Edukhabar
बुधबार, १२ बैशाख २०८१
अन्तैवाट

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण : एउटै कक्षामा नौ सेक्सन

शुक्रबार, १० जेठ २०७६

काठमाडौं १० जेठ / नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरि विद्यार्थी भर्ना अभियान चलिरहेको छ । कतिपय सरकारी विद्यालय विद्यार्थी कम भएर बन्द हुने अवस्थामा पुगेको वेला तनहुँको दमौलीस्थित सत्यवती माविमा भने विद्यार्थीको चाप थेगिनसक्नु छ । विद्यार्थी धेरै भएपछि प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गर्ने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारीले बताए ।

‘विद्यालयले थेग्नै नसक्ने गरी विद्यार्थी आएपछि भर्ना अघि प्रवेश परीक्षा लिन थालेका छौँ,’ अधिकारीले भने, ‘बोर्डिङ स्कुलबाट समेत विद्यार्थी यतै आएपछि विद्यालयले धान्न नसक्ने अवस्था सिर्जना भयो । बालबालिका र अभिभावकको चित्त बुझाउन प्रवेश परीक्षा सञ्चालन गरेका हौँ ।’

विद्यालयमा हाल दुई हजार चार सय ६८ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कार्यरत सबैजसो शिक्षकले आफ्ना छोराछोरीलाई पनि सत्यवतीमै पढाएका छन् । यहाँ कार्यरत शिक्षकका छोराछोरी मात्र दुई सय १३ जना छन् । विद्यालयमा हाल ९९ शिक्षक कार्यरत छन् ।

विद्यार्थी धेरै भएपछि कक्षामा सेक्सन समेत थप गरिएको छ । कक्षा १० मा मात्रै नौवटा सेक्सन छुट्याइएको छ । अन्य कक्षामा पनि विद्यार्थीको चाप बढेपछि छुट्टाछुट्टै सेक्सनको व्यवस्था गरिएको प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले बताए । उत्कृष्ट नतिजा, शैक्षिक वातावरण, कुशल प्रशासनको कारण अभिभावक र विद्यार्थीको आकर्षण बढेको पौडेलले बताए ।

नयाँ पत्रिकामा उपेन्द्र खनालले लेखेका छन् । 

प्रतिक्रिया