Edukhabar
आइतबार, २३ बैशाख २०८१
खबर/फिचर

शिक्षा मन्त्री अस्पताल भर्ना, मन्त्रालयकै कार्यक्रममा सहभागी हुन सकेनन्

शुक्रबार, ०८ चैत्र २०७५

काठमाडौं - शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन् । प्रारम्भिक रिपोर्ट अनुसार उनलाई 'फुड प्वाईजन' भएको चिकित्सकहरुले बताएका छन् । भारतीय दुतावासले बनाएको विद्यालय उद्घाटन गर्न मंगलबार सिन्धुपाल्चोक पुगेका मन्त्री पोखरेलको स्वास्थ्यमा उताबाट फर्कदैं गर्दा समस्या देखिएको थियो । बुधबार फागु पुर्णिमाका दिन निवासमै आराम गरेका मन्त्री पोखरेलको स्वास्थ्यमा थप समस्या महशुस भए पछि बिहीबार बेलुकी पाटन अस्पताल भर्ना गरिएको सचिवालयले जनाएको छ । 

'चिकित्सा शिक्षा क्षेत्रमा देखिएको समस्याका बारेमा विश्वविद्यालयका पदाधिकारी सहित विद्यार्थी सँगठनहरुसँगको छलफलमा गाह्रै गरेर भए पनि सहभागी हुनु भएको थियो' उनका निजी सचिव पुरन केसीले भने, 'छलफलमै बस्दा उहाँलाई थप गाह्रो महशुस भए पछि अस्पताल लगिएको डाक्टरहरुले केही समय निगरानीमा बस्नु पर्छ भने पछि भर्ना गरिएको हो ।'

पोखरेलको उपचारमा डा. पारस आचार्य लगायतको टोली संलग्न रहेको सचिवालयले जनाएको छ । 

विरामीकै कारण शिक्षा मन्त्रालयले नै शुक्रबार तय गरेको कार्यक्रममा समेत मन्त्री पोखरेल सहभागी हुन सकेनन् । सरकारले स्थापना गर्न लागेका तीन वटा मेडिकल कलेज मध्ये रुपन्देहीमा स्थापना हुने कलेजको परियोजना कार्यालय शुक्रबार उद्घाटन हुँदै छ । तिलोत्तमा नगरपालिकामा रहेको कलेजको परियोजना कार्यालय प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने छन् । कार्यालय उद्घाटन पछि डीपीआर निर्माण लगायतका कार्य शुरु हुने जनाईएको छ । यो सहित सरकारले आफ्नै लगानीमा सुर्खेत र महोत्तरीमा मेडिकल कलेज स्थापना गर्दै छ । 

प्रतिक्रिया