Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

शिक्षकको ग्रेड थप्न अभिभावक र विद्यार्थीको मतको प्रस्ताव, अस्थायी नराख्न सुझाव

शुक्रबार, २१ मंसिर २०७५

काठमाडौं - शिक्षक ब्यवस्थापनको स्पष्ट खाका तय नगरिकन तयार पारिने प्रतिवेदनको औचित्य नहुने भन्दै सरोकारवालाले शिक्षा आयोगको ध्यानाकर्षण गराएका छन् । आयोग भित्र बनेका विभिन्न समूह मध्ये शिक्षकका सवाललाई वेवास्ता गरिनु त्रुटिपूर्ण भएकोले यस बारेमा थप छलफल गर्न आवश्यक रहेको उनीहरुको तर्क छ । 

बदलिदोँ समयमा शिक्षक व्यवस्थापनका बारेमा एडुखबर डट कम र शिक्षा नीति तथा अभ्यास केन्द्रले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै शिक्षाकर्मी टीका भट्टराईले सबै प्रकारका अस्थायी शिक्षक नरहने व्यवस्थाको ग्यारेण्टि गर्नु पर्ने तर्क प्रस्तुत गरे ।  

'जे जुन मूल्यमा होस् अस्थायी एक वर्ष भन्दा नरहने र अहिलेका सबै प्रकारका अस्थायी नरहने व्यवस्था गर्नु पर्छ' उनले भने,  'हाजिर गरेकै भरमा शिक्षकको ग्रेड थप हुने ब्यवस्था अन्त्य गरि अभिभावक र विद्यार्थीका मतबाट ७५ प्रतिशत समर्थन भए पछि मात्रै ग्रेड थप हुने ब्यवस्था गर्नु पर्छ ।'

शैक्षिक जनशक्तिको विषयलाई आयोग भित्र छुट्टै विषय वा खण्डका रुपमा राख्न आवश्यक रहेको उनले सुझाव दिए ।

'शिक्षक भनेको नै शिक्षा हो' उनले भने 'यसको संवेदनशीलतामा ध्यान नदिने हो भने शिक्षाको अवस्था सुधार हुदैंन ।'

तर आयोगका सदस्य डा. बाबुराम अधिकारीले शिक्षकका सवालमा आयोग भित्र ब्यापक छलफल जारी रहेको दावी गरे । शिक्षकलाई एकै पटक निरुत्साहित बनाउने गरी अघि बढ्दा समस्या हुने भएकोले चरणवद्ध रुपमा गर्ने काम निर्धारण गर्न आयोगमा गृहकार्य भईरहेको उनको भनाई छ । 

शिक्षाविद् तथा आयोगका सदस्य प्रा.डा. विद्यानाथ कोइरालाले शिक्षकको योग्यता र गुणस्तरका सवालमा आयोगमा मतैक्य  रहेको बताउँदै निश्कर्षमा पुग्ने काम जारी रहेकाले विभिन्न क्षेत्रका सुझावलाई ध्यान दिदैं आयोगले कार्य सम्पादन गर्ने बताए । 

आयोगको काम गराईको तरिका हेर्दा 'प्रभावकारी ढंगले कार्य गर्ने भन्ने खालको प्रतिवेदन तयार हुने'

तर्फ आशंका गर्दै शिक्षाविद् डा. प्रमोद भट्टले कुन कामका लागि कहिले सम्म र कसरी कार्य सम्पादन गर्ने भन्ने बारेमा आयोगले स्पष्ट सुझाव दिनु पर्ने बताए ।  

ब्यूरोक्रेसीका कारण शिक्षकको मनोवल क्रमशः घट्दै जानुले शिक्षाको अवस्था नकारात्मक भएको भन्दै पत्रकार तथा शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले शिक्षाको कर्मचारी प्रशासनलाई विज्ञता र विशेषज्ञताका रुपमा ब्याख्या गर्नु पर्ने खाँचो औल्याए । 

'शिक्षकलाई शिक्षाको ब्यूरोक्रेसीको वर्डनले थिचेको छ' उनले भने, 'शिक्षाका ४ सय उपसचिवले हाजिर मात्रै गरेर जागिर खान हुने हामीले काम गर्नु पर्ने ? भन्ने प्रश्नले शिक्षकको मनोवल खस्काएको छ, यस तर्फ आयोगको ध्यान जान जरुरी छ ।'

लामो समय शिक्षा  सेवामा कार्य गरेका पूर्व सचिव महाश्रम शर्माले शिक्षकका सवालमा आयोगले तत्कालिन र दिर्घकालिन योजना प्रस्ताव गर्नु पर्ने सुझाव दिए । 

आयोगका आमन्त्रित सदस्य समेत रहेका नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले आयोगलाई संवैधानिक नबनाईकन यसले दिने सुझाव कार्यान्वयन सम्भव नहुने भन्दै शिक्षकको सवालमा आफूहरु आयोग भित्र मसिनो गरी काम गरिरहेको बताए । यस्तै आयोगका अर्का सदस्य लक्ष्मण शर्माले विभिन्न स्वार्थी समूहको खिचातानिका कारण शिक्षकका सवालमा प्रभाव परेको भन्दै सैद्धान्तिक आधारमा शिक्षकका मुद्धा समेट्न आफूहरु कृयाशिल रहेको दावी गरे । आयोगकै अर्का सदस्य प्रा.डा. कृष्ण पौडेलले आजका अधिकाँश शिक्षक योग्य नभएकोले आज आयोगले गर्ने काम भोलीको परिवर्तनका लागि महत्वपूर्ण हुने बताउँदै मन फुकाएर छलफलको खाँचो रहेको बताए । 

कार्यक्रममा सहभागी बागिश्वरी मावि भक्तपुरका सह प्रधानाध्यापक ज्ञानसागर प्रजापति, पूर्व शिक्षक धनञ्जय शर्मा, वीर बहादुर राई, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा, अभिभावक वेदनिधी ढकाल, प्रीन्सिपल समाजका उपाध्यक्ष युवराज बस्ताकोटी, पत्रकार हरी थापा लगायतले शिक्षक भनेको शिक्षाको जग भएको भन्दै यस विषयमा बन्ने नीति निर्माणले दूरगामी प्रभाव पार्ने बताउँदै आयोगका सदस्यहरुलाई गम्भिरतापूर्वक कार्य गर्न सझाव दिए । 

आयोगलाई सुझाव दिनका लागि बिहीबार भएको कार्यक्रमको खबर र कार्यपत्र पढ्नुहोस् 

शिक्षा आयोगमा दुई समूहको पटाक्षेप, एक अर्का प्रति कटाक्ष

पत्रुले काम चलाउने कि नयाँ बनाउने ? 

प्रतिक्रिया