Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

पूर्व शिक्षा मन्त्री पौडेलको निधन

शुक्रबार, ३१ जेठ २०७६

चितवन - पूर्व शिक्षा मन्त्री धनिराम पौडेलको हृदयघातका कारण निधन भएको छ । २०७३ सालमा शिक्षा मन्त्री बनेका पौडेल नेकपाका केन्द्रिय सदस्य हुन् । हिजो मात्रै गृह नगर माडी स्थित बघौडा आएका पौडेल मर्निङ वाकमा रहेको बेला हृदयघात भएको हो । बिहान पौने सात बजेतिर हृदयघात भए पछि स्थानीय अस्पतालमा लैजादाँ लैजादैं बाटोमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ । 

उनकी श्रीमती र दुई छोरी छन् । 

२०३९ सालमा विद्यार्थी संगठन मार्फत् राजनीतिमा प्रवेश गरेका पौडेल दोश्रो संविधानसभा चुनावमा चितवनबाट समानुपातिक कोटाबाट सांसद भएका थिए । 

२०२३ साल कात्तिकमा स्याङ्जाको दरौंमा जन्मेका हरिप्रसाद र हिमादेवीका छोरा पौडेलको प्राथमिक तहको अध्ययन दरौंमै भएको थियो । पौडेल परिवार  ०३५ सालमा चितवन माडीमा बसाइँ सरे संगै उनको कक्षा १० सम्मको पढाई माडि माध्यमिक विद्यालयमा भयो । टाँडीको शहीद स्मृती क्याम्पसबाट ब्यवस्थापनमा प्रविणता प्रमाणपत्र तह पुरा गरे पछि उनले अर्थशास्त्रमा स्नातक गर्नलाई पाटन संयुक्त क्याम्पसमा भर्ना गरे पनि राजनीतिमा सकृय भएसँगै उनले पढाई पुरा गर्न सकेनन् ।

शिक्षा मन्त्री हुनु अघि तत्कालिन संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिको सदस्यका हैसियतमा समितिका बैठकमा पैडेलले प्रभावकारी भूमिका निर्वाह गरेका थिए । 

राजनीतिमा निकै स्वच्छ छविका नेताको पहिचान बनाएका पौडेल वर्तमान शिक्षा मन्त्री गिरिराजमणि पोखरेल २०४१ सालमा विद्यार्थी संगठनको अध्यक्ष भएको बेला चितवन अध्यक्ष थिए । उनलाई त्यही समयमा पोखरेलले केन्द्रिय समितिमा मनोनित गरेका थिए । 

पछिल्लो समय पोखरेलले गठन गरेको उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगमा पौडेलले सदस्यका रुपमा कार्य गरेका थिए । 

फाईल फोटो 

प्रतिक्रिया