Edukhabar
शनिबार, ३० फागुन २०८२
अन्तैवाट

यसपटक पनि समयमै नपाउने भए विद्यार्थीले पाठ्यपुस्तक

सोमबार, ०७ माघ २०७५

काठमाडौं ७ माघ / विगतमा जस्तै आउने शैक्षिक सत्रमा पनि हिमाली जिल्ला डोल्पाका विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने देखिएको छ। कहिले पाठ्यपुस्तक खरिद गर्ने जिम्मेवारी पाएका एजेन्ट त कहिले जनक शिक्षा सामग्री केन्द्रकै लापरबाहीका कारण डोल्पाली विद्यार्थीले कक्षा सुरु भएको लामो समय भइसक्दा पनि किताब नपाउने नियति यसपटक पनि दोहोरिने देखिएको हो। नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा समेत खरिद प्रकिया अघि नबढेकाले यहाँका बालबालिकाले बेलेमै पाठ्यपुस्तक नपाउने सम्भावना बढेको हो।

स्थानीय पाठ्पुस्तक व्यवस्थापन समिति स्थानीय तह प्रमुखको संयोजकत्वमा रहेको र शिक्षा विभागले बजेट पनि स्थानीय तहकै खातामा निकासा दिएकाले उनीहरूले नै समयमा पाठ्पुस्तक प्रक्रिया अघि बढाउनुपर्ने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सिंहराज डाँगीको भनाइ छ। अघिल्ला वर्षहरूमा जिल्ला शिक्षा कार्यालयले पुसमै खरिद प्रक्रिया अघि बढाउँदा पनि पाठ्यपुस्तक मुस्किलले जिल्लामा आइपुग्थे। जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरेर पाठ्यपुस्तक खरिदका लागि पहल गरिने एकाइ प्रमुख डाँगीले बताए।

डोल्पामा समयमै पाठ्यपुस्तक आइनपुग्ने र आइपुगिहाले पनि अपूरो आउने भएकाले कतिपय विद्यार्थीले शिक्षकले पढाएको सुनेको भरमा वार्षिक परीक्षा दिने गरेका छन्। डोल्पामा प्राथमिकदेखि माध्यमिकसम्म गरी १ सय १५ विद्यालय छन्। जसमा पढ्ने विद्यार्थीका लागि आउने शैक्षिक सत्रमा १२ हजार ४ सय ३५ थान पाठ्यपुस्तक आवश्यक पर्ने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ। बालविकास केन्द्रदेखि कक्षा ८ सम्म १० हजार ३ सय ४० थान र कक्षा ९ देखि १२ सम्म २ हजार ९५ थान पाठ्यपुस्तक चाहिने जनाइएको छ।

कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि यो महिनाको अन्तिम सम्ममा पाठ्यपुस्तक नपुगे पढाइ प्रभावित हुने टिँयाचौरस्थित त्रिपुरा माध्यमिक विद्यालयका प्रधानाध्यापक रामानन्द उपाध्यायले बताए। जनक शिक्षा सामाग्री केन्द्रसँग कुन प्रक्रियाबाट पाठ्यपुस्तक खरिद प्रक्रिया अघि बढाउने भन्नेमै स्थानीय तह अन्योलमा परेका छन्।

जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले पहिलोपटक भएकाले अन्योल सिर्जना भए पनि समयमै पाठ्यपुस्तक विद्यार्थीका हातमा पुग्ने गरी प्रक्रिया थालिएको दाबी गरेका छन्। यसैगरी मुड्केचुला गाउँपालिकाले पनि प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ। जिल्लामा आउने बजेट स्थानीय तहमा गएपछि शिक्षाका अधिकतर कार्यक्रम अन्योलमा परेका छन्। शैक्षिक सत्र सुरु हुनै लाग्दा पनि अधिकरत स्थानीय तहले पाठ्पुस्तक खरिद प्रक्रिया अघि बढाउन नसक्नु दुःखद भएको डोल्पा नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढाले बताए।

यसपटक पनि समयमै नपाउने भए डोल्पाका विद्यार्थीले पाठ्यपुस्तक शिर्षकमा नागरिकमा विष्णुप्रसाद देवकोटाले लेखेका छन् । 

प्रतिक्रिया