Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

प्रवेश परीक्षाबिनै इन्जिनियरिङ पढ्न विदेश जाँदा धोका

मंगलबार, २४ असार २०७६

काठमाडौं २४ असार / विदेशमा गई इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षा नै नदिई पठाउँदा जानेले बारम्बार धोका पाएका छन् । विदेशी कलेजले योग्यताका आधारमा मात्र भर्ना लिने, तर कुरै नबुझी विदेश जाने विद्यार्थीसँग आधारभूत योग्यता नहुने भएका कारण उनीहरुको भविष्य संकटमा पर्ने गरेको छ ।

वार्षिक करिब ६ हजार नेपाली विद्यार्थी हचुवाको भरमा विदेश लगिन्छन्, उनीहरुमध्ये थोरैले मात्र इन्जिनियरिङ अध्ययनको अवसर पाउँछन् । विषेश गरी भारतमा सञ्चालित विश्वविद्यालयले यस्ता विद्यार्थी लैजाने गरेका छन् ।

एमबीबीएस अध्ययन गर्न विदेश जानेका लागि नेपाल मेडिकल काउन्सिलले परीक्षा लिने गरेको छ । मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएका मात्रै विदेशमा एमबीबीएस पढ्न जाने व्यवस्था छ । नेपाल इन्जिनियरिङ काउन्सिल भने मूकदर्शक बनेको सरोकारवालाको आरोप छ ।

कुनै मापदण्ड र परीक्षाबिना नै इन्जिनियरिङ विषयमा अध्ययन गराउन विदेश लगेको विषयमा नेपाल समाचारपत्रसँग कुरा गर्दै नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष डिल्ली निरौलाले इन्जिनियरिङ शिक्षासम्बन्धी विधेयक संसद्मा पुगेको र ऐन आएपछि नियम बनाएर परीक्षा लिनैपर्ने व्यवस्था गर्ने उहाँले बताउनुभयो । अध्यक्ष निरौलाले भन्नुभयो– ‘हचुवाको भरमा विदेशमा इन्जिनियरिङ अध्ययन गर्दा समस्या देखिएको छ ।’

तथ्यांकअनुसार इन्जिनियरिङ शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीमध्ये करिब ८० प्रतिशत भारतका विभिन्न विश्वविद्यालय जाने गरेका छन् । निजी इन्जिनियरिङ कलेजको छाता संगठन एकोनका अध्यक्ष लक्ष्मण पोखरेलले भारतबाहेक अस्ट्रेलिया, अमेरिका, क्यानडालगायका मुलुकमा समेत अध्ययनका लागि विदेश जाने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार विदेश अध्ययन गर्न जाने विद्यार्थीमार्फत वार्षिक झण्डै ७ अर्ब रुपियाँ विदेशिने गरेको छ । त्यहाँ परीक्षा दिएर मेरिट लिस्टमा आएका विद्यार्थीले मात्रै भर्ना हुन पाउँछन् ।

तर कक्षा १२ मा विज्ञान विषय उत्तीर्ण भएका विद्यार्थीले प्रवेश परीक्षा नै नदिई लाखौं रुपियाँ खर्चेर विदेश जाने गरेका छन् । भारतमा इन्जिनियरिङ शिक्षा अध्ययन गर्ने विद्यार्थीले करिब ७ लाख देखि १५ लाख रुपियाँ र भारतबाहेक अन्य मुलुकमा अध्ययन गर्न करिब ३० लाख रुपियाँ तिर्ने गरेको बताइन्छ ।

नेपालमा त्रिभुवन, काठमाडांै, पोखरा, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल गरी ६ विश्वविद्यालयका ९ आंगिक र ३९ सम्बन्धन प्राप्त समेत गरी ४८ वटा निजी कलेजमा इन्जिनियरिङ शिक्षा अध्यापन हुने गरेको छ । तीमध्ये काठमाडौ, सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयले कुनै पनि निजी कलेजलाई सम्बन्धन दिएको छैन । एकोनमा महासचिव रमेश श्रेष्ठले नेपालका विभिन्न सम्बन्धन र आंगिक कलेजमा गरी १० हजार ६ सय ३३ जना क्षमता रहेको जानकारी दिनुभयो ।

तीमध्ये करिब ६ हजार विद्यार्थी मात्रै भर्ना हुनेगरेका छन् । उहाँका अनुसार विद्यार्थी भर्नाका लागि त्रिवि र पूर्वाञ्चल विश्वविद्यालयले केन्द्रीकृत, पोखरा विश्वविद्यालयको हकमा इन्जिनियरिङ कलेज आफै र मध्यपश्चिम, सुदूरपश्चिम र काठमाडौं विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेज नभएकोले विश्वविद्यालय स्वयंले प्रवेश परीक्षा सञ्चालन गर्ने गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाले विदेशमा इन्जिनियरिङ शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि इन्जिनियरिङ काउन्सिलले प्रवेश परीक्षा लिने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘किन प्रवेश परीक्षा नलिएको भन्ने विषय आउन थालेको छ ।’ उहाँले त्रिविले छिट्टै प्रवेश परीक्षा लिने विषयमा छलफल भइरहेको जानकारी गराउनुभयो ।
एकोनका उपाध्यक्ष सुधीर गुरागाईंले नेपालमा अध्ययन गर्ने विद्यार्थीलाई जस्तै विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई समेत प्रवेश परीक्षा लिने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । 

प्रतिक्रिया