बहसमा गुणस्तरीय शिक्षा


विषय उठान

अहिले गुणस्तरीय शिक्षाको बारेमा सघन बहस चलिरहेको पाइन्छ । गुणस्तरीय शिक्षा भनेको उत्पादनमा जोड दिने शिक्षा हो भनेर पनि अथ्र्याउने गरेको पाइन्छ । जीवन निर्वाहको लागि आवश्यक ज्ञान, सीप, अभिवृत्ति तथा समालोचनात्मक चेत विकास गर्न सघाउने शिक्षाको रुपमा पनि विश्लेषण हुने गरेको छ । व्यक्तिको शारीरिक, मानसिक, संबेगात्मक सामाजिक बौद्धिक विकास गर्दै दैनिक जीवनलाई सुखी एवम् स्तरीय बनाउन निश्चित सिपहरूको विकास गर्न दिइने शिक्षालाई गुणस्तरीय शिक्षा भन्ने गरेको पनि पाइन्छ । व्यक्तिको जीवनमा आइपर्ने विविधखाले समस्याहरूलाई बुद्धिमत्ता तथा तार्किक किसिमले समाधान गर्न सक्ने जीवनोपयोगी सिप विकास गर्न सहयोग गर्ने शिक्षा गुणस्तरीय शिक्षा हो भन्ने बुझाइ पनि स्थापित भएको अवस्था छ ।

जीवनोपयोगी सिपले व्यक्तिको जीवनयापनमा आवश्यक पर्ने सञ्चार समूहकार्य, समस्या समाधान, स्व निर्णय द्वन्द्व व्यवस्थापन, वित्तीय व्यवस्थापन जस्ता सिपहरू विकास गर्न सहयोग गर्ने हुँदा यस्तो शिक्षालाई गुणस्तरीय शिक्षाको रूपमा स्वीकार्न सकिन्छ । पाठ्यक्रम प्रारूप, २०६३ ले गुणस्तरीय शिक्षा भित्र विद्यार्थी भर्ना, निरन्तरता र उत्तीर्णता जस्ता कुराहरु समेटिएको हुन्छ भन्ने उल्लेख गरेको छ । गुणात्मक शिक्षा अन्तर्गत व्यक्तिमा असल गुणको विकास, नैतिक चरित्रको विकास, अनुशासन, विनयशीलता, अन्तरशक्तिको सन्तुलित र प्रगतिशील विकास, शरीर, मन र आत्माको सबैतिरबाट विकास, अरूलाई बुझ्ने र कामलाई सम्मान गर्ने जस्ता पक्षहरू समेटिन आवश्यक हुन्छ ।

एजुकेशन इन्टरनेश्नलले गुणस्तरीय शिक्षा अन्तर्गत गुणस्तरीय शिक्षक, गुणस्तरीय अध्ययन÷शिक्षण सामग्री र गुणस्तरीय शैक्षिक वातावरण समेटिनु पर्ने कुरामा जोड दिएको छ । तर, अहिले बजारको माग र आवश्यकताको आधारमा सोही अनुरुपको दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा नै गुणस्तरीय शिक्षा हो भन्ने दृष्टिकोण सवलरुपमा बहसको विषयको बन्ने गरेको पाइन्छ । यस्तो बुझाइले शिक्षालाई केवल बजारमा विक्रि हुने बिकाउ बस्तु सरहको क्षेत्रमा सीमित गरिदिदाँ शिक्षा जीवन बुझन र आचरण सुधार्नको लागि पनि आवश्यक हुन्छ भन्ने पूर्वीय मान्यता ओझेलमा परेको देखिन्छ ।

बहस

गुणस्तरलाई निरपेक्षरूपमा परिभाषित गर्न सकिँदैन र यसो गर्नुलाई सान्दर्भिक पनि मानिदैन । तर, पछिल्लो समयमा गुणस्तरीय शिक्षालाई केबल जीवन निर्वाहको लागि उत्पादनसंग गाँसिनु या श्रमसंग जोडिनुलाई मात्र मान्ने कुरामा पनि बहस गर्न थालिएको छ । यस्तो ठम्याइले जीवन र जगतलाई बुझ्ने र बुझाउने कुरा ओझेलमा पर्ने गरेको पाइन्छ । अर्थात हाम्रा पूर्वीय दर्शनले निर्देशित गरेको नैतिकता, अनुसाशन, आचरण, संस्कार र सभ्यता सहितको जीवनज्ञान गुणस्तरयी शिक्षाभित्र नसमेटिने खतरा देखिएको छ । यस अर्थमा गुणस्तरीय शिक्षा निरपेक्ष हुनै सक्दैन । यसलाई समग्रतामा हेरिनुपर्छ । आवश्यकतामा विश्लेषण गरिनुपर्छ । सभ्य समाज निर्माणको आधारको रुपमा । अधिकार र कर्तव्यको समष्टिगत रुपमा । सीप, श्रम, उत्पादन र दायित्वको चक्रिय सन्तुलनको रुपमा । यसो भयो भने शिक्षा समय सापेक्ष हुन्छ । समय र सन्दर्भले निर्धारण गरेको आवश्यकतालाई आत्मसात् गर्ने शिक्षा गुणस्तरीय शिक्षा हो । व्यक्तिको रोजाइ, भोगाइ र चाहानाको खिलाफमा लादिएको शिक्षा गुणस्तरीय शिक्षा हुनै सक्दैन ।

समय सापेक्ष र सन्दर्भअनुसार गुणस्तरीय शिक्षा परिभाषित हुने गर्छ । एक समय, सन्दर्भ र स्थानमा गरिएको गुणस्तरको परिभाषा अर्को समय, सन्दर्भ र स्थानमा त्यही नै रहन्छ भन्न मिल्दैन । गुणस्तर सम्बन्धमा आम मानसमा विभिन्न भ्रमहरू विद्यमान रहेको पाइन्छ । गुणस्तरीयताका लागि बढी पैसा खर्च गर्न सक्नुपर्छ यसर्थ गुणस्तर महङ्गो हुन्छ भन्ने मान्यता । गुणस्तर जताततै पाइँदैन र गुणस्तरीय चिज थोरै मात्र आपूर्ति हुन्छ भन्ने चिन्तन । गुणस्तरीय वस्तु विलासी किसिमको हुन्छ भन्ने बुझाइ । गुणस्तर सबैले दिन सक्दैनन् र यसका लागि बढी शिल्पकारिता आवश्यकता हुन्छ भन्ने दुष्टिकोण । गुणस्तर बढी खर्च गर्नेले मात्र प्राप्त गर्न सक्छ भन्ने दिग्भ्रम ।

समय, परिस्थिति, भौगोलिक परिवेश, साँस्कृतिक, आर्थिक, सामाजिक विविधताअनुसार शिक्षाको गुणस्तरको अवधारणा विकास भएको हुन्छ । यसो हुँदा गुणस्तरलाई फरक–फरकरूपमा स्वीकारिएको हुन्छ । शैक्षिक गुणस्तर त अन्य वस्तुको उत्पादनको गुणस्तरभन्दा ज्यादै भिन्न पक्ष हो । यो मानवीय पक्षसँग नितान्त सम्बन्धित रहेको छ । कतिपय अवस्थामा गुणस्तरीय शिक्षाले दार्शनिक पक्षलाई पनि आत्मसात् गर्ने गर्छ । यो ब्यक्तिको रुचि, चाहाना र आवश्यकतासंग अन्तरसम्बन्धित हुन्छ । अहिले नेपाली समाजमा अंग्रेजी भाषामा दिइने शिक्षा गुणस्तरीय शिक्षा हो भनेर पनि प्रचारवाजी हुने गरेको छ । परीक्षामा प्राप्त नतिजाको जगमा पनि गुणस्तरीय र गुणस्तरहीन शिक्षा भनेर विश्लेषण गर्ने गरिएको छ । अंग्रेजी भाषा जानेर या परीक्षामा राम्रो अंक ल्याएर विदेश जाने होड चलेको छ नेपाली समाजमा यतिखेर । विदेशी मोह र अंग्रेजी भाषाको चास्नीमा फसेका या फसाइएका अबोध बालबालिकाहरु राष्ट्र भाषा र संस्कृतिबाट टाढिदै छन् गुणस्तरीय शिक्षाप्रतिको अल्पबुझाइको कारण । अभिभवकीय चिन्तन नै खलबलिएको छ अगं्रेजी शिक्षा नै अहिलेको निर्विकल्प आवश्यकता हो भन्ने प्रचारवाजीले ।

गुणस्तरीय शिक्षाले केवल सिकारुलाई तोकिएको विषयवस्तुको बारेमा जानकारीदिने मात्र होइन । पाठ्यक्रमले तोकेको निर्दिष्ट शैक्षिक लक्ष्य हासिल गर्ने वा परीक्षामा राम्रो अंक ल्याएर उत्तीर्ण गर्ने मात्र पनि गुणस्तरीय शिक्षा होइन । यो अंग्रेजी भाषा फरर बोलेर विदेश पलायन गर्न उक्साउने शिक्षा पनि होइन । गुणस्तरीय शिक्षा भनेको त कुनै विषयवस्तु, घट्ना, परिवेशप्रतिको समर्थन र विरोधभन्दा पनि आलोचनात्मक चेत विकास गर्न सघाउने शिक्षा हो । सिकेका कुराहरुलाई गुण र दोषको आधारमा विश्लेषण गर्ने क्षमता अभिवृद्धि गर्ने माध्यम पनि हो । प्राप्त ज्ञानलाई व्यवहारमा प्रकट गर्न सक्ने क्षमता हो । गुणस्तरीय शिक्षा ज्ञान सीपले सुसज्जित, परिवर्तित मनोवृत्ति भएको, परम्परागत मूल्य र मान्यताप्रति सचेत नागरिक उत्पादन गर्ने बलियो आधार हो । यस्तो शिक्षाले  स्वरोजगार सिर्जना गर्न सघाउँछ । उद्यमशील बनाउँछ । परम्परागत पेशाप्रति रुचि जगाउँछ । गुणस्तरीय शिक्षाबाट उत्पादित जनशक्ति रोजगार बजारको निम्ति उपयोगी, सिर्जनात्मक, दक्ष, नैतिक आचरण, अनुशासित, सामाजिक आचरण भएको सक्षम नागरिक उत्पादनसँग सम्बन्धित हुन्छ । अधिकत्तर अभिभावकहरूले आप्mनो बालबालिकाका लागि शैक्षिक संस्था छान्दा त्यसमा उपलब्ध सुविधा र त्यसले दिने नतिजालाई हेर्ने गरेको पाइन्छ । यस्तो बुझाइले गुणस्तरलाई केवल प्रतिस्पर्धाको रूपमा मात्र लिएको अनुभूत गर्न सकिन्छ ।

तर, यहाँ सरसहयोग, सद्भाव, मेलमिलाप, सामुहिक कार्यजस्ता पक्षहरु उपेक्षित हुन पुग्छन् । विद्यालयले उपलब्ध गराउने स्वच्छ शैक्षिक वातावरण, सिकारुको मनोभावना र क्षमताको समुचित कदर, सिकारुको कौशल एवम् रुचिको सम्बोधन जस्ता पक्षहरुविना केवल विद्यालयको भौतिक सम्पन्नताले मात्र गुणस्तरीय विद्यालयको परिकल्पना गर्नु सान्दर्भिक हुदैन । यहाँ शिक्षकको शिक्षण शैली, कार्यक्षमता, बालमैत्री वातावरण र समग्रमा शिक्षकको गुणस्तरले पनि गुणस्तरीय विद्यालय र गुणस्तरीय शिक्षाको निर्धारण गर्दछ । गुणस्तरीय शिक्षाका लागि त गुणस्तरीयताको अवयवहरुको आवश्यकता पर्दछ । गुणस्तरीय शिक्षण, गुणस्तरीय वातावरण र गुणस्तरीय उत्पादन चाहिन्छ । सिकारुको आत्मसन्तुष्टि आवश्यक हुन्छ । जबाफदेहीता, पहुँच र पर्याप्तताको सम्बोधन हुनुपर्छ । सहभागितामूलक शिक्षण सिकाइ र अपेक्षित सिकाइ उपलब्धिस्तर भएको शिक्षा । दिगोपना, लैङ्गीक तथा समावेशी वातावरणसहितको शैक्षिक वातावरण । प्रभावकारिता, समता, पर्याप्ताको सुनिश्चिता । सुसंस्कृत व्यवहार, असल अनुशासन र आचरण प्रदान गर्ने शिक्षा ।

निचोड

गुणस्तरलाई बहुआयामिक तथा बहुधारणात्मक पक्षको रूपमा लिन सकिन्छ । गुणस्तरीय शिक्षा ठ्याक्कै यही हो र यस्तै हुनुपर्छ भनेर मापन गर्न सकिन्न । गुणस्तरीयताको पृष्ठभूमिमा शिक्षा क्षेत्रको कुन–कुन पक्षको विश्लेषण गर्ने भन्ने सन्दर्भमा पनि समान धारणा पाइदैन । जो स्वभाविक पनि हो । गुणस्तर के मा खोज्ने त ? समग्र शिक्षा पद्दतिमा या शिक्षा लिने कर्ताको आत्मसन्तुष्टिमा ? या अर्थपूर्ण र सार्थक जीवनयापनमा ? व्यक्तिको व्यवहारको अध्ययन गरेपछि गुणस्तरीय शिक्षा प्राप्त व्यक्ति र प्राप्त गर्न नसकेको व्यक्तिबीच फरक पाउन सक्नुपर्छ । गुणस्तरीय शिक्षा प्राप्त व्यक्तिलाई रोजगारीको साँघुरो घेरामा मात्र सीमित गरिनु हुदैन । गुणस्तरीय शिक्षा प्राप्त व्यक्तिले जागिर नपाए पनि स्वरोजगार सिर्जना गर्न सक्नुपर्छ । या त यो जटिल संसारमा आफ्नो अस्तित्व र पहिचान कायम गर्न सक्षम हुनुपर्छ । जीवन र जगतलाई बुझ्न सक्नु पर्छ । परम्परा, राष्ट्र, अन्तराष्ट्रिय परिवेश तथा विश्वको जल्दोबल्दो घट्नाबारे सचेत गराउने शिक्षा गुणस्तरीय शिक्षा हो ।

स्थानीय ज्ञानलाई विश्वपरिवेशमा विश्लेषण गर्ने क्षमता विकास गर्न सघाउने शिक्षा गुणस्तरीय शिक्षा हो । वर्तमान नेपाली समुदायको अध्ययन तथा विश्लेषण गर्दा गुणस्तरीय शिक्षा भनेको केवल उत्पादनसंग गाँसिने या रोजगारीसंग प्रत्यक्षरुपमा जोडिने शिक्षाको रुपमा मात्र बुझ्ने गरेको पाइन्छ । यस्तो बुझाइले केवल बजारी आवश्यकतासंग मात्र शिक्षालाई सीमित गरिदिने खतरा बढ्छ । भौतिक उपलब्धिलाई मात्र उपलब्धि देख्ने शिक्षा गुणस्तरीय शिक्षा हुनै सक्दैन । ब्यक्तिको सर्वाङ्गीण विकासमा मद्धत गर्ने शिक्षा गुणस्तरीय शिक्षा हो । नैतिक आचरण, अनुशासन, सुसंकृत व्यवहार, संस्कार, संस्कृति, सभ्यता, सीप र सिर्जना सहितको सामाजिक सद्भाव विकास गर्न सक्ने शिक्षा नै सारमा गुणस्तरीय शिक्षा हो ।

[email protected]