Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

जति शिक्षक उति विद्यार्थी

शुक्रबार, ३१ जेठ २०७६

काठमाडौं ३१ जेठ / सिन्धुलीको कमलामाई नगरपालिका–३ चपौलीमा रहेको ज्ञानमाला प्राथमिक विद्यालय गौतमटोलमा विद्यार्थी र शिक्षकको संख्या बराबरी छ । विद्यालयमा पाँचजना शिक्षक र एकजना कार्यालय सहयोगी छन् । नियमित पढ्न आउने विद्यार्थीको संख्या पनि ५–६ जना मात्र रहेको विद्यालयका शिक्षकहरू बताउँछन् । 

विद्यालयको हाजिरीमा १९ जना विद्यार्थीको नाम देखिन्छ । बालविकासमा पाँचजना, कक्षा एकमा दुईजना, कक्षा दुईमा पाँचजना, कक्षा तीनमा दुईजना, कक्षा चारमा चारजना र कक्षा पाँचमा तीनजना विद्यार्थी छन् । तर, १३ जना मात्र आफ्नो विद्यालयको विद्यार्थी भएको शिक्षक जनकलाल चौलागाईं बताउँछन् । करिब २० मिनेटको दूरीमा रहेको माविमा पनि उनीहरू भर्ना भएका छन् । ‘केही विद्यार्थीको हाजिरी यता भए पनि पढ्न उता जान्छन्,’ विद्यालयका शिक्षक जनकलाल चौलागाईं भन्छन्, ‘कहिलेकाहीँ यता पनि आउने हुनाले नाम हटाइएको छैन ।’

०४६ सालमा स्थापना भएको विद्यालयमा ०६६/७६ सालसम्ममा ७०–७५ को संख्यामा विद्यार्थी हुने गरेको, तर दुई–तीन वर्षदेखि विद्यार्थीको संख्या घटेर १८–२० हुँदै ६–७ मा आइपुगेको चौलागाईंले बताए । ‘पछिल्लो समय विद्यार्थीको खडेरी छ,’ उनले भने, ‘गाउँमा जनसंख्या र बच्चाको जन्मदर कम भएकाले विद्यालयमा विद्यार्थीको चाप घटेको हुन सक्छ ।’ आयस्रोत बढी भएका परिवारले सन्तानलाई जिल्ला सदरमुकाममा राखेर पढाउने गरेका छन् । 

नयाँ पत्रिकाबाट 

प्रतिक्रिया