Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

अब्बल बन्दै सामुदायिक विद्यालय

शनिबार, ०४ जेठ २०७६

काठमाडौं ४ जेठ / केही वर्षअघिसम्म आर्थिक अवस्था कमजोर भएका अभिभावकले पनि ऋण काढेर छोराछोरीलाई निजी विद्यालयमा पढाउँथे। कमजोर व्यवस्थापन, गुणस्तरीय शिक्षाको अभाव र परीक्षामा खराब नतिजाका कारण अभिभावक र विद्यार्थीको सामुदायिक विद्यालयप्रति आकर्षण कम थियो।

आफैंले पढाउने सामुदायिक विद्यालयले दिने शिक्षाप्रति विश्वास नभएर शिक्षकले पनि निजी विद्यालयमा छोराछोरी पढाउँथे। तर केही वर्षयता सुदूरपश्चिम प्रदेशका केही सामुदायिक विद्यालयले गरेको गुणात्मक सुधारले पुरानो परिदृष्य बदलिएको छ। सामुदायिक विद्यालयले शिक्षामा गरेको सुधारका कारण विद्यार्थी र अभिभावक दुवैको आकर्षण बढेको छ।

अस्थायी राजधानी धनगढीमा रहेको पन्चोदय उच्च माविले चालु शैक्षिक सत्रका लागि निजी विद्यालय छाडेर भर्ना हुन आएका सबै विद्यार्थीलाई भर्ना गर्न सकेन। ‘चालु शैक्षिक वर्षमा कक्षा १ देखि कक्षा ९ सम्म भर्ना हुन यति धेरै विद्यार्थी आए कि हामीले सबलाई स्थान दिन सकेनौं। प्रवेश परीक्षा लिएरमात्र भर्ना गर्नुप¥यो,’ पन्चोदय उच्च माविका प्राचार्य हरिश ओझाले भने।

पन्चोदयमा गत वर्षदेखि नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन गर्न थालिएको छ। विद्यार्थीको भर्ना चाप धेरै भएकाले कक्षा ९ मा नेपालीमा ३ र अंग्रेजीमा ३ गरेर ६ सेक्सन सञ्चालन गरिएको छ भने अन्य कक्षामा पनि अंग्रेजीमा २ र नेपालीमा २ गरेर ४ सेक्सन चलाउनुपरेको उनले बताए।

पन्चोदय उच्च माविमा राम्रो पठनपाठन हुन थालेपछि अभिभावकले निजी विद्यालयवाट छोराछोरी छुटाएर भर्ना गरेका छन। ‘मैले मेरा छोराछोरी दुवैलाई निजी विद्यालयबाट निकालेर पन्चोदयमा भर्ना गरेको छु।’ धनगढी–४ कि साधना सिंहले भनिन्। उनले एलजी एकेडेमीमा पढ्ने छोरी अनिषा र अक्सफोर्ड बोर्डिङमा पढ्ने छोरा अनिशलाई छुटाएर पन्चोदयमा भर्ना गरेको बताइन्। ‘निजी विद्यालयमा भन्दा राम्रो पढाइ हुन्छ भन्ने सुनेर पन्चोदयमा ल्याएर भर्ना गरेकी हुँ’, उनले भनिन्, ‘कम खर्चमा राम्रो पठनपाठन हुने भएकाले हाम्रो टोलका धेरैले यही स्कुलमा भर्ना गरेका छन्।’

निजी स्कुलमा पढिरहेका धनगढी– ४ का शरद चौधरीलाई पनि उनका अभिभावकले पन्चोदयमा भर्ना गर्न खोजेका थिए। तर उनले भर्ना पाउन सकेनन्। ‘पन्चोदयमा भर्ना हुन प्रवेश परीक्षा दिएँ तर नाम निस्केन’, चौधरीले भने।

यसैगरी बझाङको सबैभन्दा पुरानो सरकारी स्कुल सत्यवादी माविले पनि पठनपाठनमा सुधार ल्याएको छ। सो विद्यालयले सामुदायिकले पनि उत्कृष्ट र गुणस्तरीय शिक्षा दिन सक्छन् भन्ने पुष्टि गरेको छ। नेपाली र अंग्रजी दुबै माध्यमबाट सो विद्यालयमा पठनपाठन हुने गरेको छ। विद्यालयमा भर्ना हुने विद्यार्थीको चाप बढेपछि यस वर्ष पनि प्रवेश परीक्षाबाट छनोट गरियो। आवेदन भरेका सबैले भर्ना पाएनन्।

सो विद्यालयमा पठनपाठन राम्रो भएको र नतिजा पनि राम्रो आउन थालेकाले विद्यार्थीको आकर्षण बढेको अभिभावक बताउँछन्। ‘पठनपाठनमा विद्यार्थीको मन जितेकाले यो विद्यालय विद्यार्थीको आर्कणको केन्द्र बन्न सफल भएको हो’, अभिभावक रमेशबहादुर बिष्टले भने, ‘मैले ३ छोरी र १ छोरालाई निजी विद्यालयबाट निकालेर यो विद्यालयमा भर्ना गरें। पैसा पनि धेरै खर्च नहुने र पढाइ पनि निजीमा भन्दा राम्रो भएपछि यो विद्यालयप्रति सबैको आकर्षण बढेको हो।’

सदरमुकाम चैनपुरका निजी विद्यालयबाट छोराछोरीलाई निकालेर सत्यवादी माविमा भर्ना गर्न चाहे पनि नपाएको गुनासो केही अभिभावकको छ। विद्यालयमा विद्यार्थीको चाप बढेपछि सेक्सन बनाएर पढाउनुपरेको छ। पाँचदेखि माथिका सबै कक्षामा ३ देखि ४ वटा सेक्सन सञ्चालनमा रहेको प्रधानाध्यापक रामदत्त उपाध्यायले बताए।

विद्यार्थी संख्याको अनुपातमा विद्यालयमा शिक्षक संख्या निकै कम छ। ‘१ हजार ७ सय १८ विद्यार्थी गत साल भर्ना भएका थिए। यो वर्ष झन् चाप परेको छ। भर्ना भइरहेकाले यकिन संख्या निकाल्न बाँकी रहेको उनले बताए। अभिभावकले आफ्ना छोराछोरीलाईलाई भर्ना गर्न विद्यालयलाई दबाब दिने गरेका छन्। शिक्षक संख्या जम्मा १८ छ। विद्यालयले निजी स्रोतमा मावि तहमा ४ जना शिक्षक राखेको छ। बझाङका तत्कालीन राजा जयपृथ्बीबहादुर सिंहले १९६३ सालमा स्थापना गरेको यो विद्यालय सदरमुकाम चैनपुरसँगै जोडिएको भोपुरमा छ।

त्यस्तै दार्चुलाको सदरमुकाम खलंगास्थित महेन्द्र नमुना मावि पनि पठनपाठनमा निजी विद्यालयलाई पछाढि पार्दै सबैको मन जित्न सफल भएको छ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुने सो विद्यालय लगातार तीन वर्ष उतकृष्ट नतिजा हात पार्न सफल भएको छ। पठनपाठन र नजिता राम्रो दुवै राम्रो भएकाले अभिभावक र विद्यार्थीको आकर्षण बढेको प्रधानाध्यापक रामदत्त जोशीले बताए। अंग्रेजी माध्यममा पनि पठनपाठन हुन थालेपछि गुणस्तर चुलिएको अभिभावक बताउँछन। यसै कारण विद्यार्थीको आकर्षण बढेको तर सबैले भर्ना पाउन नसकेको प्रअ जोशीले बताए।

निजी विद्यालय सामुदायिकमा समायोजन

यसैगरी डडेल्धुरामा पनि सामुदायिक विद्यालयमा पठनपाठन राम्रो हुन थालेपछि निजी विद्यालय समस्यामा पर्न थालेका छन्। विद्यार्थी अपुग भएपछि निजी विद्यालय सामुदायिकमा समायोजन हुन थालेका छन्। गन्यापधुरा गाउँपालिकामा रहेको मर्निङवेल बोर्डिङ स्कुल जिमरोडा लाटागन्याप प्राविमा मर्ज भएको हो। त्यस्तै लाटागन्याप प्राविमा सरस्वती प्रावि पनि मर्ज भएको छ। लाटागन्याप प्राथमिक विद्यालय मालिगाउँमा कक्षा पाँचसम्म पढाइ हुन्छ। गत शैक्षिक सत्रमा जम्मा ४८ विद्यार्थी अध्ययनरत थिए। सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिन थालेपछि समायोजन हुनुपरेको मर्निङवेल बोर्डिङ स्कुलका प्रिन्सिपल शेरबहादुर ऐरले बताए।

‘संस्थागत विद्यालयमा जसरी सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा दिन थालेका छन्। सामुदायिक विद्यालयलाई पनि उत्कृष्ट र गुणस्तरीय बनाउनुपर्छ भन्ने मान्यता राखेर हामी सबै मिलेका हौं,’ उनले भने। सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिन थालिएपछि निजी विद्यालय विद्यार्थी नपाएर बन्द हुने अवस्थामा पुग्न थालेपछि समायोजन गर्नुपरेको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले बताए।

नागरिकबाट : बझाङबाट जगत खड्का, दार्चुलाबाट प्रेम चुनारा र डडेल्धुराबाट पुष्कर भण्डारीको सहयोगमा)

प्रतिक्रिया