Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

कापी किताब उडायो, कसरी स्कुल जाने

शुक्रबार, ३१ जेठ २०७६

काठमाडौं ३१ जेठ / धनगढीको जुगेडा स्थित शारदा माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सन्तोषी धामी हुरीले कापीकिताब र पोसाक उडाइदिएपछि एक सातादेखि स्कुल जान सकेकी छैनन्। ‘हुरीले कापीकिताब उडाइदियो, लेख्नपढ्न कापीकिताब नै छैन,’ उनले भनिन्, ‘भएको विद्यालय पोसाक पनि उडाइदिँदा कसरी स्कुल जानू ?’ हुरीले उडाएको विद्यालय पोसाक र कापीकिताबसमेत फेला नपरेको बताउँदै उनी भन्छिन्, ‘विद्यालयमा शिक्षकले लेखाउनभएको कापी उडाउँदा मन खिन्न भएको छ।’

दुर्गा आधारभूत विद्यालय जुगेडा ‘ए’ गाउँमा कक्षा ६ मा अध्ययनरत नरेश बोहरा पनि हुरीपछि विद्यालय जान सकेका छैनन्। उनको पनि कापीकिताब र पोसाक सबै हुरीले उडाइदिएको छ। ‘हुरीले कापीकिताब र पोसाक उडाइदिएपछि स्कुल जान सकेकै छैन,’ उनले भने, ‘कापीकिताब र पोसाकको जोहो नहुँदासम्म स्कुल जाने निश्चित छैन।’ उनका बहिनी ऋतु र मञ्जु पनि स्कुल जानबाट वञ्चित छन्।

सन्तोषी र नरेश मात्रै होइनन् कैलाली, कञ्चनपुरका हुरीपीडित परिवारका बालबालिका अहिलेसम्म स्कुल जान सकेका छैनन्। हुरीप्रभावित क्षेत्रका विद्यालयमा आधाभन्दा कम विद्यार्थी उपस्थित हुने गरेका छन्। जसले गर्दा अध्यापनमा समस्या हुने गरेको शिक्षकहरू बताउँछन्। ‘हुरीपछि अहिलेसम्म विद्यार्थी स्कुल आउन सकेका छैनन्,’ बेहडाबाबा आधारभूत विद्यालय ‘डी’ गाउँकी शिक्षिका विमला खत्रीले भनिन्, ‘करिब ७० जना विद्यार्थी रहेको विद्यालयमा हुरीपछि हिजोआज १५ जना बढी विद्यार्थी नै आउँदैनन्।’ यस समुदायका अधिकांश घर हुरीले भत्केकाले विद्यार्थी स्कुल आउन नसकेको उनले बताइन्।

दुर्गा आधारभूत विद्यालय जुगेडा ‘ए’ गाउँका शिक्षक मोहन भण्डारीका अनुसार हुरीले प्रभावित घरका बालबालिका स्कुल नआउँदा विद्यालय सुनसान जस्तै बनेको छ। ‘यस समुदायका ५० प्रतिशत विद्यार्थीको घर भत्केकाले उनीहरू स्कुल आउन सकेका छैनन्,’ उनले भने। छोरीको विद्यालय पोसाक उडाएपछि अहिलेसम्म स्कुल जान नमानेको बताउँदै शारदा मावि ‘सी’ गाउँमा कक्षा ९ मा अध्ययरत पार्वती थापाकी आमा पशुपतिले भनिन्, ‘भर्खरै किनेको पोसाक उडाएपछि पुनः अहिल्यै अर्को पोसाक किन्न पैसा नै छैन।’

विद्यालय भवनका छाना उडाएपछि विद्यार्थीलाई गर्मीमा बस्नै गाह्रो हुने शिक्षकहरू बताउँछन्। इन्सेक सुदूरपश्चिम क्षेत्रीय संयोजक खडकराज जोशीले हुरीले मुक्त कमैया, सुकुम्बासी र विपन्न वर्गलाई बढी पीडित बनाएको बताए। उनले भने, ‘हुरीपीडित घरका बालबालिकाको पढाइ प्रभावित बनेको छ।’ गरिब परिवारले नयाँ छानो हाल्न नसकेको बताउँदै उनले भने, ‘न छाना छ, न त खाना नै, यस्तो अवस्थामा पीडित परिवारका बालबालिका कसरी स्कुल जान्छन्।’ आफूहरूको अनुगमनमा हुरीप्रभावित परिवारका बालबालिका स्कुल जान नसकेको पाइएको उनले बताए। हुरीपीडितको सहयोग र राहतका लागि तीनै तहका सरकार उदासीन बनेको उनले जानकारी दिए। विपन्न परिवारका बालबालिका राज्यको उपस्थिति नहुँदा थप जोखिममा परेको बताउँदै उनले भने, ‘गर्मी, खुला आकाशमुनिको बास, शुद्ध पिउने पानी अभावले गर्दा बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित बनेका छन्।’

गत बिहीबार बेलुकीको हुरीले धनगढीमा मात्रै ६ हजार घरमा क्षति पु¥याएको उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडले बताएका छन्। जनप्रतिनिधि घरघर पुगेर क्षतिको विवरण संकलन गरिरहेको बताउँदै उनले भने, ‘धनगढी उपमहानगरपालिकामा मात्रै दर्जनौं विद्यालयमा हुरीले क्षति पु¥याएको छ। धेरै विद्यार्थीका घर भत्केका छन्।’ स्थानीय तहबाट सक्दो राहत र सहयोग उपलब्ध गराउने काम भइरहे पनि यथास्थितिमा ल्याउन आफूहरूले मात्रै नसकिने हुँदा प्रदेश र संघलाई पनि सहयोग गर्न आग्रह गरेको उनले बताए।

नागरिकमा दिलबहादुर छत्याल र पुष्पराज जोशीले लेखेका छन् । 

प्रतिक्रिया