Edukhabar
बुधबार, १२ बैशाख २०८१
गतिविधि

स्थापनाको ६ दशक पछि त्रिविमा एलुम्नाई

आइतबार, २२ पुस २०७५

काठमाडौं - स्थापनाको ६ दशक पछि त्रिभुवन विश्वविद्यालयमा एलुम्नाई गठन गरिएको छ । विश्वविद्यालयको विकास र विस्तारमा सहयोग पुर्याउन एलुम्नाई गठन गर्ने प्रचलन भए पनि त्रिविमा गठन भएको थिएन । शनिवार आयोजित भेलाले सुनिती श्रेष्ठ हाडाको अध्यक्षतामा २७ सदस्यीय एलुम्नाई गठन गरेको हो । 

समितिको उपाध्यक्षमा प्रा.डा. सुदर्शनराज तिवारी, महासचिवमा प्रा.डा. ऋदिशकुमार पोखरेल, सचिव श्री अर्जुनकान्त मैनाली र कोषाध्यक्षमा प्रा.डा. कुश्मिला आचार्य चयन भएका छन् । त्रिवि एलुम्नाई एशोसिएशन निर्देशिका २०७४ बमोजिम समितिको कार्यकाल चार वर्षको हुने छ । गत १६ गते भएको त्रिविको ४४ औं दीक्षान्त समारोहमा उपकुलपति प्रा.डा. तीर्थराज खनियाले एलुम्नाई गठन गर्ने घोषणा गरेका थिए । प्रथम वार्षिक साधारण सभाको प्रमुख अतिथिका रुपमा उपस्थित खनियाले  त्रिविका एलुम्नाईहरुले आफ्नो अन्तर्राष्ट्रिय पहिचानलाई त्रिविसंग जोड्न सहयोग गर्नुपर्ने र यसको लागि एशोसिएशनले सहजीकरण गर्नुपर्ने बताए । आफुले अध्ययन गरेको विश्वविद्यालयसंग एलुम्नाईहरुले संस्थागत रुपमा जोडिन पाउनु गर्वको कुरा हुने बताउँदै खनियाले विश्वविद्यालयलाई एलुम्नाईहरुको उपस्थिति र अनुपस्थितिले अन्तर्राष्ट्रिय जगतमा ठुलो भुमिका खेल्ने उल्लेख गरे । आफु १८ औं उपकुलपति भएको स्मरण गर्दै उनले त्रिविको इतिहासमा सबैको नेतृत्व र कार्यकालको सिनर्जीको उपजको रुपमा एशोसिएशन स्थापना भएको पनि बताए । 

त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतिले एशोसिएशनको स्थापना अहिले बामे सर्ने अवस्थामा रहेको भएपनि भविष्यमा यसले त्रिविलाई उत्कृष्ट शैक्षिक केन्द्रको रुपमा स्थापना गर्न मद्दत गर्न सक्ने अपेक्षा गरे । यस संस्थालाई व्यवस्थित रुपमा दीर्घकालीन योजनाका साथ अगाढि बढ्न सके यसले त्रिविको हितमा काम गर्ने संभावना बोकेको उनको धारणा थियो । त्रिविको अहिलेसम्मको प्रयास शिक्षणमा जोड दिने रहेता पनि अबका दिनमा अनुसन्धानलाई प्राथमिकतामा राखेर विश्वविद्यालयले अनुसन्धानमुलक व्यवहारिक ज्ञान निर्माण गर्नुपर्ने उनले बताए । एलुम्नाईको भवन निर्माणको लागि एलुम्नाईहरुकै तर्फबाट सहयोग प्राप्त गर्न सकिने र त्यो संगसंगै त्रिवि परिसरमा एउटा अन्तर्राष्ट्रिय सेमिनार हल सहितको भवन समेत निर्माण गर्न एलुम्नाईहरुलाई उनले आव्हान गरे । 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिपकुमार श्रेष्ठले विश्व समुदायमा भ्रमण गर्दा आफु त्रिविको विद्यार्थी भएको भनी परिचय दिन पाउँदा गर्व महशुस हुने भन्दै एलुम्नाईहरुसंग हातेमालो गर्ने हो भने त्रिविको विकासको लागि अर्काको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुने उनको दावी थियो । 

फोटो : त्रिवि सूचना विभाग 

 

प्रतिक्रिया