Edukhabar
मंगलबार, ११ बैशाख २०८१
अन्तैवाट

प्रवेश परीक्षामा लापरबाही

विहीबार, ०२ फागुन २०७५

काठमाडौं २ फागुन / त्रिभुवन विश्वविद्यालयको एमएसस्सी केमेस्ट्री विषयको प्रवेश परीक्षामा लापरबाही भएको पाइएको छ । नयाँ पत्रिकाका अनुसार केमेस्ट्री केन्द्रीय विभागको परीक्षा समितिको लापरबाहीका कारण नतिजामा त्रुटि हुँदा सयौँ विद्यार्थी मारमा परेका छन् । लापरबाहीका कारण केमेस्ट्री केन्द्रीय विभागमा बुधबार दिनभर तनावपूर्ण बन्यो । 

परीक्षामा क्षमतावान् विद्यार्थीको नतिजा कमजोर आएको आलोचना र केही विद्यार्थीले त्रुटि भएको भन्दै निवेदन दिएपछि पुनः परीक्षण गरी मंगलबार अर्को नतिजा सार्वजनिक गरेको थियो । दोस्रो नतिजापछि तनावपूर्ण अवस्था बनेको हो । कोड र डिकोडमा त्रुटि भएको भन्दै परीक्षा समितिले अर्को नतिजा सार्वजनिक गरेको थियो । दोस्रो नतिजामा पहिले मेरिटमा अगाडि नाम निकाल्न सफल भएकाहरू पछि परेका थिए ।

केमेस्ट्री केन्द्रीय विभागप्रमुख प्राडा. रामचन्द्र बस्नेतले प्रवेश परीक्षाको पहिलो नतिजामा केही त्रुटि भएकाले सच्चाएर दोस्रो नतिजा निकालेको बताए । विभागीय प्रमुख बस्नेतले भने, ‘अहिलेकोमा कुनै गल्ती छैन, कसैले रिजल्ट हेर्न चाहेमा देखाउन सक्छौँ ।’ पहिले डिकोडिङमा केही गल्ती भएका कारण नतिजा फरक परेको बताए । एमएसस्सी केमेस्ट्री अध्ययनका लागि चार सय २५ जनाले फारम भरेका थिए । त्रिविमा देशभरमा तीन सय ४५ विद्यार्थीले अध्ययन गर्ने क्षमता छ । प्रवेश परीक्षामा राम्रो गर्ने ७२ विद्यार्थीले केमेस्ट्री केन्द्रीय विभागमा भर्ना पाउँछन् । मेरिटमा पछि पर्ने विद्यार्थी आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा भर्ना पाउँछन् । 

विज्ञान प्रविधि अध्ययन संस्थानको डिन कार्यालयले एक साताअघि प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको थियो । डिन कार्यालयका परीक्षा हेर्ने सहायक डिन तेजबहादुर भण्डारीले आफूहरूले समन्वय मात्र गरेको र परीक्षामा प्रश्न बनाउने, उत्तरपुस्तिका परीक्षणलगायत काम केन्द्रीय विभागले गरेको बताए । 

नेविसंघका नेता हरि आचार्यले विद्यार्थीको नतिजामा लापर्बाही गर्ने दोषीलाई कारबाही गर्नुपर्ने बताए । विभागसँगको छलफलमा नतिजाको स्वतन्त्र छानबिन गरी आउने रिजल्टलाई सबैले मान्नुपर्ने प्रस्ताव गरेको बताए । 

नयाँ पत्रिकामा त्रिविको केमेस्ट्री विषयको प्रवेश परीक्षामा लापरबाही शिर्षकमा छापिएको छ । 

प्रतिक्रिया