Edukhabar
बुधबार, १२ बैशाख २०८१
अन्तैवाट

शिक्षकको प्रारम्भिक परीक्षा लिने तयारी, शिक्षक सेवा आयोगको परीक्षा फारम अनलाइनबाट

आइतबार, २७ माघ २०७५

काठमाडौं २७ माघ / शिक्षक सेवा आयोगले अबदेखि शिक्षकको स्थायी परीक्षाको आवेदन फारम अनलाइनमार्फत भर्नुपर्ने व्यवस्था गर्ने भएको छ । परीक्षामा आवेदकले फाराम भर्दा समस्या बेहोर्नुपरेपछि आयोगले अनलाइनमार्फत फारम भर्ने व्यवस्था गर्न लागेको हो ।

आयोगका प्रमुख प्रशासकीय अधिकृत डा. तुलसी थपलियाले शिक्षाका कार्यालयमै आएर फारम भर्दा बढी झन्झट र समस्या आउन थालेपछि अनलाइन प्रणालीको सुरुआत गर्न लागिएको जानकारी दिनुभयो । आयोगले ट्रायलका रुपमा अब आउने परीक्षामा यो व्यवस्था गर्न लागेको हो । स्थायी शिक्षकको आवेदनसँगै शिक्षण अनुमतिपत्रको परीक्षाको समेत अनलाइन फाराम भर्ने व्यवस्था गर्न लागेको हो ।

आयोगलाई टेक्नोललोजीबाट नजिक बनाउन यस्तो व्यवस्था गर्न लागेको जनाएको छ । आयोगले अबदेखि विषयगत रुपमा शिक्षण अनुमतिपत्रको परीक्षा लिने, पाठ्यक्रम सुधार, अन्य विशिष्टीकरण, प्रश्नको स्तरीकरण र अप्टिकल मार्क रिडर मेसिन (ओएआर) मार्फत वस्तुगत उत्तरपुस्तिका परीक्षण गर्ने लगायतका योजना अघि बढाएको जनाएको छ ।

आयोगका अध्यक्ष ताना शर्माले आयोगलाई प्रविधिमैत्री बनाउन अनलाइनमार्फत आवेदन फाराम भर्ने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । यसले गर्दा उम्मेदवारका लागि बढी खर्चिलो र आवेदन फाराम व्यवस्थापन गर्न समस्या हुँदै आएको छ । अनलाइनबाट आवेदन दिन पाउने व्यवस्था भएपछि उम्मेदवारले घरमै बसेर आवेदन दिन सक्ने उहाँको भनाइ थियो । घरबाट आवेदन फाराम भरे पनि आवेदन दस्तुर बुझाउन तोकिएको बैंकमा जानैपर्ने हुन्छ, अनलाइनमार्फत फारम भर्ने व्यवस्था गरेपछि परीक्षा समेत थप व्यवस्थित हुन सक्ने उहाँको भनाइ छ ।

त्यस्तै आयोगले स्थायी पदका लागि आवेदन दिएको उम्मेदवारको प्रारम्भिक परीक्षा लिने व्यवस्था गर्न लागेको छ । ‘शिक्षक पदका लागि उम्मेदवारहरुको संख्या धेरै हुन थालेपछि प्रारम्भिक परीक्षाबाट परीक्षार्थी छनोट गरी परीक्षा लिने व्यवस्था गर्न लागेको हो । प्रमुख प्रशासकीय अधिकृत डा. थपलियाले प्रारम्भिक परीक्षाबाट छनोट भएपछि मात्रै स्थायी पदका लागि लिइने लिखित परीक्षामा सहभागी गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।

आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा १२ हजार ७ सय ३९ पदका लागि आवेदन माग गर्दा २ लाख १३ हजार ५५ जनाले आवेदन दिएका थिए । स्थायी पदका लागि लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा लिने कानुनी व्यवस्था भए पनि हालसम्म लिखित र अन्तर्वार्ता मात्र सञ्चालन गरिँदै आएको छ ।

अध्यक्ष शर्माले आयोगको विश्वसनियतालाई थप मजबुत बनाउन नयाँ प्रविधि प्रयोग गर्न लागिएको जानकारी दिनुभयो । उहाँले आयोगलाई एउटा ऐनभित्र मात्रै राख्ने ध्याउन्नमा शिक्षा मन्त्रालय लागेको आरोपसमेत लगाउनुभयो । उहाँले भन्नुभयो– ‘तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठको कार्यकालयमा आयोगको ऐनको मस्यौदा बुझायांै त्यो कार्यान्वयन हुन सकेन । अहिले त्यो विषयमा मन्त्रालयसँग जानकारी लिन खोज्दा मन्त्रालयका अधिकारीले मौन छन्’ –उहाँले भन्नुभयो ।

उहाँले ७७ हजार दरबन्दी भएको निजामती सेवाका लागि कर्मचारी छनोट गर्न लोकसेवा आयोगको प्रादेशिकस्तरका कार्यालयको समेत व्यवस्था भएकोमा १ लाख ७ हजार दरबन्दी भएको शिक्षक छनोट गर्न एउटा मात्र निकायबाट कठिन हुने तर्क गर्दै आवश्यकता भएकाले हरेक प्रदेशमा शिक्षक सेवा आयोगको पनि कार्यालय रहनुपर्ने बताउनुभयो ।

हाल आयोगमा जम्मा ४० जना कर्मचारी रहेको र तीमध्ये १५ जना कार्यालय सहयोगी तथा चालक कार्यरत छन् । आयोगका सदस्य ज्ञानी यादवले आयोगलाई थप व्यवस्थित बनाउन सातै प्रदेशमा प्रदेश कार्यालय आवश्यक रहेको बताउनुभयो । थोरै कर्मचारीले भए पनि आयोगले समयमै परीक्षाफल प्रकाशित गर्न सफल भएको बताउनुभयो ।

नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

प्रतिक्रिया