Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

शिक्षाको बजेट रकमान्तर गर्दै मेयर छोरालाई मन्त्रीको २४ करोड

बुधबार, ०४ बैशाख २०७६

काठमाडौं ४ बैशाख / शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड रुपैयाँ फुटकर योजनामा विनियोजन गरेका छन् । आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापन समस्या देखाउँदै मन्त्रालयले शिक्षा र स्वास्थ्यमा खर्च गर्न विनियोजन गरिएको ७० करोड रुपैयाँ फुटकर योजनामा रकमान्तर गरेको हो । सप्तरीको हनुमाननगर नगरपालिकामा मात्रै २४ करोड रुपैयाँ फुटकर विनियोजन गरिएको छ ।

हनुमाननगर नगरपालिकाका मेयर शैलेशकुमार साह मन्त्री नवलकिशोरका जेठो छोरा हुन्। राष्ट्रिय जनता पार्टी -राजपा) बाट बाबुछोराले चुनाव जितेका हुन्। छोरा मेयर रहेको हनुमाननगर नगरपालिका मन्त्री साहको संसदीय क्षेत्र पनि हो।

जनकपुरमा कानुन महाविद्यालयको सम्भाव्यता अध्ययनका लागि मन्त्रालयले विनियोजन गरेको ५ लाख रुपैयाँमा ५ लाख थप गरेर १० लाख रुपैयाँ हनुमाननगरस्थित महासेठ पोखरीघाट निर्माण गर्न दिइएको छ। शिक्षा आवासीय विद्यालयका लागि सम्भाव्यता अध्ययनको ५ लाख रुपैयाँमा ७० लाख रुपैयाँ थपेर ७५ लाख रुपैयाँ हनुमाननगरको योगिनियामा भगवती मन्दिरको पर्खाल र धर्मशाला बनाउन विनियोजन गरिएको छ। बालअधिकारसम्बन्धी कार्यक्रमको अनुगमन र निरीक्षणमा विनियोजन गरिएको ४ लाख ८० हजारमा थपेर २ करोड २५ लाख २२ हजार रुपैयाँ योगिनियामा सामुदायिक भवन बनाउन दिइएको छ।

प्रदेशसभाको मंगलबार बसेको बैठकमा विपक्षी दल नेकपा र कांग्रेसले प्रदेश सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै बैठकमा अवरोध गरे। कांग्रेसका सचेतक उपेन्द्र कुशवाहाले सामाजिक विकासमन्त्रीले छोरा मेयर रहेको नगरपालिकामा २४ करोड रुपैयाँ रकमान्तरण गरेको भन्दै सरकारको जवाफ मागेका थिए। मन्त्रालयले माघ ७ गते कार्यक्रम परिमार्जनलाई स्वीकृत गर्दै शिक्षा र स्वास्थ्यको बजेट फुटकर योजनामा दिएको हो। कलाजार क्षेत्रमा विषादी छर्कने मेसिन खरिदको ७ लाख ५० हजार रुपैयाँ बाराको जनता मावि कचौरवाको कक्षाकोठा बनाउन रकमान्तर गरिएको छ।

मन्त्री साहले आफ्नो संसदीय क्षेत्र रहेकाले बजेट बढी गएको हुन सक्ने बताए। 'विपक्षी दलले बिनाप्रमाण आरोप लगाएको छ,' उनले भने, 'उहाँहरूले भनेजति त होइन, तर अलि बढी गएको होला।'

उनले आफ्नो संसदीय क्षेत्र र छोराको नगरपालिकामा मात्रै बजेट खन्याएको भन्दै राजपा बैठकमा सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले विरोध जनाएका थिए। हालै बसेको बैठकमा राज्यमन्त्री शर्माले मन्त्रीले आफूखुसी बजेट परिचालन र रकमान्तर गरेको भन्दै असन्तुष्टि जनाएका थिए। मन्त्री साहले भने कर्मचारी अभाव र व्यवस्थापन नहुँदा शिक्षा र स्वास्थ्यको पि|mज हुने बजेट रकमान्तर गरिएको तर्क गरे। 'क्षयरोगका लागि संघीय सरकारले दिएको बजेट खर्च हुन सकेको छैन,' उनले भने, 'जथाभावी बजेट खर्च गरिएको छैन, प्रमाण भए कारबाही भोग्न तयार छु।'

स्वास्थ्य अनुसन्धान र सर्वेक्षणको २ करोड ४० लाख चालु खर्चलाई सामाजिक विकास मन्त्रालयले रामजानकी मन्दिर ठाकुरवारी गिदखोराको जीर्णोद्धारमा रकमान्तर गरेको छ। अपांगता भएका व्यक्तिलाई दोभाषेसहितको सेवा सञ्चालनका लागि विनियोजन गरिएको ३ लाख ६० हजार रुपैयाँमा थपेर २ करोड ६४ लाख रुपैयाँ सप्तरीको कुनौली बोर्डरमा गजेन्द्रनारायण सिंह स्मारक बनाउन दिइएको छ। मैथिली खानाको प्रवर्द्धनका लागि विनियोजन गरिएको ५ लाख रुपैयाँमा थपेर १० लाख सिरहाको कल्याणपुरमा विद्यालयको भवन निर्माणमा छुट्याइएको छ।

मन्त्रालयले २ सय ७४ वटा शीर्षकमा विनियोजन गरिएको बजेटलाई रकमान्तर गरेर नेता-कार्यकर्ता र आफन्त रिझाउने फुटकर योजनामा खन्याएको हो। साहले मन्त्रीस्तरीय निर्णय गर्दै बजेटको नतिजामूलक कार्यान्वयनका लागि रकमान्तर गरिएको उल्लेख गरेका छन्। कांग्रेसका सचेतक कुशवाहाले मन्त्री साहको संसदीय क्षेत्र र छोराको नगरपालिकामा व्यक्तिको नाम र मोबाइल नम्बर किटेर रकमान्तर बजेट खर्च गर्न दिइएको आरोप लगाए।

रकमान्तर गर्दै मेयर छोरालाई मन्त्रीको २४ करोड शिर्षकमा कान्तिपुरमा अजित तिवारीले लेखेका छन् । 

प्रतिक्रिया