Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

सिटिइभिटी ‘दुई नम्बरी’ को मात्र : मुख्यमन्त्री राउत

आइतबार, २९ पुस २०७५

काठमाडौं २९ पुस /  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र नियन्त्रित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ‘दुई नम्बरी’ गर्नेका लागि मात्र भएको आरोप लगाएका छन्। शनिबार सर्लाहीको हरिवन नगरपालिका–६ घुर्कौलीस्थित जनसेवा माध्यमिक विद्यालयमा प्लस टू सञ्चालनार्थ आयोजित विराट नवाह ज्ञान महायज्ञ समापन समारोहमा बोल्दै मुख्यमन्त्री राउतले त्यस्तो आरोप लगाएका हुन्। ‘जोसँग माल छ, जोसँग दुई नम्बरीको पैसा छ, झोलाभरि पैसा बोकेर जानेलाई मात्र सिटिइभिटीले मान्यता दिने गरेको छ,’ मुख्यमन्त्री राउतले आरोप लगाए, ‘जो राम्रो, इमान्दार, गरिब छ, उसका लागि सोच्ने कोही पनि छैन।’

संघीय सरकारले सिटिइभिटीलाई आफ्नै नियन्त्रणमा मात्र राख्ने र त्यसको विकेन्द्रीकरण नगर्ने स्वार्थी मनसाय राखेका कारण प्राविधिक शिक्षामा आमूल परिवर्तनका लागि समस्या भइरहेको उनले गुनासो गरे। ‘पुरानो एकात्मक राज्यसत्ताको धङ्धङ्ीले गर्दा सिटिइभिटीलाई सिंहदरबारमै नियन्त्रण गर्न खोजिएको छ, उहाँहरूको सोच अझै पनि फेरिएकै छैन,’ मुख्यमन्त्री राउतले आरोप लगाए, ‘संविधानले नै प्राविधिक शिक्षाको अधिकार प्रदेश सरकालाई दिएको छ र सोहीअनुसार प्रदेशसभाबाट विधेयक पारित गरेर प्रदेशलाई प्राविधिक शिक्षामय बनाउँछौँ।’

छिट्टै प्रदेश सभाबाट प्राविधिक शिक्षासम्बन्धी विधेयक पारित गराएर प्रदेश सबैको हित हुनेगरी प्राविधिक शिक्षाको क्षेत्रमा कायापलट परिवर्तन गरिने मुख्यमन्त्री राउतले दाबी गरे।

‘विधेयक पास भएपछि प्रदेशभित्रका सम्पूर्ण विद्यालयको कक्षा ११ र १२ मा परम्परागत हैन प्राविधिक शिक्षा लागू गरिनेछ,’ उनले दाबी गरे, ‘प्रदेश २ लाई प्राविधिक शिक्षाको हब बनाइने छ, यहाँ नर्सिङ, कृषि, भेटनरी, फरेष्टि लगायत प्राविधिक शिक्षा लागू गर्दै दक्ष जनशक्ति उत्पादन गर्नेछौं, यहाँ पढेका विद्यार्थीले प्रदेश मात्र हैन देश विदेशमै दक्षजनशक्तिका रूपमा काम गर्न सक्ने बनाउनेछौं।’

प्रधानमन्त्री केपी ओलीले बोलाएको बैठकमा आफू र संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलबीच प्राविधिक शिक्षाको पद्धतीबारे विवाद नै परेको समेत मुख्यमन्त्री राउतले खुलाए। महायज्ञबाट ४० लाख रुपैंयाँ नगद संकलन भएको तथा थप ठूला सहयोगको प्रतिवद्धता समेत प्राप्त भएको महायज्ञ मूलआयोजक समितिले जनाएको छ। संकलित सहयोगबाट कक्षा ११ र १२ सञ्चालनको तयारी गरिनेसमेत विद्यालयले जनाएको छ।

नागरिकमा टंक क्षेत्रीले लेखेका छन् ।

प्रतिक्रिया