Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

यस्ता पनि सामुदायिक विद्यालय : भर्नाको दबाब थेग्न नसकेर ‘मोबाइल अफ’

शुक्रबार, २९ चैत्र २०७५

काठमाडौं २९ चैत / नयाँ शैक्षिक सत्रको सुरुवातसँगै यतिखेर अधिकाँस सामुदायिक विद्यालय विद्यार्थी खोज्दै ‘घरदैलो’ अभियानमा छन् तर विराटनगरको एक सामुदायिक विद्यालयका शिक्षक भने नयाँ विद्यार्थी भर्नाको दबाब थेग्न नसकेर मोबाइल बन्द गरेर बसेका छन् । यहाँको पोखरीया उच्च माविले नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षामा विद्यालयको कोटाभन्दा पाँच गुणा बढीले आवेदन फारम भरेपछि प्रवेश परीक्षा अगावै सबै शिक्षक ‘मोबाइल अफ’ गरेर बसेका हुन् ।

विद्यार्थी भर्नाका लागि उच्च तहका कर्मचारी मात्र होइन, उपल्लो तहका राजनीतिक नेताको समेत दबाब आउन थालेपछि प्रवेश परीक्षाअघि सबै शिक्षक ‘मोबाइल अफ’ गरेर बस्नुपरेको विद्यालयका प्रधानाध्यापक खेम भट्टराईले जानकारी दिनुभयो । ‘प्रवेश परीक्षा सुरु भएदेखि त्यसको नतिजा नआउञ्जेल हामी सबै शिक्षकको मोबाइल अफ हुन्छ,’ प्रधानाध्यापक भट्टराईले भन्नुभयो । 

उपल्लो तहको दबाब कम गर्न विद्यालयले प्रवेश परीक्षाको प्रवेश पत्र समेत परीक्षा सुरु हुनुभन्दा एक घण्टा अगाडि मात्र वितरण गरेको थियो । विद्यालयले कुल ४०३ जना नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षामा दुई हजार ७७ विद्यार्थीले फारम भरेका थिए । भर्नाका लागि फारम भरेकामध्ये कक्षा ६ देखि ९ सम्मको प्रवेश परीक्षा बुधबार सम्पन्न भएको छ भने कक्षा ३ देखि ५ सम्मको र प्राविधिक धारतर्फको प्रवेश परीक्षा बिहीबार सकिएको छ ।

नेपाली माध्यममा पठनपाठन हुँदै आएको त्यस विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून हुँदै आएपछि शैक्षिक गुणस्तर सुधार गर्ने भन्दै २०७० सालबाट अङ्ग्रेजी माध्यमबाट पनि पठनपाठन सुरु गरिएको हो । अङ्ग्रेजी माध्यमको पठनपाठानसँगै विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएको विद्यालयका शिक्षक महेश गौतम बताउनुहुन्छ । 

सुरुमा कक्षा ६ र ७ मा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको त्यस विद्यालयले अहिले कक्षा १ देखि १० सम्म नै अङ्ग्रेजी माध्यममा पठनपाठन गर्दछ । “पठनपाठन अङ्गे्रजी माध्यम र एसईईको नतिजा पनि राम्रो भएपछि निजी विद्यालय छाडेर आउने विद्यार्थीको चाप थेगिनसक्नु भएको छ,” शिक्षक गौतमले भन्नुभयो । 

विद्यालयले कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङको अतिरिक्त कक्षा ११ र १२ मा व्यवस्थापन र शिक्षा विषयको कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्ष ११ र १२ मा विज्ञान विषयको पनि पठनपाठन सञ्चालन गर्ने तयारी भइरहेको विद्यालयले जनाएको छ । हाल एक हजार ७९५ जना विद्यार्थी अध्ययनरत त्यस विद्यालयमा यस वर्ष ३१२ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । 

पोखरीयासँगै विरानटनगर महानगरपालिकाभित्रका आदर्श, सत्य नारायण, गोग्राह, जनपथ, सरस्वती, राधाकृष्ण भूपालमान सिंह उच्च मावि लगायत आधारभूत तह र प्रावि तहका झण्डै तीन दर्जन विद्यालयले अङ्गे्रजी माध्यममा पठनपाठन सुरु गरेका छन् ।

विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख रुद्र दुलालका अनुसार अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन भएका अधिकांश विद्यालयमा विद्यार्थीको चाप पनि बढ्दै गएको छ । 

विराटनगरस्थित आदर्श र सत्यनारायण उच्च माविले पनि केही दिनअघि नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिइसकेका छन् । आदर्श उच्च माविको प्रवेश परीक्षामा ३२६ जना विद्यार्थी भर्नाका लागि एक हजार ८५ जना सहभागी भएका थिए । हाल उक्त विद्यालयमा प्राविधिक, कक्षा ११ र १२ समेत गरेर दुई हजार २०० विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक तुलसी दुलालले जानकारी दिनुभयो । आदर्श उच्च माविले कक्षा ११ र १२ तर्फ विज्ञान, शिक्षा र व्यवस्थापन विषयको पठनपाठन गराउँदै आएको छ । यस वर्ष उक्त विद्यालयबाट २०२ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । 

यहाँका कतिपय सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गरेपछि साना लगानीका निजी विद्यालय भने सङ्कटमा पर्दैै जाने निजी विद्यालयका सञ्चालनक बताउँछन् ।

गोरखापत्रमा महेन्द्र विष्टले लेखेका छन् । 

प्रतिक्रिया