Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

छापामा शिक्षा : शिक्षकको कुटाईबाट विद्यार्थीको मृत्यु देखि प्रधानमन्त्रीको रेड कार्पेट सम्म

विहीबार, २६ असार २०७६

काठमाडौं २६ असार / बिहीबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाले शिक्षकको कुटाईबाट विद्यार्थीको मृत्युको खबर देखि त्रिभुवन विश्वविद्यालयको वार्षिकोत्सवमा प्रधानमन्त्रीका लागि ओच्छ्याईएको रेड कार्पेट सम्मको खबर प्रकाशन गरेका छन् । 

नेपाल समाचार पत्रले शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु चार शिक्षक प्रहरी नियन्त्रणमा  शिर्षकमा छापेको खबरमा कञ्चनपुरको एक निजी स्कुलका शिक्षकको कुटाइबाट घाइते भएका विद्यार्थीको मृत्यु भएको उल्लेख छ । भीमदत्त नगरपालिका– १७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मंगलबार राति मृत्यु भएको हो । मृतक विद्यार्थीका आफन्तका अनुसार भारतको राममूर्ती अस्पतालमा उनको मृत्यु भएको हो । मृतक विद्यार्थीका मामा पुष्पमणि जोशीले शिक्षककै कुटाइबाट भाञ्जाको मृत्यु भएको दावी गर्नुभएको छ । उहाँका अनुसार डडेलधुराको उपक्षेत्रीय अस्पताल, महाकाली, सेती, नेपालगञ्जको शिक्षण अस्पताल हुँदै तीन दिनअघि मात्रै कलौनीलाई भारतीय अस्पतालमा उपचारका लागि लगिएको थियो ।

विद्यार्थीको मृत्युपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चार शिक्षकलाई नियन्त्रणमा लिएको छ । कञ्चनपुर प्रहरीका अनुसार प्रिन्सिपल यशोदा जोशी, शिक्षकत्रय दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीलाई घटनाबारे सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । विद्यालयबाहिर साथीभाइसँंग झैझगडा गरेको विषयलाई लिएर विद्यालयका प्रध्यानाध्यापक सहितका शिक्षकले कुटपिट गरेको छात्रको परिवारले बताएको छ । कक्षा ९ मा अध्ययनरत कलौनीलाई १३ असार (शुक्रबार) विद्यालयमै कुटपिट गरेको उनका बाबु वृहस्पति कलौनीले बताएका उक्त खबरमा उल्लेख छ । मृतक कलौनीका बाबुले प्रधानाध्यापक सहितका शिक्षकको कुटपिटबाट कलौनीको टाउको, छातीमा चोट र दायाँ खुट्टा भाँचिएको यसअघि नै जानकारी गराएका छन् । 

यसै गरी हिलोमाथि रातो कार्पेटको जात्रा स् प्रधानमन्त्रीको समृद्धि यात्रा शिर्षकमा नयाँ पत्रिकाले खबर छापेको छ । त्रिविको ६०औँ वार्षिक दिवसमा कुलपति प्रधानमन्त्री केपी ओली उप शिर्षक सहितको उक्त खबरमा त्रिभुवन विश्वविद्यालयको ६० औँ वार्षिक दिवसका अवसरमा सहभागी भएका प्रधानमन्त्री केपी ओलीले हिलोमाथि ओच्छ्याइएको रेड कार्पेटमा हिँडेर उपकुलपति कार्यालयको नवनिर्मित भवन र सरस्वतीको मन्दिर उद्घाटन गरेको विषयलाई प्राथमिकतामा छापिएको छ । 

उक्त खबर अनुसार त्रिविको वार्षिक दिवस बैठकले ५७ औँ ग्रेस लिस्ट पारित गरेको छ । गत वर्ष त्रिविबाट स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी कार्यक्रममा गरी ७० हजार ७७ जनशक्ति उत्पादन भएका छन् ।  त्रिभुवन विश्वविद्यालयमा एकै वर्षमा ७० हजार जनशक्ति उत्पादन गरेका छन् । त्रिविका त्रिभुवन विश्वविद्यालयको ६०औँ वार्षिक दिवसको अवसरमा आयोजित त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ग्रेस लिस्ट पारित गरेको हो ।

त्रिविका पाँचवटा अध्ययन संस्थानबाट ११ हजार ९ सय १२ जना र चारवटा संकायबाट ५८ हजार १ सय ६५ विद्यार्थी उत्तीर्ण भएका छन् । 

सोही खबरलाई गोरखापत्रले भने प्रतिस्पर्धी शिक्षाका लागि सरकार चिन्तनशील शिर्षकमा  छापेको छ । खबर अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक परिवर्तन र रूपान्तरणका विषयसँग त्रिभुवन विश्वविद्यालयको अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभएको छ । उहाँले सामाजिक परिवर्तन र आवश्यकताअनुरूप शिक्षा क्षेत्र प्रभावित हुँदै जाने समेत बताएका उल्लेख छ । 

मेडिकल कलेजहरूले बढी शुल्क असुलेको निष्कर्ष शिर्षकमा नागरिक दैनिकले छापेको खबरमा संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले निजी मेडिकल कलेजहरूले विद्यार्थीसँग चर्को शुल्क असुलेको ठहर गरेको उल्लेख छ । समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा गठित उपसमितिले निजी मेडिकल कलेजहरूले सरकारद्वारा तोकिएभन्दा बढी शुल्क असुलेर विद्यार्थीमाथि ठगी गरेको निष्कर्षसहित गम्भीर विवादमा मुछिएका मेडिकल कलेजको सम्बन्धन खारेजीका लागि निर्देशन दिनेगरी प्रतिवेदन तयार पारिरहेको हो।

केही मेडिकल कलेजको सम्बन्धन खारेजीसम्म गर्नुपर्ने भन्दै सरकारलाई निर्देशन दिने तयारी भइरहेको बताउँदै राईले भने। ‘सम्बन्धन खारेजीका लागि सम्बन्धित विश्वविद्यालयलाई निर्देशन दिन समितिलाई सिफारिस गर्नेगरी प्रतिवेदन बनिरहेको छ,’ उनले भने। उनका अनुसार घटीमा केही मेडिकल कलेजको सम्बन्धन खारेज गर्नुपर्ने देखिएको छ।

प्रतिक्रिया