Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

विश्वविद्यालय छोडेर साना नानीबाबु पढाउँदै डा. देवकोटा

शुक्रबार, ०३ जेठ २०७६

काठमाडौं ३ जेठ / पढे लेखेर ठूलो व्यक्ति बनेपछि धेरै मानिस सहरतिरै हराउँछन् । कतिपय युरोप र अमेरिका पुग्छन् । तर हाम्रो समाजमा केही यस्ता उदाहरणीय पात्र पनि छन्, जो गाउँ फर्केर कर्ममा जुटिरहेका छन् ।

यस्तै उदाहरणीय व्यक्ति हुनुहुन्छ राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा.लक्ष्मी देवकोटा । अहिले उहाँको अधिकांश समय गाउँमा बित्न थालेको छ । उहाँ आफैँले कखरा पढेको विद्यालयका केटाकेटीलाई पढाउनुहुन्छ ।

देवकोटाले यसअघि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान (नास्ट) को प्राज्ञको जिम्मेवारी सम्हाल्नुभएको थियो भने लामो समय पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापन गर्नुभएको थियो ।
आफैले प्रारम्भिक शिक्षा लिएको स्कूल बन्द हुने अवस्थामा पुग्न लागेपछि उहाँ त्यसलाई जीबन्त बनाउन गाउँ फर्कनु भएको हो । “जुन स्कुलले मलाई यत्तिको व्यक्ति बनायो अहिले त्यसको अवस्था नाजुक बन्न पुग्यो, डा. देवकोटाले भन्नुभयो “मेरोे सानो योगदानले विद्यालय राम्रो बन्छ भने किन नगर्ने ? भन्ने दिमागमा आयो अनि काठमाडौँका सबै कामधन्दा छोडर गाउँ फर्किएँ ।”

पालुङ्टार नगरपालिका–३ राउतेपानीको सगरमाथा प्राथमिक विद्यालयमा स्वयम्सेवी शिक्षकको रुपमा डा. देवकोटाले दैनिक सात ‘पिरियड’ पढाउनुहुन्छ । अनिवार्य विज्ञान र सामाजिक उहाँले पढाउने विषय हुन् । गत शैक्षिक सत्रमा नौ जना विद्यार्थी रहेको उक्त विद्यालयमा अहिले ७२ जना विद्यार्थी छन् । devkota

“गाउँको स्कुल बन्द हुन लाग्यो भनेर सबै जना चिन्तित थियौँ, पूर्वविद्यार्थी साथीहरूसँग छलफल भइरहेको थियो’ डा. देवकोटाले भन्नुभयो “साथीहरूले मलाई विद्यालयमा समय दिन आग्रह गर्नुभयो, मैले समय दिँदा विद्यालय बन्छ भने ठिकै छ भन्ने लाग्यो अनि यहाँ आउने निधो गरेँ ।’

त्यसपछि गाउँ आएर उहाँले घरदैलो अभियान थाल्नुभयो, सगरमाथा प्राथमिक विद्यालयमा आफ्ना छोराछोरी पठाउन अभिभावकसँग अनुरोध गर्नुभयो । उहाँकै प्रयासमा एकाएक विद्यालयमा विद्यार्थी भरिभराउ भए ।

‘देशका अरु भागमा जस्तै हाम्रो यहाँ पनि बोर्डिङ स्कुलको प्रभाव बढिरहेको छ, ऋण गरेर भए पनि धेरैले बोर्डिङ पठाएका रहेछन्’ उहाँले भन्नुभयो, ‘जब हामी सबै अभिभावकको घरमा गएर उहाँहरुलाई कन्भिन्स गरायौँ, अनि सबैले छोराछोरी पठाउन थाल्नु भयो ।’

विभिन्न सङ्घसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका डा. देवकोटा नेपालका एक राम्रा योजनाकारको रुपमा चिनिनुहुन्छ । राष्ट्रिय गौरबको बुढीगण्डकी जलविद्युत् आयोजना विकास समिति र नेपाल खानेपानी संस्थानका पूर्वअध्यक्ष समेत भइसक्नुभएका देवकोटाले डा. बाबुराम भट्टराई अर्थ र प्रधानमन्त्री हुँदा देशको बजेट निर्माण समितिमा काम गर्नुभयो । ‘मैले धेरै ठाउँमा काम गरेँ तर अहिले जस्तो सन्तोष र आनन्द कहीँ मिलेको थिएन’ उहाँले भन्नुभयो ‘जिन्दगीमा सिकेका ज्ञान सिप र अनुभव देशका कर्णधार साना भाइबहिनीसँग बाँड्न पाउनु अद्भूत संयोग हो ।’ अहिलेका बालबालिकाको धारणा एवं अनुभव आफ्ना लागि महत्वपूर्ण सिकाइ भएको उहाँले बताउनुभयो ।

विद्यार्थी सङ्ख्या कम भएपछि अर्को विद्यालयमा गाभिने तयारीमा रहेको सगरमाथा प्रावि अहिले अङ्ग्रेजी माध्यममा सञ्चालन भएको छ । हाल नगरपालिका र पूर्वविद्यार्थीहरुको सहयोगमा विद्यालयको पूर्वाधार विकासको काम पनि सुरु भएको छ । ‘स्कुल झन्डै बन्द हुने अवस्थामा पुगेको थियो’ विद्यालयका प्रधानाध्यापक नारायण देवकोटाले भन्नुभयो, ‘सबैको पहलमा स्कुलले अहिले नयाँ जीवन पाएको छ ।’

देशकै नमूना विद्यालय बनाउने अठोटका साथ पूर्वविद्यार्थीले विभिन्न ठाउँमा सहयोग अभियान समेत सुरु गरेका छन् । अहिले उक्त गाउँका एउटा पनि विद्यार्थी निजी विद्यालयमा पढ्दैनन् ।
‘हाम्रा सन्ततिले आधारभूत तहको गुणस्तरीय शिक्षाका लागि अन्यन्त्र जानु नपरोस् भन्ने हाम्रो चाहना हो’ अभिभावक एवं पूर्वविद्यार्थी विष्णुहरि देवकोटाले भन्नुभयो ‘सोहीअनुरुप स्कुललाई कसरी राम्रो बनाउन सकिन्छ भनेर लागिपरेका छौँ ।’

उक्त विद्यालयका पूर्वविद्यार्थीले आर्थिक सहयोग गरी तीनजना शिक्षक निजीस्रोतमा राखिदिएका छन् । अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरिएको छ । सोका लागि आवश्यक किताव, कापी, विद्यालय पोशाक एवं अन्य शैक्षिक सामग्री सबै निःशुल्क उपलब्ध गराइएको छ । विद्यालयले लिएको गतिले अभिभावकमा आशाको सञ्चार गराएको छ । ‘अब हाम्रा छोराछोरीले गाउँमै राम्रोसँग पढ्न पाउने भए’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम गुरुङले भन्नुभयो ‘हामी सबै खुसी छौँ ।’

गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया