Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

सार्वजनिक विद्यालय सुधार्न सम्मेलन, मार्ग चित्र तयार गरिने

आइतबार, ०८ बैशाख २०७६

काठमाडौं - राम्रो गरेका विद्यालयका प्रधानाध्यापकहरुको सहभागितामा शिक्षा मन्त्रालयले सार्वजनिक विद्यालय सुधारका लागि राष्ट्रिय सम्मेलन गर्ने भएको छ । सम्मेलनमा सहभागी हुने विद्यालयका प्रधानाध्यापकले शिक्षा तथा मानव श्रोत विकास केन्द्रले तोकेर पठाएका छुट्टा छुट्टै विषय केन्द्रित प्रस्तुती गर्नु पर्ने छ । 

भक्तपुरको बोडे स्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आउँदो बुधबार र बिहीबार हुने उक्त सम्मेलनमा सहभागीताका लागि केन्द्रले सातै प्रदेशबाट २३ विद्यालय छनौट गरेको जनाएको छ । आफ्नै प्रयासले राम्रो गरेका विद्यालयको अनुभव आदान प्रदान गरी विद्यालय सुधारको मार्ग चित्र तयार गर्न सम्मेलन गर्न लागिएको केन्द्रका निर्देशक तथा प्रवक्ता दीपक शर्माले जानकारी दिए ।  

'देशभरीका सबै भूगोल र राम्रा अभ्यासको विषयगत रुपमा प्रतिनिधित्व हुने गरी हामीले विद्यालयको छनौट गरेका छौं' शर्माले भने, 'उनीहरुले गरेको अभ्यासबाट अरु सार्वजनिक विद्यालय कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा पहिल्याउनु नै सम्मेलनको मुख्य उद्धेश्य हो ।'  

छनौट भएका विद्यालयलाई उनीहरुले गरेको राम्रा कामहरुको आधारमा प्रस्तुतीको विषय तोकिएको छ । सम्मेलनमा सहभागी हुने विद्यालयले आफूलाई तोकिएको विषयमा प्रस्तुतीकरण गर्नु पर्ने छ । 

छिमेकी विद्यालयहरुको शैक्षिक विकासमा सघाएको भन्दै मोरङ्को साझिलाल मावि, पुस्तकालय व्यवस्थापनमा सोलुको खुम्जुङ् मावि, धेरै विद्यार्थी र शिक्षक व्यवस्थापनमा धनुषाको संकट मोचन मावि, स्थानीय श्रोत परिचालनमा महोत्तरीको जनता मावि र प्रत्येक कक्षा कोठाको छुट्टा छुट्टै भवन भएको भन्दै मकवानपुरको लेकाली बसीफाँट मावि र कास्किको सीतलादेवी माविका प्रधानाध्यापकहरु सम्मेलनमा सहभागी हुने छन् । 

यस्तै प्राविधिक धार सञ्चालन गरी उत्कृष्ट कार्य गरेको भन्दै मुस्ताङ्को जनआदर्श अमरसिंह मावि र चौरीपालन तथा होटल सञ्चालनको आम्दानीले विद्यालय सञ्चालन गरेको भन्दै म्याग्दीको पाउँदवार मावि  सम्मेलनमा सहभागी हुने छन् । यस्तै सबै शिक्षकका बालबालिका अध्ययन गर्ने भन्दै तनहुँको सत्यवती मावि, विद्यार्थी भिन्न धार व्यवस्थापन गरेको भन्दै कालिका मावि रुपन्देही, साझेदारीको नमूनाका रुपमा बालकल्याण मावि रोल्पा सम्मेलनमा सहभागी हुने छन् । हरित विद्यालयका रुपमा जगदम्बा मावि बर्दीया, सर्वतोमुखि विकासका रुपमा जनज्योती मावि सुर्खेत, आईटिको क्षेत्रमा विशेष पहल गरेको भन्दै सल्यानको नेपाल राष्ट्रिय माविलाई सम्मेलनमा सहभागी गराईदैं छ । स्थानीय तहसँग सहकार्य गरेको नमूनाका रुपमा दैलेखको चामुण्डा मावि, आवासीय विद्यालय सञ्चालन गरेको भगवती मावि डोटी, दरबन्दी न्यून भए पनि शिक्षण सिकाइमा उत्कृष्ट भएको भन्दै अछामको दुर्गा माविलाई सम्मेलनमा सहभागी गराईने केन्द्रले जनाएको छ । यसैगरी फरक प्रकृतीको समुहबाट खोटाङ्को जनजागृती आधारभूत विद्यालय र विशेष विद्यालयका रुपमा सुनसरीको पूर्वाञ्चल ज्ञानचक्षु मावि र काठमाडौंको खगेन्द्र नवजीवन मावि सम्मेलनमा सहभागी हुने छन् । यस्तै गुरुकुल अन्र्तगत महेश संस्कृत विद्यालय तनहुँ, मदरसा अन्र्तगत मद्रसा बरकटिया मावि बाँके र गुम्बा अन्र्तगत काठमाडौं फर्पिङ्को पल्युल उर्गेन दोर्जे छोलिङ् गुम्बा सम्मेलनमा सहभागी हुने केन्द्रले जनाएको छ ।   

सम्मेलनमा विद्यालयका अलावा स्थानीय सरकारको प्रतिनिधित्व पनि हुने छ । यसैगरी सम्मेलनमा विद्यालय व्यवस्थापन समिति, शिक्षाका क्षेत्रमा कृयाशिल गैह्र सरकारी संस्था, शिक्षक अभिभावकका पेशागत संस्था, विद्यार्थी संगठन र  पत्रकारहरु गरी २ सय जना जतिको सहभागिता हुने शर्माले जानकारी दिए । 

यस अघि गत चैत १२ गते पत्रकारहरु सँगको छलफलमा केन्द्रका महानिर्देशक बाबुराम पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि ककसको के के भुमिका हुने हो भन्ने कुरा पीन प्वाईण्ट गर्न आवश्यक रहेकाले सम्मेलन गर्न लागिएको बताएका थिए । त्यतिखेर चैतको अन्तिम साता सम्मेलन गर्ने तयारी भएको बताईएको थियो । तर, सम्मेलन अघि शिक्षा नीति तयार गर्न नभ्याए पछि सम्मेलनको मिति धकेलिएको हो । सरकारले औपचारिक रुपमा सार्वजनिक नगरेको उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनको सारांशका रुपमा तयार पारिएको नीति सम्मेलन अघि नै मन्त्रीपरिषद्बाट पारित गर्ने शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको तयारी छ । 

गत माघमा प्रधानमन्त्री केपी ओलीलाई बुझाएको आयोगकै प्रतिवेदनको आधारमा शिक्षा ऐन निर्माण हुने अपेक्षा गरिए पनि उक्त ऐन निर्माण विनै संसदको विधेयक अधिवेशन सकिएको थियो । सोही अपजस मेट्न शिक्षा मन्त्रालयले सम्मेलन गर्न लागेको भन्दै आलोचना भएको छ । 

पढ्नुहोस् : 'अपजस' मेट्न शिक्षा सम्मेलन !

प्रतिक्रिया