Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

विद्यार्थी कुट्ने शिक्षिकाविरुद्ध मुद्दा

विहीबार, १२ असार २०७६

काठमाडौं १२ असार / पश्चिम रोल्पाको रुन्टीगढी गाउँपालिका–८ झेनामस्थित भानु आधारभूत विद्यालयमा शिक्षिकाको कुटाइबाट पाँच विद्यार्थीको हात भाँच्चिएकोे घटना मुद्दा बनेर जिल्ला अदालत पुगेको छ ।

रोल्पा प्रहरीले ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर’ भन्दै जिल्ला प्रशासन कार्यालयअन्तर्गत मुद्दा चलाउन राय दिए पनि घटनाको गाम्भीर्य हेर्दै सरकारी वकिल कार्यालयले ‘बालबालिकाविरुद्धको कसुर’ मुद्दा भन्दै त्यसलाई अदालत पु¥याएको हो । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७२ को उपदफा ३ ‘क’ बमोजिम सजाय गरी सोही ऐनको दफा ७३ बमोजिम पीडित बालबालिकालाई मनासिब क्षतिपूर्ति भराउनुका साथै अभियुक्त शिक्षिकालाई सोही ऐनको दफा ६७ ‐१) बमोजिम सजाय गराउनसमेत मागदाबी गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

२०७६ असार ४ गते अदालतमा दर्ता गरिएको ‘बालबालिकाविरुद्धको कसुर’सम्बन्धी सो मुद्दा नेपालको इतिहासमै पहिलो भएको सरकारी वकिल केदारनाथ उपाध्यायको दाबी छ । उनका अनुसार सो मुद्दामा ५० हजारसम्म जरिवाना र एक वर्षसम्म कैदको व्यवस्था गरिएको छ । अदालतमा पेस गरिएको मुद्दासँगै अस्पतालले गरेको एक्सरे रिपोर्टलगायत कागजात संलग्न गरिएको बताइएको छ । उपाध्यायले बताएअनुसार बालबालिकाको एक्सरेमा हात भाँच्चिएको या चर्किएको कुनै अवस्था देखिँदैन । शिक्षिकाको कुटाइबाट हात सुन्निएको चाहि हुन सक्छ ।’

विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट पाँच बालिकाको हात भाँचिएपछि प्लास्टर गरिएका थियो । दाङ तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा डा. घनश्याम शर्माले उनीहरूको उपचार गरेका थिए । चिकित्सकका अनुसार घाइते बालिकाहरूको जोर्नी, नाडी, कुइनो र काँधमा चोटपटक लागेको थियो । शिक्षिका पुनले गत जेठ १२ गते प्रार्थनापछि १४ विद्यार्थीमाथि कुटपिट गरेको समाचार बाहिर आएको थियो । प्रधानाध्यापक झगबहादुर भण्डारी तालिममा गएकाले निमित्त प्रधानाध्यापक भएकै दिन पुनले विद्यार्थी कुटेकी थिइन् । शिक्षिकामाथि घाइते भीमकुमारी बाँठामगर, निर्मला पुनमगर, गौरी घर्तीमगर, शान्ता नेपाली र विमला रोकाको हात भाँचिदिएको आरोप लागेको थियो । कुटपिटको आरोपपछि शिक्षिका पुनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नागरिकमा दिनेश सुवेदीले लेखेका छन् । 

प्रतिक्रिया