Edukhabar
विहीबार, ०६ बैशाख २०८१
खबर/फिचर

शिक्षक लाईसेन्स विज्ञापनको म्याद थप

सोमबार, १६ असार २०७६

भक्तपुर - शिक्षक सेवा आयोगले शिक्षक लाईसेन्सको लागि खोलेको विज्ञापनको फारम भर्ने म्याद थपेको छ । यस अघि असार २२ गते सम्म फारम भर्न सकिने गरी खुलेको विज्ञापनमा एक साताको म्याद थपेर २९ गते सम्म फारम भर्न सकिने बनाईएको आयोगले जनाएको छ । 

साविकको उच्च माध्यमिक तहमा अध्यापन गर्दै आएका शिक्षकहरुले अध्यापन अनुमती पत्र (लाईसेन्स) का लागि खुलेको विज्ञापन स्थगन गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको भोली पल्ट आयोगले उक्त निर्णय गरेको हो । तर यो निर्णयमा उक्त मागको कुनै प्रभाव नपरेको आयोगका अध्यक्ष ताना गौतमले दावी गरे । 

उक्त विज्ञापन तत्काल स्थगन गरी कक्षा ११ र १२ मा वर्षौं देखि अध्यापन गरिरहेका, योग्यता पुगेका र अस्थायी अनुमती पत्र प्राप्त शिक्षकहरुलाई विना सर्त स्थायी अध्यापन अनुमती पत्र प्रदान गर्न माध्यमिक विद्यालय शिक्षक यूनियनले तिन दिने अल्टिमेटम सहित आईतबार ध्यानाकर्षण पत्र बुझाएको थियो । विज्ञापन नं ३५ वमोजिमको अध्यापन अनुमती पत्रका सम्वन्धमा यूनियनको ध्यानाकर्षण भएको उल्लेख गर्दै उक्त विज्ञापनमा साविक उच्च माध्यमिक तहमा अध्यापन हुने विषय र पाठ्यक्रमलाई पूर्ण वेवास्ता गरी असम्बन्धित विषयवस्तुहरु मात्र समेटिएको दावी गरिएको छ । 

'आयोगले विद्यमान ऐन नीयम कानूनका आधारमा काम गर्ने हो, सोही अनुसार विज्ञापन गरिएको हो' गौतमले भने, '२०७३ साल असार १५ गते भएको शिक्षा ऐनको संशोधनले गरेको व्यवस्थाका आधारमा विज्ञापन खोलिएको हो ।'

यो बीचमा सर्भरमा केही समस्या आएकोले अनलाईन फारम भर्नेहरुलाई समस्या भएको गुनासो आए पछि म्याद थप गरिएको उनले बताए । 

दोब्बर दस्तुर तिरेर साउन ५ गते सम्म फारम भर्न सकिने छ । यस अघि दोब्बर दस्तुर तिरी असार २९ गते सम्म फाराम भर्न सकिने गरी विज्ञापन खोलिएको थियो । 

लामो समय देखि रोकिएको शिक्षक लाईसेन्सको विज्ञापन, आयोगले गएको असार २ गते खोलेको थियो । माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको छ । जसमा साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकका लागि पनि समेटिएको छ ।

पढ्नुहोस् : शिक्षक लाईसेन्सको विज्ञापन खुल्यो, पाँच किसिमको विज्ञापन

प्रतिक्रिया