बालमैत्री वातावरण : शिक्षक कस्ता छान्ने ? 'गुणवान' कि 'कण्ठ ज्ञानवान' !


काठमाडौं - बालमैत्री विद्यालय : कुरा कि व्यवहार ! 

त्यसो त विद्यालयको शैक्षिक वातावरण तथा भौतिक सुविधाहरू बालमैत्री, अपाङ्गमैत्री र लैङ्गिक दृष्टिले उपयुक्त हुनु पर्छ भन्ने बहस अहिलेको विषय नै होइन । सन् १९९० मा सबैका लागि शिक्षा अभियानको शुरु हुँदा नै यो विषय विश्वव्यापी रुपमै स्वीकार गरिएको विषय हो । सन् १९९४ मा भएको समाहित शिक्षाको सालामान्का सम्मेलनले यसमा अझ जोड दिएको थियो । सबैका लागि शिक्षाको अभियानको २५ र सहश्राब्दी विकास लक्ष्यको १५ वर्ष व्यतित भइसकेको छ । 

सन् २०१५ देखि २०३० सम्मको अवधिलाई दिगो विकास लक्ष्यको रुपमा तय गरी सोही अनुसार विश्वव्यापी रूपमा यसका क्रियाकलाप सञ्चालन गरिएका छन् । दिगो विकासका १७ लक्ष्य मध्ये लक्ष्य ४ मा रहेको शिक्षा अन्र्तगत ४.८ मा विद्यालयका भौतिक सुविधा लगायत विद्यालयको समग्र सिकाइ वातावरण बालमैत्री, अपाङ्गता भएकाहरूका अनुकूल तथा लैङ्गिक मैत्री र संवेदनशील हुने गरी निर्माण तथा थप गर्ने र सबैका लागि सुरक्षित अहिंसात्मक समावेशी र प्रभावकारी सिकाइको वातावरण उपलब्ध गराउने भन्ने उल्लेख गरिएको छ । 

तर, बाल मैत्री, अपाङ्ग मैत्री वा लैङ्गिक संवेदनशीलताका विषय हुन् हाम्रा व्यवहार सुधार भएकै छैनन् । 

शिक्षकले गर्ने व्यवहारका बारेमा विद्यार्थी उतिसोरो खुलेर बोल्न चाहँदैनन् । आफूहरुले पाउने सजायलाई उनीहरु आफ्नै गल्तिले त होला नी भन्ने निश्कर्षमा पुग्छन् । विराटनगरको पोखरिया माविमा कक्षा सातमा अध्ययनरत योगेस न्यौपाने पनि यस्तै विद्यार्थी हुन् । शिक्षकहरुले पिट्ने नपिट्ने प्रश्नमा उनी 'कहिले काँही 'भन्ने छाटो उत्तर दिन्छन् र पन्छिन्छन् । 

राम्रो शिक्षाको आशमा सप्तरीबाट पढ्नकै लागि विराटनगर पुगेका ओमशंकर यादव भने विद्यालयको भौतिक संरचना प्रति खुसी छैनन् । सत्यनारायण विद्यालयमा कक्षा १० मा अध्ययनरत यादवलाई विद्यालयमा विद्यार्थी संख्याका तुलनामा शौचालयको कमीले दिक्क बनाएको छ । 

'हामी विद्यार्थी ८ सय जति छौं शौचालय जम्म ३ वटा' उनी भन्छन् 'साह्रै भिडभाड हुन्छ, धेरै पर्खिनु पर्छ, खाने पानीको व्यवस्था पनि त्यति राम्रो छैन ।' 

भौतिक सुविधा मात्र होइन, शैक्षिक सामग्री र शिक्षण सिकाइ प्रक्रियामा समेत यस्ता विभेदहरु प्रष्ट देख्न सकिन्छ । कानुन, मापदण्ड, नीति, निर्देशिका  थुप्रै तयार भएका छन् । तालिम, क्षमता विकास, अभिमुखीकरण, कार्यशाला, गोष्ठी चलिरहेकै छन् तर हाम्रा व्यवहार र प्रवृत्ति अहिले पनि सुधार भएका छैनन् ।

भय रिहत शिक्षण सिकाइको निर्देशिका छ । बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप पनि जारी गरिएको छ । लैङ्गिकताका विषय अझ धेरै छन् तर हाम्रा व्यवहार, सोच, क्रियाकलापमा यी नीति, कानुनको कुनै प्रभाव परेको छैन । बालमैत्री विद्यालय भनेको के हो ? भन्ने प्रश्न र त्यसको सही उत्तरमा चिनो लगाएको भरमा शिक्षक छनौट गर्छौँ हामीले अनि त्यसबाट विद्यालयमा बालमैत्री व्यवहारको अपेक्षा गर्दछौँ । बाल अधिकार महासन्धिमा नेपालले हस्ताक्षर गरेको मिति कण्ठ पारेको शिक्षक छनौट गरेर विद्यालयमा बाल अधिकारको संरक्षण होस् भन्ने चाहना गर्छौ । 

विद्यालयलाई सानो समाज भन्ने तर समाजसँग विद्यालयका सहकार्य नहुने अवस्था छ । कतै अभिभावक मेरो बच्चालाई दण्ड नदिइयोस् भनेर विद्यालय आउँछन् भने कतै मेरो बच्चाले भनेकै टेरेन कुटेर तह लगाउनु पर्यो भन्दै विद्यालय आउँछन् ।

अनि शिक्षकसँग आफ्नो कुनै विचार छैन, सरकारले पिट्न पाइँदैन भन्छ भन्यो बस्यो ! किन पिट्न हुँदैन, अथवा नटेरेको नाममा आफ्ना सन्तान कुट्न स्विकृती दिने अभिभावकलाई के भनेर सम्झाउने ? भन्ने कुरामा शिक्षक स्पष्ट छैनन् । 

समग्रमा बच्चालाई दण्ड दिनु हुदैँन भन्ने संस्कार समाजमा विकास भएकै छैन । अभिभावकलाई विश्वास दिलाउने काम विद्यालयको हो, तर कुनै अभिभावक मेरो बच्चालाई दण्ड दिन पर्यो भन्दै आएमा गजब हुन्थ्यो भनेर कुर्ने शिक्षक कम छैनन् । 

बालबालिकासँग काम गर्ने व्यक्तिका विशेष गुण हुनुपर्छ भनिन्छ । साना कक्षामा पढाउने शिक्षकमा छिटो नरिसाउने, संवेगमा नआउने वा संवेग नियन्त्रण गर्न सक्ने र बालबालिकासँग घुलमिल हुन सक्ने गुण चाहिन्छ तर अहिले हामी गुणवान होइन कण्ठ ज्ञानवान शिक्षक छनौटको महाअभियानमा लागेका छौँ । यसैले विद्यालयहरु न त व्यवहारमा बालमैत्री भएका छन्, न अपाङ्गता भएकाको बारेमा कुरा गर्छन् न त लैङ्गिक विषयलाई ध्यान दिन्छन् । 

विद्यालयमा प्रयोग हुने पाठ्यक्रम, पाठ्यपुस्तक तथा अन्य सन्दर्भ सामग्री पनि लैङ्गिक संवेदनशील छैनन् । अझ धेरै सुधारको खाँचो देखिन्छ । शिक्षकहरुले नै विद्यार्थीलाई यौन दुव्यर्वहार गरेका घटना औषतमा साताको एउटाको दरले सार्वजनिक भइरहेकै छतन् । हामीले विद्यालयमा पठाएका शिक्षकका गतिविधि हेर्दा सुन्दा हाम्रा सोच र दृष्टिकोणमा ठूलो परिवर्तनको खाँचो छ । 

यहाँ ललितपुरको बाग्मती गाउँपालिकामा हालै भएको एउटा घटना जोड्नु सान्दर्भिक छ । कक्षा ५ मा पढ्ने विद्यार्थीले शिक्षक र घर परिवारको हेपाहा व्यवहारका कारण आत्महत्या गर्न बाध्य भएको चिट लेखेर झुण्डिए । एक शिक्षकले कुटेर पाँच जना विद्यार्थीको हात भाँचिएर प्लाष्टर गरिएका तस्वीर सहितका समाचार सार्वजनिक भएको केही दिन वित्यो । यो घटना यहाँ उल्लेख गर्नुको कारण यस विषय प्रति सम्बन्धित पक्ष कत्तिको जिम्मेवार छन् भन्ने बुझाउनु नै हो । यदि शिक्षक समुदायलाई यो विषयले छोएको हुन्थ्यो भने सत्ता समेत फेरबदल गर्न सक्छौँ भन्ने भाषण गर्ने शिक्षक नेताहरुका विचार सार्वजनिक हुनु पर्ने थियो ।

आम शिक्षक समुदायलाई कुनै आव्हान गर्न सक्थे । यस्ता व्यवहार नगर्न आग्रह गर्न सक्थे । 

देशको संरचना बदलिएसँगै बनेका तीन तहका सरकारले समेत यस्ता विषयप्रति गम्भिरता देखाएनन् । तर, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे बालमैत्री विद्यालयको अवधारणा कार्यान्वयनका लागि प्रदेश सरकार जिम्मेवार रहेको दावी गर्छन् । 

'विद्यालय बालमैत्री हुनै पर्छ हाम्रो परम्परागत ढाँचालाई परिवर्तन गर्नै पर्छ, सिकाइका प्रकृया प्रणालीमा समय सापेक्ष रुपान्तरण गर्नै पर्छ विद्यार्थीले सहज सँग सिक्ने वातावरण पैदा हुनु पर्छ' उनले भने, 'हुन त विद्यालय शिक्षा स्थानीय सरकार मातहत हो तर संविधानले शिक्षाका अधिकारलाई तिनै तहको सरकारको जिम्मेवारीमा राखेकाले यस्ता विषयमा हामी संयोजनकारी भूमिकाबाट कार्य गर्छौ ।'   

एक शिक्षकले कुटेर पाँच जना विद्यार्थीको हात भाँचिएर प्लाष्टर गरिएका तस्वीर सहितका समाचार आउँदा सरकार र यसका निकायहरु मौन छन् । स्थानीय सरकारले पनि यस प्रति गम्भिरता देखाउन सक्थ्यो । तर, मौन छन् । निर्देशिका जारी गरेका छौँ भन्ने सरकारी अधिकारीका ओठे जवाफले काम सकिन्छ । निर्देशिका किन कामयावी भएन, त्यो सोच्ने फुर्सद छैन । माध्यमिक तहको कक्षा ९ देखि १२ सम्मका करिब ४० प्रतिशत छात्राहरुले कुनै न कुनै सन्दर्भमा र कुनै न कुनै शिक्षकबाट, कुनै न कुनै प्रकारको यौन लक्षित दुव्यर्वयहार र हिंसा खप्नु परेको छ भनिन्छ । 

पछिल्लो पटक देशको संरचनासँगै बदलिएको व्यवस्थाले विद्यालय शिक्षाको अधिकार स्थानीय सरकार मातहत गरेको छ । विराटनगर महानगरपालिकालाई २०७३ साल बैशाखमै बालमैत्री नगर घोषणा गरिएको छ । तर अझै पनि अभिभावक र विद्यार्थीका भोगाइ उस्तै देखिनु विडम्बना नै हो । महानगरको शिक्षा महाशाखाका प्रमुख दुर्गा प्रसाद खतिवडा विद्यमान नीति तथा कार्यक्रम कार्यान्वयन गर्न महानगर सचेत र जिम्मेवार रहेको दावी गर्छन् ।  

'महानगरका सम्पूर्ण विद्यार्थी भय रहित वातावरणमा विद्यालयमा रहने पर्ने र  जानु पर्छ भन्ने नीतिगत व्यवस्था समेत लागू गरेका छौं' उनले भने 'विद्यालयमा कुनै पनि विद्यार्थीलाइृ शारिरिक वा मानसिक दण्ड दिएको उजुरी आएको अवस्थामा त्यसलाई हामी कारवाही गरिरहेका छौं ।'

हाम्रा सोचमा सुधारको खाँचो छ । विद्यालयले घरमा सजाय नदिने गरे मात्र हामीले गर्छौ भन्ने तर्क गरेर शिक्षक पन्छिनु सुहाउने कुरा हैन । अभिभावकलाई सम्झाउने र बुझाउने पनि शिक्षकको दायित्व भित्र पर्छ । घरमा कुनै अभिभावकले दण्ड दिन खोज्दा - 'म विद्यालयमा सर वा मिसलाई भन्दिन्छु' भन्ने बनाउन सकिन्छ र संभव पनि छ । यसको उदाहरण भेट्न सकिन्छ । पाल्पाको प्राकृतिक आधारभूत विद्यालयकी शिक्षक गंगा पाण्डेसँग* यस्ता घटनाको राम्रो अनुभव छ । करिब ३ वर्ष अगाडि एक अभिभावले आफ्ना बच्चालाई घरमा दण्ड दिदाँ स्कुलमा भन्दिन्छु भनेर उल्टै तर्साएको उनको अनुभवले अन्त पनि यस्तै वातावरण बनाउन सकिन्छ भन्ने पुष्टि हुन्छ । मात्र खाँचो हो शिक्षकले लिने जिम्मेवारीको । आधारभूत विद्यालय कञ्चनबारी विराटनगरका प्रधानाध्यापक बद्री पराजुली आफ्नो विद्यालयमा बालमैत्री वातावरणको गतिलो अभ्यास भएको दावी गर्छन् । 

'हाम्रो विद्यालय पूर्ण रुपमा बालमैत्री छ यदाकदा कहिलेकाँही अभिभावकको मानसिकतामा परिवर्तन गर्न सकिएको छैन' उनी भन्छन्, 'यसलाई साफि चुटि चुटि पढाउनु न भन्नु हुन्छ, हामीले उहाँहरुलाई सम्झाउन अलिकति चुनौती छ। भन्न त हामी उहाँहरुलाई बालमैत्री विद्यालयको अवधारण, नीति नियम सबै कुरा भन्छौं तर अर्को दिन फेरी अर्को अभिभावक त्यस्ते भन्दे आउनु हुन्छ ।' 

कागजी घोडा बढी बने, व्यवहार सुधार भएन । डर नदेखाइ नहुने भन्ने भावनाले ग्रस्त भइयो । व्यवहार सुधारमा ध्यान पनि दिइएन । 

बालमैत्री विद्यालय भएको देखाउन शिक्षकहरुले लठ्ठी भाँचेर फोटो खिचे, तर अवस्थामा सुधार आएको छैन । व्यवहार सुध्रिएको छैन । शिक्षक स्वयं, अभिभावक र सरकारी नियामक निकायहरु संवदेनशील नभए सम्म यस्ता प्रतिवद्धता फोटो र प्रतिवद्धतामा चाँही देखिईरहने छन्, व्यवहारमा रुपान्तरण हुन चाँहि गाह्रै छ । 

रेडियो कार्यक्रम हाम्रो शिक्षाका लागि विराटनगरबाट पत्रकार शेखर ढकाल र शशांक पौडेलको सहयोगमा तयार प्रस्तुत सामग्री सहितको रेडियो कार्यक्रम यहाँबाट सुन्न सकिन्छ । 

०८ हाम्रो शिक्षा

* सच्याईएको - सं.