Edukhabar
विहीबार, २७ बैशाख २०८१
अन्तैवाट

पोखरा विश्वविद्यालय : 'डी प्लस’ को रजिस्ट्रेसन रोकिने

आइतबार, ०८ बैशाख २०७६

काठमाडौं ८ बैशाख /  पोखरा विश्वविद्यालयले ‘डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीको रजिस्ट्रेसन नलिने भएको छ । विश्वविद्यालयको प्राज्ञिक परिषद् र कार्यकारी परिषद्ले शनिबार व्यवस्थापन संकायको स्नातक तहमा भर्ना हुन योग्यता नपुगेका विद्यार्थीको रजिस्ट्रेसन रोक्ने निर्णय लिएका हुन् । 

विश्वविद्यालयले शनिबार नै विज्ञप्ति प्रकाशित गरी कक्षा ११ र १२ मा एक वा एकभन्दा बढी विषयमा न्यूनतम ‘सी’ ग्रेड× प्राप्त नगरेका विद्यार्थीलाई चालु शैक्षिक सत्रमा रजिस्ट्रेसन नगर्ने जनाएको छ । विश्वविद्यालयले उक्त निर्णय कार्यान्वयन गर्न परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन जारी गरेको छ ।

विश्वविद्यालयले ‘डी प्लस’ ग्रेड प्राप्त गरेका विद्यार्थी भर्ना लिएका सम्बन्धनप्राप्त कलेजलाई सचेत गराएको छ । ‘विश्वविद्यालय प्राज्ञिक परिषद्को निर्णय अवज्ञा गरेका कारण विश्वविद्यालयको शैक्षिक वातावरण र साख धमिल्याउने काम हुन गएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘विश्वविद्यालयको नीति, नियमको पुनः उल्लंघन गरेमा नियमअनुसार ती कलेजको सम्बन्धन समेत खारेज हुन सक्नेछ ।’ चारवटै संकायअन्तर्गत स्नातक तहका सम्पूर्ण विषयको रोकिएको परीक्षा सञ्चालनका लागि सहज वातावरण बनाउन विश्वविद्यालयले आह्वान गरेको छ ।

परीक्षा सञ्चालन गर्न चौतर्फी दबाब परेपछि शुक्रबार विश्वविद्यालयले सरोकारवालाको बैठक डाकेको थियो । वैठकमा उपकुलपति चिरञ्जीवी शर्मा, रजिस्ट्रार गोविन्द शर्मा, प्राज्ञिकपरिषद्का सदस्य, स्ववियु, प्राध्यापक संघ, कर्मचारी संघ, प्रगतिशील प्राध्यापक संगठन, प्रजातन्त्रवादी प्राध्यापक संघका प्रतिनिधि सहभागी थिए । बैठकमा सहभागी अधिकांशले ‘डी प्लस’ खारेज गर्न, भर्ना लिने सम्बन्धनप्राप्त कलेजलाई कारबाही गर्न र तुरुन्त परीक्षा सञ्चालन गर्न आह्वान गरेको स्ववियु सचिव सुरज परियारले बताए । विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ४२ मध्ये ३८ कलेजमा ३ सय ४४ विद्यार्थी मापदण्डविपरीत भर्ना गरिएका छन्।

‘डी प्लस’ लाई पास गर्नुपर्ने पक्ष र खारेज गर्नुपर्ने पक्षका विद्यार्थीको आन्दोलनले तीनपल्ट परीक्षा मिति हेरफेर भइसकेको छ । पहिलोपल्ट फागुन ३० देखि तोकिएको परीक्षा चैत १५ र वैशाख ६ मा सरेको थियो । विश्वविद्यालयले वैशाख ५ मा सूचना प्रकाशन गरी परीक्षा स्थगित गरेको छ।

‘अहिलेसम्म अनिर्णयको अवस्था थियो, त्यो तोडियो,’ परीक्षा नियन्त्रक भरतराम ढुंगानाले भने, ‘अब कुनै पनि हालतमा नसार्ने हिसाबले दुई–तीन दिनभित्रै परीक्षाको मिति तोक्छौं ।’ पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरूको संघ (ओपेन) का अध्यक्ष आरसी आचार्य विश्वविद्यालयले निर्णय लिन ढिलाइ गरेको बताउँछन् । ‘कुर्सीमा बसेको मान्छेले हुँदैहुँदैन भन्नुपर्थ्यो, दोधारे कुरा गरिदिँदा बिग्रिएको हो,’ उनी भन्छन्, ‘जे हो त्यो समयमै भन्दिएको भए विद्यार्थीलाई अन्यत्र पठाउन सकिन्थ्यो ।’ त्रिभुवन विश्वविद्यालयमा स्थानान्तरण गर्ने समय पनि सकिएको भन्दै उनले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने काम भएको आरोप लगाए ।

‘डी प्लस’ विद्यार्थीको रजिस्ट्रेसन गर्नेमा उपकुलपति, रजिस्ट्रार, सम्बन्धित डिनले मौखिक आश्वासन दिएको उनको दाबी छ । ‘लिखित नगर्नु कलेजको कमजोरी भयो,’ उनी भन्छन्, ‘यस्तो निर्णयले विद्यार्थीको भविष्य डामाडोल हुन्छ, सम्बन्धित कलेज ध्वस्त हुन्छन् । विद्यार्थी विदेश पलायन हुने क्रम बढ्छ ।’

कान्तिपुरमा प्रकाशित 

प्रतिक्रिया