Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

पुराना गाडी बनेका छन् विद्यार्थीका सिक्ने साधन

बुधबार, ०६ चैत्र २०७५

काठमाडौं ६ चैत / झन्डै तीन दशकअघि नेपालको तत्कालीन अमेरिकी राजदूत जुलिया चाङ ब्लकले प्रयोग गर्नुभएको गाडी अहिले पनि अटोमोबाइल इन्जिनियरिङका विद्यार्थीका लागि सिक्ने साधन बनेको छ ।
फोर्ड कम्पनीको नीलो रङको सो गाडी त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान थापाथली क्याम्पसको प्रयोगशालामा छ । वि.सं. २०४६ ताका त्यो गाडी नेपालमा भएकामध्येकै सबैभन्दा अत्याधुनिक मध्येमै पथ्र्याे । त्यसबखत अत्याधुनिक गाडी तत्कालीन राजपरिवारसँगमात्र थियो । जुलियाले प्रयोग गर्नुभएको गाडीमा पाँच हजार सीसीको पेट्रोल इन्जिन छ, जबकि नेपालमा हाल बढीमा दुई हजार सीसीसम्मका मात्र पाइन्छन् । यसमा आठ वटा सिलिन्डर छन् ।

थापाथली क्याम्पसका प्रशिक्षक सनी प्रधानले रवीभवनस्थित यूएसएडको ग्यारेजमा सो गाडी थन्किएको देखेपछि आफूले विद्यार्थीका लागि चाहियो भनेर मागेर ल्याएको बताउँदै थप्नुभयो, “बिग्रिएकाले गाडी गुड्न सक्ने अवस्थामा थिएन । अर्काे गाडीको सहायताले मैले तानेर ल्याएको थिए । यो गाडीले धेरै विद्यार्थीलाई अटोमोबाइलसम्बन्धी ज्ञान दिएको छ ।”

सो गाडीको मूल्य थाहा हुन नसके पनि हरेक व्यक्तिका लागि छुट्टाछुट्टै वातानुकूलित (एसी)को व्यवस्था भएको र त्यसमा इलेक्ट्रोनिक्स फ्युल इन्जेक्सन सिस्टम (ईएफआई) भएकाले निकै महंँगो हुनसक्ने अनुमान गरिएको छ । उहाँका अनुसार तीन दशकअघि नेपालमा ईएफआईको सुविधा भएका गाडी थिएनन् । अचेल यस्तो सुविधालाई नौलो मानिदैन ।

तत्कालीन अमेरिकी राजदूत जुलियाले प्रयोग गर्नुभएको सो गाडी अस्ट्रेलियामा बनेको थियो । विश्वविख्यात फोर्ड कम्पनी अमेरिकी हो । सो गाडी निकै ‘लक्जरी’ मानिन्छ । यूएसएडले सो गाडी दर्ता खारेज गरी पुनः प्रयोग गर्न नमिल्ने सर्तमा क्याम्पसलाई उपलब्ध गराएको थियो । त्यसैले त्यसको गाडीको नम्बर प्लेट झिकिएको छ ।
मागेरै काम चलाइन्छ

थापाथली क्याम्पसका अटोमोबाइल इन्जिनियरिङका विद्यार्थीलाई सिकाउन क्याम्पसले गाडी मागेरै काम चलाउने गरेको छ । “अहिलेसम्म गाडी किन्ने गरिएको छैन” प्रशिक्षक प्रधानले भन्नुभयो, “विभिन्न निकायका पुराना गाडी माग्ने गरिएको छ । मागेरै काम चलाइँदै आएको छ ।”

पछिल्लोपटक हेल्भेटास नामक संस्थाले क्याम्पसलाई चार वटा गाडी उपलब्ध गराएको छ । प्रयोगविहीन बनेपछि हस्तान्तरण गरिएका ती पुराना गाडी टोयोटा कम्पनीका हुन् । एउटा एक हजार दुई सय, अर्काे एक हजार छ सय र बाँकी दुईवटा एक हजार चार सय सीसीका गाडी छन् ।

पछिल्लोपटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग १४ वटा गाडी माग गरिएको छ । थापाथली क्याम्पसका प्रमुख डा. जनार्दन भट्टले प्रधानमन्त्री कार्यालयले सिंहदरबारभित्र पुराना गाडी नराख्ने भएपछि तीमध्ये काम लाग्ने गाडी आफूहरूले माग गरेको बताउनुभयो ।

“प्रम कार्यालय पछाडि गाडीहरू थन्क्याइएको ठाँउमा गएर हे¥यौँ” उहाँले थप्नुभयो, “तीमध्ये काम लाग्ने १४ वटा गाडीको नम्बरसहित निवेदन दिएका छौँ ।”

उहाँले सरकारी कार्यालयहरुले गाडी उपलब्ध नगराइदिने हो भने विद्यार्थीलाई सिकाउन समस्या हुने बताउँदै त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयबाट पनि एउटा गाडी ल्याइएको र महाराजगन्जस्थित शिक्षण अस्पतालले पनि एउटा पुरानो गाडी दिने भएको बताउनुभयो ।

गोरखापत्रमा प्रकृति अधिकारीले लेखेका छन् ।

प्रतिक्रिया