Edukhabar
विहीबार, १५ चैत्र २०८०
अन्तैवाट

छोरीको शिक्षालाई बैंक खाता

शुक्रबार, १० फागुन २०७५

काठमाडौं १० फागुन / प्रदेश २ को महक्त्वाकांक्षी योजना छोरी शिक्षा बिमा कार्यत्रम बिहीबार औपचारिक रूपमा सुरु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोजना गरेको एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी शिक्षा बिमा/मुद्दती खाताको सुरुवात गरिन् । उनले माघ १ यता जन्मिएका १४ छोरीलाई बिमा कार्ड हस्तान्तरण गरेकी थिइन् । 

प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउन’ अभियानअन्तर्गत माघ १ यता जन्मिएका छोरीको शिक्षाका लागि एक लाख रुपैयाँको बिमा घोषणा गरेको थियो । छोरी शिक्षा बिमा कार्यक्रमको औपचारिक सुरु भने बिहीबार गरिएको हो । माघ १ यता जन्मिएका छोरीहरूको शिक्षाका लागि प्रदेश सरकारले यो कार्यक्रम ल्याएको छ ।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले छोरीको शिक्षाका लागि प्रदेश २ सरकारको अभियानले शिक्षामा छोरीको पहुँच बढ्ने बताइन् । ‘यसले छोरीको शिक्षामा पहुँच बढनेछ,’ राष्ट्रपतिले भनिन्, ‘अभियानलाई छोरीको सम्मान र महत्त्व बुझ्ने अभियानका रूपमा लिएकी छु, यसले समाजमात्र नभई समग्र देशकै विकासमा टेवा पुग्नेछ ।’

उनले मुख्यमन्त्रीको अभियानको प्रशंसा गर्दै कानुनी र संस्थागत कार्यक्रमको संरचना विकास गर्दै यसको प्रभावकारी कार्यान्वयन गर्न तदारुकतासाथ लाग्न सल्लाहसमेत दिइन् । दाइजो, दहेज प्रथाको नाममा महिला प्रताडित हुने अवस्था आउनु आजको आधुनिक युग सुहाउँदो विषय नभएको बताउँदै उनले छोरीका लागि लगानीलाई अनावश्यक आर्थिक भारका रूपमा नबुझ्न आग्रह गरिने बताइन् ।

‘छोरी पढाएर खर्च गर्नुभन्दा बालविवाह वा अनमेल विवाह गरेर पठाउने सोच, चिन्तन र व्यवहार गलत छ,’ उनले भनिन्, ‘यसले बालिका र महिलामात्र नभई सिंगो परिवार र समाजलाई नकारात्मक असर पारेको छ ।’ राष्ट्रिय स्वाभिमान र एकताप्रति अगाध श्रद्धासहित जानकी, गार्गीजस्ता विदूषी जन्मेको यस भूमिमा छोरी अपहेलित हुने अवस्था आउनु भनेको सभ्य समाजको इतिहास बिर्सनु रहेको उनले बताइन् ।

छोरीको शिक्षाका लागि राष्ट्रिय, प्रदेश र स्थानीय तहमै बजेट वृद्धि गरी निरक्षरता उन्मूलन गर्दै गुणस्तरीय, रोजगारमूलक र व्यावसायिक शिक्षा प्रदान गर्नुपर्ने सुझाव उनले दिएकी थिइन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अभियानले प्रदेशका छोरीहरूको शिक्षामा ठूलो भूमिका खेल्ने बताए । ‘प्रदेश २ मा जन्मिने हरेक छोरी, लखपति भएर जन्मिनेछन्,’ उनले भने, ‘शिक्षा र स्वास्थ्यका क्षेत्रमा प्रदेश २ अरू सबै प्रदेशभन्दा पछि छ, यो अभियानले मधेसी समाजमा विद्यमान छोरा र छोरीबीच विभेदको अन्त्य गर्नेछ ।’

प्रदेश सरकारले मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउन अभियानअन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रमका लागि प्रभु बैंक लिमिटेडसँग सम्झौता गरेको छ । बैंकसँग गरिएको सम्झौताअनुसार प्रदेश सरकारले प्रदेश २ मा जन्मिने छोरीहरूको नाममा बैंक खाता खोल्ने र उक्त खातामा प्रिमियर रकमबापत १३ हजार ६ सय ४६ रुपैयाँ जम्मा गर्नेछ ।

२० वर्षपछि ती छोरीले बिमाबापतको एक लाख रुपैयाँ र त्यसमा बैंकले आफनो तर्फबाट थप गरेर दिने २५ हजार गरी १ लाख २५ हजरा रुपैयाँ पाउनेछन् । पहिलो चरणमा प्रदेशका ८ वटै जिल्लामा एक–एकवटा गरी कुल आठवटा पालिकामा माक्र छोरी शिक्षा बिमा कार्यत्रम लागू गरिएको घोषणा प्रदेश सरकारले गरेको थियो ।

कान्तिपुरमा शंकर आचार्यले लेखेका छन् । 

प्रतिक्रिया