैभन्दा ठूलो उद्देश्य नै मौजुद संसारको सामना गर्ने सामथ्र्य भएका मानिसको निर्माण हो । पहिल्यै कसैले खनिदिएका बाटामा दह्रोसँग उभिएर पाइला चाल्न सक्ने बनाउनुलाई शिक्षाको ठूलो सफलता मानिन्छ । कारण, हाम्रो शिक्षा उत्तरको ठेली हो, प्रश्न उब्जाउने ब्याड होइन । सतहमा नदेखिएका वा पत्ता नलागेका समस्याको पहिचान गर्ने शिल्प होइन, अरुले नै औँल्याएको समस्या र समाधानका भारी बोक्ने भरिया हो । शन्देह होइन, आस्थाको खेती गर्नु शिक्षाको उच्चतम सफलता मानिन्छ । यथास्थिति माथि आस्था, स्थापित शक्ति–संरचना माथि आस्था । चाहे ति जतिसुकै समस्याग्रस्त किन नहुन् स्थापित सत्यलाई बलियो बनाउने अनुसारक (कन्फर्मिष्ट) हरु निर्माण गर्छ हाम्रो शिक्षाले । केही अपवाद भने अवश्य होलान् ।

ख्याल रहोस्, यति काम पनि मौजुद शिक्षा प्रणालीलाई सफलतापूर्वक प्रयोग गर्दा मात्रै हात लागि हुने हो । विद्यमान बेहालले यति उद्देश्य पूरा गर्नसम्म दिएको छैन । अर्थात्, रुचिको क्षेत्रमा चुस्त सीप एवं दक्षता भएका कन्फर्मिष्ट पेशाकर्मीहरु निर्माण गर्न समेत ठूलो हम्मे परेको छ । 

नयाँ बाटो खन्न सक्ने, जीवनका नयाँ आयाम पहिल्याउन सक्ने, यथास्थिति बदलेर समाजलाई अझ बाँच्न लायक बनाउने उद्धेश्यमा हाम्रो शिक्षाले मद्दत गरेको छैन । त्यसैले हामी आँफै ज्ञानका श्रोत बन्न सकेका छैनौं । नयाँ बुद्धहरु जन्माउन नसकेर हीनभावनाले ग्रसित छौं । त्यसैले ‘बुद्ध वाज बोर्न इन नेपाल’ को कला विहिन खेती गर्छौँ । आफ्ना आइन्स्टाइन, आफ्नै माक्र्स, आफ्नै क्लारा जेट्कीन र रोजाहरु हुर्काउन नसकेकाले हामी केवल क्षुब्ध मात्र भइरह्यौँ । आक्कल झुक्कल भेटिने अपवादलाई समेत फुर्काएर बादलमा कवाज खेल्ने लहडीमा रुपान्तरित गरिदिन्छौं । अर्कोे दुरगामी असफलता भनेको हिजो सभ्यता निर्माण गर्ने क्रममा हाम्रा पुर्खाले विकास गरेका पर्यावरण सुहाउँदो ज्ञान र सीपलाई संरक्षण गर्न नसक्नु पनि हो ।

शिक्षाः एक कमोडिटि

नेपालमा आधुनिक शिक्षाको जग राम्रोसँग नबस्दै हाम्रो शिक्षा त्यस्तो कमोडिटि बन्यो जो ठूलो यत्न गरेर प्राप्त गर्नुपर्छ र प्राप्ती पश्चात त्यसको भरपूर दोहन गरिन्छ । आर्जन गरेका शिक्षालाई धन कुम्ल्याउने सीपमा रुपान्तरण गर्न नसके त्यो असफल मानिन्छ । त्यो भन्दा भिन्न शिक्षाको अरु कुनै प्रयोजन छैन भन्ने स्थापित सत्य छ । धेरै खर्च गरेर प्राप्त गरे त्यो कमोडिटिको भाउ ठूलो हुन्छ, सित्तैमा पाएका शिक्षाको बजार भाउमा कुनै दम हुँदैन । धेरै दाम तिर्न सक्ने अल्पसँख्यकको बजार भाउ बलियो हुन्छ, लगानी गर्न नसक्ने बहुसँख्यक आफूले आर्जन गरेको शिक्षा बिक्न नसकेकोमा दिक्दार हुन्छन् । शिक्षा भन्नु विक्रि योग्य सर्टिफिकेट वा मार्कसिट भयो जसको गुणस्तर नाफाखोर बजारले निर्धारण गरिदिन्छ । 

एस.एल.सिको सर्टिफिकेटले खाडीको मजदुरी खरिद गर्छ । मजदुरीको कुनै सम्मान नभएको, जीउधनको सुरक्षा नभएको एवं मजदुर अधिकारको कुनै ग्यारेण्टी नभएका ठाउँको जागिर किन्न एस.एल.सि काम लागेको छ । त्यो भन्दा तलको शिक्षाले भारतीय शहरका मजदुरी खरिद गर्छ । त्यस्ता मजदुरको त कुनै लेखा समेत राख्दैन हाम्रो राज्य, अधिकार एवं सम्मानको कुरै नगरौं । 

प्लस टुले तल्लो तहका मुन्सी एवं क्लर्क बनाउँछ । स्नातकले सरकारी जागिर फुस्ल्याउने सम्भावना ल्याउँछ । स्नातकोत्तर वा त्यो भन्दा माथि भएमा सरकारी, गैर सरकारी एवं निजी पसलका कामदार बनाउँछ । दुईचार कर्पोरेट भनौँ वा अस्पताल र विश्वविद्यालय भनौं, सबै आखिर नाफा दोहनका दोकानदारी हुन् । शिक्षा र स्वास्थ्यको उद्यम चलाउनेले ति क्षेत्रका मूल्यको कुनै ख्याल नराख्नुले ति सबै उद्यमलाई त्यस भन्दा माथि उक्लिन दिएको छैन । यस्ता दोकानमा काम गर्ने मजदुर अधिकांश कन्फर्मिष्ट छन् । ट्रेड युनियनमा क्रान्तिको झण्डा बोक्ने मजदुर झन् ठूला कन्फर्मिष्टहरु छन् ।

औपचारिक शिक्षा प्रणाली स्थापित हुन नपाउँदै आफ्ना उदात्त मूल्यको चरम बिघटन भोग्न पुगे पछि बजारले शिक्षा एवं शिक्षित मानिसको भाउ तोकिदिनु सामान्य हो । स्वयं शिक्षा क्षेत्र दलाल वा कन्फर्मिष्टहरुको हातमा हुनुको कारण पनि त्यही हो । नेपाली बजार मुलतः अर्कैले कतै उत्पादन गरेर पठाएको सामान एवं सेवाको दलाली गरेर बसेको बजार हो । यसको मौलिक उत्पादन लगभग शुन्य छ । शिक्षाको व्यापार पनि उस्तै दलालीको व्यापार हो । क्रेता एवं विक्रेता नेपाली नागरिक नै हुन् तर त्यहाँ उनीहरु कुनै नयाँ र मौलिक ज्ञान उत्पादन गर्दैनन् ।

यसो भन्दै गर्दा कसैका मनमा प्रश्न उठ्न सक्छ, के शिक्षाको काम मान्छेलाई डाक्टर, इञ्जिनियर, एकाउन्टेन्ट, शिक्षक वा पत्रकार बनाउने होइन ? हो, शिक्षाको उपयोगिता हुन्छ । सो उपयोगिताकै कारण कोही शिक्षित मानिस उसको रुचि अनुसार डाक्टर वा प्रोफेसर बनेको हो । समाज सञ्चालनका लागि आवश्यक मानवीय संशाधनको विकासका लागि पनि शिक्षाको उद्यम गरिएको हो । तर, के सृजनात्मक क्षमता नभएको एवं आलोचनात्मक चेतना नभएको पेशेवर नागरिक उत्पादन मात्रै शिक्षाको समुल उद्देश्य हो ? कमोडिटिमा रुपान्तरित शिक्षाले गर्ने यति नै हो । त्यसभन्दा बढ्ता केही गर्न शिक्षालाई कमोडिटि बन्न दिनु हुँदैन । 

उपयोगिताको सानो साँचोमा कैद शिक्षाले केवल जागिर खानका लागि तयार पारिएका डाक्टर, प्रोफेसर वा पत्रकार बनाउँछ । स्वतन्त्र चिन्तन गर्न सक्ने, आफू स्वयं र समाजलाई क्रिटिकल भएर हेर्न सक्ने, पेशासँग सम्बन्धित वा अन्य चासोका विषयमा नयाँ प्रश्न उब्जाउन सक्ने डाक्टर, नेता, पत्रकार वा शिक्षक नभएको समाजले ज्ञानको उद्यम गर्न सक्दैन । सिंगो समाज जागिरे रीतमा रतिएको दब्बु मान्छेहरुको समुहमा रुपान्तरित हुन्छ । त्यस्ता मान्छेको समुहले प्रश्न, शन्देह, आलोचना रुचाउँदैन । प्रश्न उठाउनेलाई त्याज्य ठान्दछ । कसैले हिम्मत गरे, ऊ बागी ठहर्छ । उसका विरुद्ध एक हुल शक्तिशाली तर दब्बु मान्छेहरु आक्रामक बन्न थाल्छन् । कारण, बागीले उठाएको सामान्य प्रश्नले नै त्यस्ता मान्छे उभिएको धरातलमा कम्पन छुटाउँछ । 

कमोडिटिमा रुपान्तरित शिक्षाको सीमितता देखाउन त्यसकारण अप्ठ्यारो छ । शिक्षा स्वयंलाई उपयोगितावादको साँघुरो उद्धेश्यमा सिमित गरेर कमोडिटिमा रुपान्तरित गरे पछि त्यो बजारको कब्जामा पुगेको हो । यति भन्न पनि ठूलै हिम्मत चाहिन्छ ।

बजारु विद्यालय

बजारको हातमा पुगेको शिक्षा आँफैमा विभाजित छ । बजार त्यस्तो संयन्त्र हो जसले विद्यालय शिक्षालाई ‘गुणस्तरीय’,‘मध्यम गुणस्तरीय’ र ‘कमसल’मा वर्गीकरण गरिदिएको छ । बजारको हातमा शिक्षाको बागडोर सुम्पेको राज्यले सरकारी एवं सामुदायिक विद्यालयको गुणस्तर उकास्न जाँगर चलाएन । कारण, राज्य स्वयं बजारले खटाएको सामान्य व्यवस्थापक मात्र बन्ने प्रण गरिसकेको छ । सामुदायिक विद्यालयको बेहाल अवस्थाको फाइदा उठाउँदै बजारको नियमपालक निजी शिक्षालयले आफूलाई समाजमा स्थापित गरेका हुन् । 

गुणस्तरमा सम्झौता नगरेका विद्यालयहरु असाध्यै थोरै सँख्यामा छन्, ति प्राय काठमाडौंमा छन् । ति विद्यालयमा आवश्यक सबै पुर्वाधारहरु हुन्छन् । फराकिला कक्षा कोठा, ठूलो चौर, विविध पुस्तक सहितका पुस्तकालय, आवश्यक सामाग्री भएको विज्ञान प्रयोगशाला, कार्यक्रम गर्ने भवन, उचित तलब भत्ता दिएर राखिएका एवं राम्रो ठाउँमा शिक्षा आर्जन गरेका फुर्तिला शिक्षकहरु । त्यस्ता विद्यालयमा प्रायः अंग्रेजी भाषामा पढाईन्छ, अंग्रेजीमा हासिल गरेको दक्षताका आधारमा पश्चिमले उत्पादन गरेको ज्ञानका स्रोतमा सहज पहुँच पु¥याइन्छ । यस्ता विद्यालयमा तिर्नुपर्ने शुल्क असाध्यै धेरै हुन्छ । 

‘गुणस्तरीय’ विद्यालय पढेका विद्यार्थी दुनियाँका राम्रा कलेज एवं विश्वविद्यालय पुगेका छन् । त्यहाँका सफल विद्यार्थी प्रायः नेपालमा उच्च शिक्षा लिँदैनन् । अत्यन्त सानो सँख्यामा राम्रा शिक्षालयमा पुगेका यस्ता विद्यार्थीले आफ्नो रुचिको क्षेत्रमा राम्रा काम गरिरहेको बेला बेला सुन्न पाइन्छ । कोही नासा पुगेको त कोही ठूलो विश्वविद्यालयको गरिमामय पदमा नियुक्त भएको खबर पढिन्छ । त्यस्ता सफल विद्यार्थी प्राय काठमाडौंका उच्च एवं उच्च मध्यमवर्गीय परिवारका हुन्छन् । नेपाल फर्केर आउने अझै सानो सँख्या प्रायः धेरै तलब दिने अन्तर्राष्ट्रिय गैर सरकारी सँस्था वा आफ्नो रुचि अनुसारको निजी उद्यममा लाग्छन् ।

‘मध्यम गुणस्तर’का निजी विद्यालयहरुको सँख्या ‘गुणस्तरीय’ भन्दा ठूलो छ । यस्ता विद्यालयमा मुलतः मध्यम एवं निम्न मध्यम वर्गका विद्यार्थीको पहुँच हुन्छ । अंग्रेजी माध्यममा पढाई हुने, राम्रा युनिफर्ममा सजिन पाइने, टाई आदि लगाउन पाइने, साथै विद्यालयलाई अत्यावश्यक पुर्वाधार लगभग पुगेको कारण उल्लेख्य सँख्यामा विद्यार्थी यस्ता शिक्षालय पुग्छन् । यस्ता विद्यालयबाट शिक्षित विद्यार्थी मुलतः नेपालका सरकारी निकाय, निजी कर्पोरेट, गैर सरकारी सँस्थामा काम गर्न पुग्छन् । अँग्रेजी भाषामा ठीकै पहुँच भएका कारण वैश्विक परिवेश एवं पश्चिमा ज्ञानसँग यीनको सामान्य पहुँच पुगेको हुन्छ । जति सक्दो चाँडो धनसम्पत्ती कमाउने र त्यसको प्रयोगबाट मोज मस्तीको जीन्दगी जीउने उनीहरुको धोको हुन्छ । त्यसैका लागि आफूले आर्जन गरेको शिक्षाको उपयोग गर्ने उनीहरुको ध्याउन्न हुन्छ । 

आवश्यक पुर्वाधार नभएका विद्यालयहरु ‘कमसल’ कोटीमा पर्छन् । यस्ता स्कूलमा कुनै खास तालिम नपाएका वा पढाईमा दक्षता समेत नभएका शिक्षकहरुको बाहुल्य हुन्छ । पढाइको माध्यम भने अंग्रेजी हो भन्ने दावी गरिएको हुन्छ । जेनतेन परीक्षा पास गराउने र सर्टिफिकेट हात लगाइदिने नै विद्यालयको सबैभन्दा ठूलो उद्धेश्य हुन्छ । ठूला शहरका कुनाकुनामा एवं नेपालका सबै साना शहरमा यस्ता विद्यालयहरु छन् । यस्ता विद्यालयमा पढेका मध्ये थोरै मात्र उच्च शिक्षामा सफल हुन्छन् वा आफ्नो रुचिको क्षेत्रमा अब्बल ठहरिन्छन् । ठूलो सँख्याका विद्यार्थी भने नेपाली बजारको तल्लो स्तरका मजदुर बन्छन् वा विदेशी कामदारमै रुपान्तरण हुन्छन् ।

अंग्रेजी भाषामा एउटा शब्द छ ‘कीत्च’ (kitsch) जसले कुनै राम्रो वस्तुको नक्कल गरेर बनाइएको कमसल वस्तुलाई जनाउँछ । पर्याप्त पैसा नहुने तर सुनका गहना लगाएर हिँड्नुपर्ने बाध्यतामा भएका मान्छेले टलक्क पहेँलो टल्कने नक्कली सुन लगाउँछन् । अर्थात, उनीहरु सुनको साटो कीत्च पहिरिएर रमाएका हुन्छन् । आफ्ना छोराछोरी निजी विद्यालय पढाउने रहर हुने तर बजारले गुणस्तरीय भनेका विद्यालयमा पढाउन नसक्ने बहुसँख्यक नेपाली परिवारका लागि खुलेका यस्ता विद्यालयको सँख्या सबै भन्दा ठूलो छ । ती कीत्च विद्यालयबाट उत्पादित विद्यार्थीले माथिका अरु दुई विद्यालयबाट उत्पादित विद्यार्थीसँग प्रतिष्पर्धा गर्न सक्दैनन् । त्यसैले श्रमबजारमा अधिकांश तल्लो श्रेणीका मजदुर बन्दछन् । कतिपय निराशाका सिकार हुन्छन्, अपराध कर्ममा समेत लाग्ने सम्भावना बढी हुन्छ । 

सामुदायिक विद्यालयको पहुँच पुग्न नसकेको एवं तिनको बेहाल अवस्थाका कारण फष्टाएका यी तीन खाले बजारु विद्यालयले उत्पादन गर्ने अनेक तहका शिक्षित मानिसहरुमा एउटा समानता भने हुन्छ । ती मध्ये अधिकांश भएका बाटामा पाइला चाल्न खोज्ने बटुवा हुन्छन्, आँफै बाटो खन्ने सामथ्र्य हुर्काएका सृजनात्मक मान्छे कम हुन्छन् । 

कमल प्रकाश मल्लका शब्दमा भन्ने हो भने,आक्कल झुक्कलका अपवाद बाहेक अरु सबै विद्यमान सामाजिक संरचनाको चक्कामा घुमिरहने दाँती मात्र हुन्छन् । कोही अलि चम्किला र उच्च स्तरका होलान्, कोही अलि मधुरा एवं स्तरहीन । ेही दलालीमा पोख्त दाँती होलान्, कोही इमान्दार तर प्रश्न विहिन पेशेवर दाँती बन्छन् ।तर सबै एउटै चक्कामा घुमिरहने दाँती नै हुन् । चक्का फेर्न सक्ने जागेका मानिस हुँदैनन् । 

राजनीतिक बदलाव एवं कहिलेकाहीँ हुने व्यवस्था परिवर्तन पछि पनि आधारभूत समस्या उही रहनुको एउटा कारण यीनै दाँती हुन् । तिनलाई रुप बदल्न ठीकै लाग्छ, जब सार नै बदलिने बेला आउँछ, ति तुरुन्त कन्फर्मिष्ट बन्छन् । 

विकल्प के ?

शिक्षालाई जसरी भए पनि बिक्री वा खरिद गर्नु पर्ने कमोडिटिका रुपमा बुझ्दा सम्म यथास्थिति बदलिँदैन । स्वतन्त्र ढंगले सोच्न सक्ने, समस्या पहिल्याउन र तिनको समाधान खोज्न सक्ने, प्रचुर जिज्ञासा एवं शन्देह भएको जीउँदो मान्छे बन्न सहयोग गर्ने उद्यम शिक्षालाई बनाउन सक्दा मात्रै विद्यमान अवस्थामा बद्लाव ल्याउन सम्भव हुनेछ । त्यसका लागि जिम्मेवार सँस्था र ति सँस्थामा भएका व्यक्तिका सोचमा बद्लाव जरुरी छ । 

राज्यलाई बजारको सामान्य व्यवस्थापक होइन, जनताको हितमा काम गर्न जनताबाट अनुमोदित जनप्रतिनिधिको सर्वोच्च सँस्था हो भन्ने अनुभूत गरेर सो अनुसार काम गर्न सक्नु पर्छ । विद्यमान संस्था र तिनका अख्तियारी पाएका मानिस पनि उही कन्फर्मिष्ट शिक्षाका उत्पादन हुन् । तर बिर्सन नमिल्ने सत्य के हो भने, यीनले पुराना मान्यता भत्काउने नयाँ क्रान्ति हाँकेर आएको धेरै भएको छैन । हिजो यीनले बद्लावको बाचा गरेका थिए । नयाँ नेपाल बनाउने कसम खाएका थिए । त्यसैले यीनलाई कन्फर्मिष्ट हुने छुट हुँदैन । 

हरेक नागरिकलाई स्वतन्त्र, आत्मनिर्भर एवं आलोचनात्मक बन्न सघाउने शैक्षिक व्यवस्था निर्माण असम्भव सपना होइन । शिक्षा बारे आधारभूत दर्शन नै बदल्न सके करिकुलम बदलिन्छ, सिकाइका तरिका बदलिन्छन्, शैक्षिक विमर्शका स्तर एवं तालिमका ढर्रा बदलिन्छन्, अन्ततः शिक्षक, अभिभावक र विद्यालय बदलिन्छन् । तल्ला विद्यालयहरु बदलिए, तिनको दबाबमा उच्च शिक्षाको स्वरुप फेरिन्छ । विद्यालयमा परिवर्तन सुरु हुँदै गर्दा अहिले बेहाल बनेका विश्वविद्यालयमा परिवर्तन गराउने तरंगहरु उत्पन्न हुन सक्छन् । 

बदलिएको शिक्षा प्रणाली अन्तर्गत चल्ने बदलिएका सामुदायिक विद्यालय उदाहरण बन्न सके निजी शिक्षालयलाई उतिकै उम्दा बन्न ठूलो परिश्रम गर्नुपर्छ । प्रतिष्पर्धामा खरो उत्रिन सके ति अझ गुणस्तरीय बन्लान्, विद्यार्थीलाई उसैगरी नयाँ गोरेटो खन्न सक्ने सृजनात्मक मान्छे बनाउलान् । नसके ति गुणस्तर नभएका एवं नाफालाई समुल उद्देश्य बनाएका सँस्था बन्द होलान् । तिनका सञ्चालकले अरु उद्यम खोज्लान्, कामदार समेतले अन्यत्र रोजगारीको पहल गर्लान् । माफियाहरु आँफै निरुत्साहित हुनेछन् । 

नयाँ दार्शनिक मान्यताको जगमा उभिएको नयाँ शिक्षा प्रणालीले क्रमैसँग शिक्षाका कारण समाजमा रहेका अकल्पनीय विभाजन न्युनिकरण गर्न सघाउनेछ । समाज बढी समतामुलक हुनेछ, मानिस सुखी हुनेछन् । 

सपना असम्भव होइन । सत्ता सम्हाल्नेहरुले सकेनन् वा चाहेनन् भने केही बागी मानिसहरु उठेर प्रश्न गर्नेछन् । व्यवस्थाले मञ्चन गरेको भेडियाधसानबाट जोगिएका केही अपवादहरु यस्तै बेला जुर्मुराउने हुन् । तिनका अप्ठ्यारा प्रश्नले सत्ताधारीलाई पक्कै विचलित तुल्याउनेछ । विस्तारै ति प्रश्नहरु आधारभूत तहका मानसिसम्म सञ्चार हुनेछन् । सामुहिक प्रयासले यथास्थिति बदलिन सक्नेछ । त्यसमा बार हाल्न स्वयं राजनीतिक व्यवस्था अघि सरे, त्यस्तो व्यवस्था समेत परिवर्तन हुन सक्छ । बदलिने उपाय दुईटा हुन्छ – आँफै महसूस गरेर बदलिने वा अर्कोले ठूलो धक्का दिएर बदल्ने । अहिलेलाई बदल्ने सपनाको बीऊ जोगाउन जरुरी छ । 

प्रसाई सामाजिक, राजनीतिक तथा शैक्षिक विषयको अध्ययन र अनुसन्धानमा सकृय छन् । शिक्षामा निजी लगानी र ब्यवस्थापनका विषयमा उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगलाई पृष्ठपोषण हेतु एडुखबर डट कम र शिक्षा नीति तथा अभ्यास केन्द्रले संयुक्त रुपमा आयोजना गरेको अन्र्तकृया कार्यक्रममा उनीद्धारा प्रस्तुत अवधारणाको मुख्य अँश । 

प्रतिक्रिया