Edukhabar
मंगलबार, ११ बैशाख २०८१
अन्तैवाट

विद्यार्थी छैनन्, गाभ्न आनाकानी

शुक्रबार, २९ चैत्र २०७५

काठमाडौं २९ चैत / भीमदत्त नगरपालिका १०, तिलकेनी, कञ्चनपुरको सरस्वती आधारभूत विद्यालयमा ३० जना विद्यार्थी छन् । ५ कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा प्रत्येक कक्षामा ५/६ जना मात्रै छन् ।
नगरपालिकाको शिक्षा शाखाले विद्यालय गाभ्ने विषयमा छलफल चलायो तर भोलिपल्टै व्यवस्थापन समितिले नगाभ्ने भन्दै ठूलो फाइल नगरपालिकामा पेस गर्‍यो । नजिकै रहेका विद्यालयमा गाभ्नुभन्दा अन्य विद्यालयलाई सरस्वतीमा गाभ्नुपर्ने व्यवस्थापन समितिको माग छ । कुनै पनि विद्यालय एक अर्कोमा गाभ्दा व्यवस्थापन समितिको सहमति अनिवार्य हुन्छ ।

भीमदत्त नगरपालिकाकै वडा १२ मा रहेको जनता आधारभूत प्राविमा १९ जना विद्यार्थी छन् । उक्त विद्यालय महाकालीमा निर्माणाधीन पक्की पुलको पहुँचमार्गमा समेत परेको छ । ३ महिनाअघि जनप्रतिनिधिसहितको टोलीले अनुगमन गर्दा उक्त विद्यालय अन्यत्र गाभ्नुपर्ने देखाएको थियो । विद्यालयले भने महाकाली पुल आयोजनाबाट पाएको मुआब्जाबाट अन्यत्रै जमिन खरिद गरेर सञ्चालन तयारी गरिरहेको छ ।

नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रमै रहेका दुई छिमेकी विद्यालय बैजनाथ मावि र भृकुटी माविलाई गाभ्ने विषयमा छलफल चलाएको छ । यी दुई शिक्षक संघ–संगठनका नेता र विद्यार्थी अनुपातमा शिक्षक बढी भएका विद्यालय हुन् । ‘प्रारम्भिक छलफल भएको छ तर निष्कर्ष निस्केको छैन’, नगरपालिका स्रोतले भन्यो, ‘बजार क्षेत्रमै र एकापसमा जोडिएका विद्यालय गाभ्दा विद्यार्थी संख्या बढ्ने अनुमान गरिएको छ ।’

भीमदत्त नगरपालिकामा विद्यार्थी संख्या कम भएका, नजिक–नजिक रहेका र स्रोत–साधन नभएका कारण तत्काल आधा दर्जनजति विद्यालय गाभ्नुपर्ने देखिएको छ । तर व्यवस्थापन समितिहरू गाभिन तयार देखिँदैनन् । ‘तीन/चार विद्यालय त शैक्षिक सत्र सुरु हुनुअगावै गाभ्नुपर्ने देखिन्छ,’ अनुगमन टोलीको संयोजकसमेत रहेका वडा ११ का अध्यक्ष प्रेम जैशीले भने, ‘हामी त्यसको तयारीमा जुटेका छौं, विद्यार्थी नभएका विद्यालय जसरी पनि गाभिन्छन् ।’

महाकाली नगरपालिकाले गत वर्ष एक विद्यालय गाभ्यो । नगरपालिकाको भवन निर्माणका लागि महाकाली आधारभूत विद्यालयलाई नजिकैको भानु माविमा गाभ्यो । उक्त नगरपालिकामा तत्काल २/३ वटा विद्यालय गाभ्नुपर्ने देखिएको छ । शिक्षा ऐन र नियमावली नबन्दा गाभ्न सकिने अवस्था नरहेको शिक्षा शाखाका कर्मचारी उद्धव ठगुन्नाले बताए ।

‘विद्यालय गाभ्दा अभिभावकको सहमति अनिवार्य हुन्छ तर तिनले सहमति दिँदैनन्,’ ठगुन्नाले भने, ‘ऐन–नियमावली बनाएर मात्रै विद्यालय मर्ज र दरबन्दी मिलानलगायतका काम अघि बढाउनुपर्छ ।’ उनले ऐन–नियमावली बनेपछि व्यवस्थापन समितिको सहमतिबिनै गाभ्न सकिने बताए ।

सबै स्थानीय तहमा नगर र गाउँ शिक्षा समिति गठन भइसकेका छन् तर तिनका गतिविधि बैठकमै सीमित छन् । कुनै पनि समितिले अहिलेसम्म विद्यालय गाभ्ने वा दरबन्दी मिलानको निर्णय गर्न सकेका छैनन् । ‘समिति गठन भएको ५/६ महिना मात्रै भयो, अहिले विद्यालयहरूसँग समन्वय र अनुगमनको काम भइरहेको छ,’ बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापाले भने, ‘हामीले विद्यालय गाभ्ने विषयमा तयारी गरिरहेका छौं ।’

बेलडाँडीमा ३ वटा विद्यालय तत्काल गाभ्नुपर्ने अवस्था रहेको अध्यक्ष थापाले बताए । ‘कतै विद्यार्थी छैनन्, कतै शिक्षक छैनन्, बालविकासका सहजकर्ताले पढाइरहेको अवस्था छ,’ उनले भने, ‘त्यस्ता विद्यालय गाभेर शिक्षामा सुधार ल्याउन सक्दो प्रयास गरिनेछ ।’ उनले व्यवस्थापन समितिका पदाधिकारी विद्यालय गाभ्न तयार नभएपछि समितिबाट निर्णय गरेर उनीहरूलाई पनि सहमतिमा ल्याउने गरी काम गरिने बताए ।

बेलौरी नगरपालिकामा पनि ३ वटा विद्यालय गाभ्नुपर्ने शिक्षा शाखाको निष्कर्ष छ । तर त्यस विषयमा कुनै तयारी भएको छैन । शिक्षा शाखाका कर्मचारीले आन्तरिक रूपमा केही तयारी गरे पनि व्यवस्थापन समितिको डरका कारण बोल्न मान्दैनन् ।

कञ्चनपुरमा १ सय ९ मावि र १ सय ५२ आधारभूत विद्यालय छन् । सबै स्थानीय तहमा ठूलो संख्यामा विद्यालय विद्यार्थीविहीन हुन लागेका छन् । भौतिक पूर्वाधार तथा निजी स्रोतको शिक्षक भर्ना र सरुवामा चलखेल गर्न पल्केका व्यवस्थापन समितिका पदाधिकारी विद्यालय गाभ्न तयार नभएका हुन् । उनीहरूले विद्यालय सुधारमा पनि चासो दिएका छैनन् ।

कान्तिपुरमा भावानी भट्टले लेखेका छन् । 

प्रतिक्रिया