Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

कक्षा ५ मा अध्ययनरत विद्यार्थीको 'सुसाईट नोट' ! आरोपित तीन शिक्षक प्रहरी हिरासतमा

आइतबार, ०८ असार २०७६

ललितपुर - कक्षा ५ मा अध्ययनरत ११ बर्षका विद्यार्थीको शव झुण्डिएको अवस्थामा फेला परे पछि चापागाउँ प्रहरीले विद्यालयका तीन शिक्षकलाई हिरासतमा लिएर अनुसन्धान थालेको छ । वागमती गाउँपालिका माल्टा स्थित कालीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत समीर लुङ्वाको शव शनिबार राती उनकै घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

वर्षाका कारण बाटो भत्किएकाले आईतबार मात्रै घटनास्थल पुगेको चापागाउँ प्रहरीले अनुसन्धान शुरु गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा फेला परेको एउटा कागज (सुसाईट नोट) मा परिवार र शिक्षकहरुबाट माया नपाएको कुरा लेखिएको प्रहरीले जनाएको छ । उक्त कागजका आधारमा बालकले आत्महत्या गरेको हुन सक्ने शँका गरे पनि अनुसन्धान पुरा नभईञ्जेल यसै भन्न नसकिने प्रहरीको भनाई छ । उक्त 'सुसाईट नोट' फेला परे पछि प्रहरीले शिक्षकहरु गोविन्द तिमिल्सिना, दिवाकर लामिछाने र सरस्वती घिमिरेलाई हिरासतमा राखेर अनुसन्धान शुरु गरेको छ । लुङ्वाको शवलाई भने पोष्ट मार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।

घटना शनिबार राती नौ बजेतिर भएको प्रहरीले अनुमान गरेको छ । लुङ्वाका बाबु धामि बस्न गाउँमा गएका र घरमा अरु कोही पनि नभएको बेलामा घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । राती १० बजेतिर घरका मान्छेहरु फर्कदाँ उनको शव चुलो नजिकै झुण्डिएको अवस्थामा फेला परेको परिवारले वयान दिएको प्रहरीले जनाएको छ ।   

'घटना सुन्दैमा तीन छक परेका छौं, त्यति सानो बच्चोले घर परिवार र शिक्षकबाट माया नपाएको भन्दै सुसाईट गर्ने भन्नु नै अचम्मको कुरा भयो' चापागाउँका प्रहरी नायव उपरिक्षक राजकुमार खिउजुले एडुखबरसँग भने, 'अनुसन्धान नसकिञ्जेल यसै हो भन्न त सकिएन, तर, घटनास्थलमा भेटिएको सुसाईट नोटका आधारमा अहिले हामीले तीन जना शिक्षकलाई नियन्त्रणमा राखेका हौं, अहिले रात परिसक्यो विस्तृत अनुसन्धान भोलिबाट शुरु गर्छौ ।'

विद्यालयका प्रधानाध्यापक कुमार चौलागाई पनि घटना सुने देखि आश्चर्यमा परेको बताउँछन् ।

'म विगत ४ बर्ष देखि त्यो विद्यालयमा छु, कक्षा १ बाटै त्यही विद्यालयमा पढेको समीरमा कुनै त्यस्तो समस्या देखिएको थिएन, अतिरिक्त कृयाकलापमा पनि सँधै सकृय सहभागि हुने खालको विद्यार्थी हो' उनले भने, 'मैले पढ्न हेर्न पाएको त छैन तर, प्रहरीले सुसाईट नोट फेला पारेको जनाएको छ, त्यसमा केही शिक्षक र घर परिवारबाट माया नपाएको कुरा लेखिएको छ भन्ने प्रहरीले हामीलाई जानकारी दिएको छ, त्यही आधारमा शिक्षकहरुलाई हिरासतमा राखिएको छ ।'

आफ्ना विद्यालयका शिक्षकहरुले कहिल्यै पनि विद्यार्थीलाई गाली गर्ने, पिट्ने नगरेको उनी दावी गर्छन् । विद्यार्थीलाई पिट्ने त परको कुरा शिक्षकले लौरी लिएर तर्साउने सम्म गर्न निषेध गरिएको बताउँदै उनले बालमैत्री वातावरणमा पठन पाठन हुने कुरा विद्यालयमा जडित सीसीटिभी क्यामेराको रेकर्ड हेर्दा थाह हुने पनि दावी गरे ।

'हामीले विद्यार्थीलाई पिट्ने भन्ने त कहिल्यै गर्दै गर्दैनौं, त्यस माथि कुनै विद्यार्थीमा केही तनाव वा समस्या देखियो भने उनीहरुलाई परामर्श दिन विगत तीन वर्ष देखि मनोपरामर्श विभाग नै सञ्चालन गर्दै आएका छौं' उनले भने, 'बरु अरु विद्यार्थीलाई कहिले काँही केही समस्या देखिए, उनीहरुलाई त्यो विभागमा रहेका सर मिसहरुले परामर्श दिनु हुन्छ, समीरलाई त कहिल्यै त्यहाँ लैजान पनि परेको थिएन, तर अकस्मात यस्तो घटना आई पर्यो ।'

प्रतिक्रिया