कमजोर अँक ल्याउने पनि शिक्षकमा सिफारिस ! छनौट विधिमा ठण्डा दिमागले सोच्न आवश्यक


शिक्षकको गुणस्तर विना गुणस्तरीय शिक्षा संभवै छैन । तर हाम्रो शैक्षिक प्रणालीमा शिक्षक कस्तो गुणस्तरको छ भनेर भन्न सकिने प्रभावकारी आधार छैनन् । शिक्षकमा ब्याप्त दलगत राजनीतिले भएका शिक्षकको काम सन्तोषजनक नभएको आरोप उत्तिकै छ । गुणस्तरीय शिक्षक छनौटमा के कुराले रोक्यो ? शिक्षकलाई कक्षा कोठामा केन्द्रित हुन किन बाधा पर्यो ? बारम्बार उठ्ने यस्ता प्रश्नको उत्तर नखोजि गुणस्तरीय शिक्षाको कुरा केवल रटान मात्र हो । समस्या शिक्षक तयारीकै बेला देखि पनि छ । शिक्षक उत्पादनको ९५ प्रतिशत हिस्सा ओगट्ने त्रिभुवन विश्वविद्यालयले न त गुणस्तरीय विद्यार्थीलाई शिक्षा संकायमा भर्ना गर्छ न त त्यो संकायको अवस्था नै राम्रो छ । शिक्षक तयारी कोर्ष पढेर आएकालाई दिने सेवाकालीन तालिमको अवस्था पनि उस्तै छ । विश्वविद्यालमा जे पढ्छ, लाइसेन्सको परीक्षामा त्यही पढ्छ, र शिक्षकको परीक्षामा पनि त्यही पढ्छ । 

गुणस्तरीय शिक्षक तयार गरी नियुक्तिको सिफारिस गर्ने शिक्षक सेवा आयोग लामो समय त बेकाम बस्यो तर जहिलेबाट शिक्षक छनौटको काम गरिरहेको छ प्रायः विवादमा परेको देखिन्छ । शिक्षक छनौट गर्ने कुनै वैज्ञानिक प्रणाली र पाठ्यक्रम नहुँदा यस्तो भएको विश्लेषण गरिन्छ । कुनै अध्ययन अनुसन्धान विना लहडका भरमा प्रत्येक पटक पाठ्यक्रम र परीक्षा ढाँचा फेरीएको आलोचना उस्तै छ । पछिल्लो समय त शिक्षाका कर्मचारीहरु रोजेर जाने कमाउ अड्डाको रुपमा आयोग विकास हुँदैछ भन्ने आरोप पनि बढ्दो छ । परीक्षाका प्रश्नको गुणस्तर, उत्तर पुस्तिका परीक्षण जस्ता पक्षमा कमजोरी छ र प्रणाली विकास भएको छैन भनिन्छ । गुणस्तरीय जनशक्तिलाई शिक्षक बनाउने सवालमा शिक्षक सेवा आयोगको योजना के छ त ? आयोगका अध्यक्ष ताना गौतमसँग श्रीधर पौडेलले गरेको कुराकानी :

- नतिजा, सिकाइ र विद्यालयको समग्र अवस्थाबाट विश्लेषण गर्दा राम्रा शिक्षक छनौट हुन सकेनन् कि भन्ने कोणबाट बहस शुरु हुन्छ, के हाम्रा शिक्षक साँच्चै नै योग्य छैनन् त ? 

यसको लागि गहिरो अध्ययन आवश्यक पर्ला ।  हामीले छनौट गरेका शिक्षकहरु बारेमा अहिले मिश्रित खालको प्रतिकृया छ । मैले मिश्रित शब्द प्रयोग गरेँ, यसको कारण खोतल्नु पर्ने हुन सक्छ । २०६९ साल पछि आयोगले जति शिक्षकहरु सिफारिस गरेको छ, ती शिक्षकहरु कक्षा कोठामा पुगेर दिएको नतिजा सकारात्मक नै छ । तर यसको मतलब हामीले सिफारिस गरेका सबै शिक्षकले कक्षाकोठामा उत्कृष्ट काम गरेका छन् भन्ने पनि हैन । यसको पछाडी अरु पनि कारण होलान् ...

- ति कारणका बारेमा हामी केही बेरमा छलफल गरौंला, अहिले चाँही योग्य शिक्षक छनौटकै विषयमा केन्द्रित गर्न चाँहे, योग्य शिक्षक छनौट गर्न आयोगले अपनाएको विधि के हो त ? 

योग्य शिक्षक छनौटका लागि अपनाउनु पर्ने जुन प्रकृया हो जस्तो कुनै पनि सेलेक्सन एजेन्सिले अबलम्बन गर्ने प्रकृया आयोगले पनि अपनाएको छ । जस्तै उत्तर पुस्तिकामा डबल कोडिङ् गर्ने, डिकोडिङ् गर्ने, त्यस पछि परीक्षण पद्धतीमा सुधार ल्याउने, एकरुपता कायम गर्न प्रयास गर्ने, गुणस्तरीय प्रश्न पत्र निर्माण गर्ने, नतिजामा स्वच्छता लगायतका कुरा नै यसमा पर्छन् । कहिले काँही कक्षाकोठामा पढाउने कुरा र प्रश्नमा फरक पर्यो भन्ने कुरा पनि उठ्छ । तर, आयोगले छानेको कारणले मात्रै पनि योग्य शिक्षक भएनन् भन्ने कुरा पनि आउँदैन किन भने, यसमा उम्मेद्वारले हासिल गरेको शैक्षिक योग्यताको स्तरको कुरा पनि आउँछ । आयोगले त अहिले सम्म १ सय पूर्णाङ्कको परीक्षाबाट उम्मेद्वारहरु छनौट गरिराखेका छौं , लिखित परीक्षा सय कै छ । अन्तवार्ताको २५ नम्बर छ । त्यसैले अहिले जारी प्रकृयाबाट भएको छनौट नै उत्कृष्ट हो भन्ने हामीलाई लाग्दैन । तयसैले हामीले अरु पहल गरेका छौं । यसलाई बस्तुगत बनाउनका लागि विभिन्न मानकहरु अपनाउन गईरहेका छौं । 

- के हो त्यो मानक ? 

अब निकट भविष्यमा नै सरकारले शिक्षक सेवा आयोग नियमावलीको संशोधन गर्दै छ । परीक्षार्थीको अत्यधिक संख्या, अहिले सम्मको छनौट प्रकृयामा रहेको पेडागोजिकल कण्टेण्ट र विषयबस्तुलाई सन्तुलन गर्न पनि हामीले पूर्णाङ्कमा हेरफेर गर्न खोजिरहेका छौं । यो अनुसार नयाँ संशोधन भयो भने अझ राम्रो हुन्छ । त्यस्तै गरेर परीक्षण पद्दती सुधारमा पनि हाम्रो ध्यान छ । 

- आयोगले बनाएको पाठ्यक्रमकै कारण योग्यतम शिक्षक छनौट नभएको हो भन्ने पनि आलोचना सुनिन्छ नी !

त्यसमा रिभ्यु गर्ने क्रम जारी नै छ । नयाँ नियमावलीसँगै अब बन्ने पाठ्यक्रम त नयाँ बन्छ नै । सुधारकै क्रममा विषयगत लाईसेन्सको कुरा आईसक्यो, योग्य र सक्षम शिक्षक छनौटका निम्ति यो पनि एउटा पहिलो पाईला हो । त्यस्तै परीक्षण पद्दती, पाठ्यक्रम सुधार, प्रश्नपत्र निर्माणमा पनि हामी सुधारको कोशिस गरिरहेका छौं । 

- परिवर्तनको तयारीमा रहेको नियमावलीका कारणले योग्य शिक्षक छनौटमा कसरी प्रभावकारी भूमिका निर्वाह हुन्छ ? 

मैले थाह पाए अनुसार त्यो अहिले मन्त्रीपरिषद्को सम्बन्धित समितिमा पुगेको छ । विशेष शिक्षक छनौटकै कुरा महत्वपूर्ण छ । जस्तो प्रारम्भिक परीक्षाको व्यवस्था गरिएको छ । धेरै उम्मेद्वारहरु मध्ये सबैभन्दा पहिला प्रारम्भिक परीक्षाबाट छनौट गर्ने र त्यसमा योग्य उम्मेद्वारमात्रै अन्तिम परीक्षामा सामेल हुन्छन् । दोश्रो कुरा प्रारम्भिक परीक्षा अब्जेक्टिभ बनाएपछि नतिजा छिटो हुन सक्छ  । ढिलो नतिजा अहिले हामीलाई चुनौती बनेको छ । गएको असोजमा सलएको परीक्षाको नतिजा निकाल्ने काम जारी छ । यो भनेको लामो ने हो । यसलाई कसरी घटाउन सकिन्छ भन्ने विषयमा नयाँ नयमावली आएसँगै सम्बोधन हुने छ ।

- शिक्षाको गुणस्तर बढाउने मुख्य पक्ष त शिक्षकको गुणस्तर नै हो शंका भएन, तर यसमा सुधार गर्न आयोगले के गर्दै छ त ? 

शिक्षा क्षेत्रमा धेरै सरोकारवाला छन् । शिक्षक मात्रै हैन अभिभावक, विद्यार्थी, व्यवस्थापन समिति, स्थानीय सरकार, संघीय सरकार, प्रदेश सरकार सबैको आआफ्नो डोमेन छ । यसमा शिक्षक सेवा आयोग पनि छ, योग्य र सक्षम शिक्षक छनौट आयोगले आफ्नो डोमेने हो । त्यसमा हामीले आफ्नो काम हेर्ने हो । 

पठन पाठनको कुरा, समयमा शिक्षक कक्षामा गएको छ छैन, कस्तो पढाईरहेको छ भन्ने हेर्ने भूमिका स्थानीय सरकारको होला, नीति बनाउने काम प्रदेश संघीय सरकारको काम होला, ब्यवस्थापन समिति, हेड टिचर सबैको महत्वपूर्ण भूमिका छ । त्यसैले गुणस्तरीय शिक्षाका लागि मेरो क्षेत्र कुन हो ? के भूमिका हो र मैले के गर्ने भनेर सबैले आआफ्नो भूमिका ख्याल गर्ने वित्तिकै कही दिविधा रहँदैन । सबै सरोकारवालाले के सोच्नु पर्यो भने हामी एउटै ढुङ्गामा यात्रा गरिरहेका छौं, साझा डुङ्गामा छौं र यो यात्राको जिम्मेवारी सामूहिक हो भन्ने महशुस भयो भने सुधार हुन्छ जस्तो लाग्छ । 

- शुरुमा मैले यहाँलाई एउटा प्रसंगमा रोकेको थिएँ, तपाई भन्दै हुनुहुन्थ्यो सबै शिक्षकले कक्षाकोठामा उत्कृष्ट काम गरेका छन् भन्ने पनि हैन, शिक्षकहरुको क्षमतालाई विस्तार गर्न के कुराले रोकोको छ त ? यसको पछाडी के कारण छन् ? 

कतिपयलाई सुन्दा त्यति प्रीय नलाग्ला । तर देशको नागरिक र मेरो केही अनुभवका आधारमा मैले केही कुरा स्पष्ट भन्नै पर्ने ठानेको छु । संविधानले अँगिकार गरेको समावेशी सिद्धान्तप्रति मेरो कुनै अन्यथा धारणा छैन, तर  त्यो समावेशीता र गुणस्तरीय शिक्षक छनौट अथवा गुणस्तरीय शिक्षाको बिचमा कहाँ कसरी यसलाई तालमेल मिलाउन सकिन्छ ? एउटालाई समाउँदा अर्को कमजोर हुने हो की ? त्यो कुरालाई कसरी हामी अप्टिमाईज गर्न सक्छौं ? समावेशीता पनि रहोस् र गुणस्तरीय शिक्षालाई पनि पक्का गरोस् । यसमा व्यापक बहस हुनु पर्छ जस्तो लाग्छ । किन भन्दा – हामीले दिनहुँ रिजल्ट निकालिरहेका छौं, यही विषय त नभनौं तर कुनै कुनै समूहमा एकदमै कमजोर अँक ल्याउनेहरुलाई पनि हामीले शिक्षकका रुपमा सिफारिस गर्नु परिरहेको छ ।  यो विषयमा बहसमा ल्याउनु पर्छ । 

कुनै समूहलाई राज्यको तर्फबाट हेर्नु पर्ने हुन्छ, हुनु पनि पर्छ तर त्यसका लागि कुनै क्षेत्र पहिचान गरौं । नयाँ क्षेत्र पहिचान गरेर राख्दा राम्रो हुन्छ की ! 

एउटा विद्यार्थीले ९० नम्बर ल्याएको शिक्षकबाट पढिरहेको छ भने उस्तै अर्को विद्यार्थीले ४५ –५० नम्बर ल्याएको शिक्षकबाट पढिरहेको छ । यसले गुणस्तरीय शिक्षामा कहाँ योगदान पुर्याउँछ भन्ने कुरामा बहस गर्न जरुरी छ । 

- तपाई त एक जना पूर्व प्रशासक पनि हुनुहुन्छ, नेपाल सरकारको सचिवबाट सेवा निवृत्त भएको व्यक्ति अहिले भूमिकाका हिसावले ओयागको अध्यक्ष हुनु भएको छ, यो बेग्लै कुरो होला, तर एक जना प्रशासकका आँखाबाट हेर्दा यस्ता नीति नियमहरु निर्माण गर्दा कुन कुराले प्रभाव पार्दो रहेछ र यसलाई समाधान गर्ने उपाय के होला ? 

नीति निर्माणका कुरामा मुख्य भूमिका राजनीतिकै हुने स्वभाविक भयो । अहिलेको समावेशी सिद्धान्त बनाउने कुरामा पनि राजनीतिनै हावि भएको हो । यो फेरी भावनात्मक कुरा पनि हो । पछिल्लो समय लोकसेवा आयोगको विषय बजारमा विवादकै रुपमा रह्यो । 

तर, यस सन्दर्भमा हामीले सोच्दा कलिलो विद्यार्थीलाई हेर्नु पर्यो । यहाँ म एउटा प्रश्न नै राख्न चाहन्छु की – एउटा कुनै बच्चा, अहिलेको स्वघोषित वर्ग खस आर्यमा हुने उसले जन्म उसको रोजाई त हैन नी ! अथवा कुनै अर्को बच्चा पिछडिएको समुदाय वा वर्गमा जन्म लिनु उसको दोष हैन । छुट्टा छुट्टै परिवारमा जन्मकै कारणले बच्चाले राज्यबाट पाउने अवसर वा सुविधामा कसरी तालमेल गर्न सकिन्छ ? पिछडिएको वर्गलाई माथि उकास्ने सबै भन्दा ठूलो अस्त्र शिक्षा नै हो । त्यो शिक्षामा हामीले अघि भने जसरी काम गर्न थाल्ने हो भने कसरी सन्तुलन कायम गर्न सकन्छि ? यो बहस गर्नु पर्ने विषय हो । 

म अरु क्षेत्रका विषयमा भन्दिन मुख्यतया शिक्षाको विषयमा हामीले भावनामा आएर सोचेर मात्रै हैन की ठण्डा दिमागले तिन पटक सोच्नु पर्छ । हामीले कपी गरेर ल्याएको समवेशिताको जुन सिद्धान्त छ, जुन औषत  छ त्यसले शिक्षामा के काम गरिरहेको छ ? भनेर सोच्नु पर्ने हो की जस्तो लाग्छ मलाई । 

प्रस्तुत अन्तर्वार्ता रेडियो कार्यक्रम हाम्रो शिक्षामा समेटिएको छ । उक्त कुराकानी सहितको कार्यक्रम सुन्नुहोस् :०९ हाम्रो शिक्षा