Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

आन्दोलनरत शिक्षकलाई शिक्षा मन्त्रालयद्वारा सम्बोधन, प्रारम्भिक चरणमै तरंगित नहुन आग्रह

सोमबार, २० फागुन २०७५

काठमाडौं - शिक्षा ऐन निर्माणकै क्रममा रहेकोले प्रारम्भिक चरणमै तरंगित नहुन शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकलाई आग्रह गरेको छ । दुई दिन सम्म प्रहरीको लाठि र अश्रु ग्याँस खाँदै आन्दोलन गरेका शिक्षकलाई सम्बोधन गर्दै मन्त्रालयका प्रवक्ता बैकुण्ठप्रसाद अर्यालले सोमबार जारी गरेको विज्ञप्तिमा ऐन निर्माणको प्रक्रिया पनि स्मरण गराईएको छ ।

'हाल शिक्षा मन्त्रालय शिक्षा विधेयक तर्जुमा गर्ने प्रकृयामा रहेको छ, ऐन निर्माण प्रारम्भिक चरणमा रहेकै अवस्थामा विभिन्न विषयहरुमा आधारित रहेर आन्दोलनका कार्यक्रमहरु नगर्न मन्त्रालय अपील गर्दछ' विज्ञप्तिमा भनिएको छ, 'स्वभावैले विधेयक तर्जुमा प्रकृया लामो हुन्छ, सहभागितात्मक प्रकृयाबाट सरोकारवालाहरुको सुझावलाई समेटि तयार गरिने विधेयक मन्त्रीपरिषद्बाट सिफारिस सहित संघीय संसदमा पेस भई ब्यापक छलफलबाट मात्र टुङ्गोमा पुगिने विषय भएकोले प्रारम्भिक चरणमै तरंगित नहुन मन्त्रालय आग्रह गर्दछ ।'

शैक्षिक सत्रको अन्तिम अवस्थामा बार्षिक परीक्षा नजिक आईरहेको र विद्यालयको पठन पाठन तिब्र रुपमा बढाउनु पर्ने समयमा आन्दोलनले पठन पाठन प्रभावित भएको भन्दै विज्ञप्तिमा बालबालिकाले निर्वाध पढ्न पाउने हकको सम्मान गर्न पनि सम्झाईएको छ । आन्दोलनरत शिक्षकले नजिकै आएको एसईई परीक्षामा अवरोध गर्न समेत पछि नपर्ने धम्कि दिईरहेका बेला शिक्षा मन्त्रालयले भने एसईई परीक्षा निर्वाध सञ्चालन हुने वातावरण सहित आवश्यक सहयोग पुर्याई आफ्ना जिम्मेवारी बहन गर्न पनि अनुरोध गरेको छ ।

विद्यालय शिक्षा स्थानीय सरकार मातहत भए पनि शिक्षकको सवालमा संघीय सरकार मार्फत् कार्य गर्ने गरी शिक्षक महासंघसँग सहमती गरेको शिक्षा मन्त्रालयले अहिले विद्यालय सञ्चालनको वातावरण निर्माणमा भने स्थानीय सरकारलाई अनुरोध पनि गरेको छ ।

'संविधानतः विद्यालय शिक्षा स्थानीय सरकार मातहतमा रहेको अवस्थामा आआफ्ना स्थानीय तहभित्र सञ्चालित विद्यालयहरु सुचारु रुपबाट सञ्चालन हुने वातावरणका निम्ति आवश्यक पहलकदमी लिईदिन पनि सम्पूर्ण स्थानीय सरकारहरुलाई यस मन्त्रालय विशेष अनुरोध गर्दछ', विज्ञप्तिमा भनिएको छ ।

यो पनि पढ्नुहोस् : मौका यही हो – गरिहालौँ आन्दोलन, भईहालौँ स्वतः स्थायी !

प्रतिक्रिया