Edukhabar
विहीबार, १५ चैत्र २०८०
अन्तैवाट

राजधानीमै एक घण्टा हिँडेर स्कुल

विहीबार, ०२ साउन २०७६

काठमाडौं २ साउन / देशको राजधानी काठमाडौंमै एक घण्टाभन्दा बढी पैदलयात्रा नगरी विद्यालय पुग्न सकिन्न भन्ने सुन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ। वास्तवमा बूढानीलकण्ठ नगरपालिका–५ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जभित्रको बस्ती डाँडागाउँका विद्यार्थीले वर्षौंदेखि भोग्दै आएको नियति हो त्यो। घना जंगल छिचोलेर विद्यालय जानुपर्दा विद्यार्थीलाई बाटोभरि त्रास हुने थाहा पाउँदा झनै मन बिझाउँछ। त्यस्तो नियति भोग्दै आएका विद्यार्थीको कहालीलाग्दो अनुभव सुन्दा मात्रै होइन, सिंगो गाउँको साझा पीडाबारेको जानकारीले झनै निराश तुल्याउँछ। यातायात छैन, अस्पताल छैन। ८० परिवार बस्दै आएको डाँडागाउँमा सुरक्षाको पनि निकै समस्या छ।

सोही ठाउँमा अवस्थित बाल विकास समाज आधारभूत विद्यालयमा कक्षा ७ सम्म मात्र पढाइ हुन्छ, जहाँ अहिले झन्डै ८० जना विद्यार्थी अध्ययनरत छन्। त्यसभन्दा माथिल्लो कक्षा पढाइका लागि आफ्ना छोराछोरीलाई निकुञ्जभित्रको असुरक्षित बाटो हुँदै टाढाको स्कुल पठाउनुपर्दा अभिभावकको मनमा भने सधैं चिन्ताको बास हुन्छ। कक्षा ८ भन्दा माथिको शिक्षाका लागि त्यहाँका विद्यार्थी बूढानीलकण्ठसम्म आउनुपर्छ। डाँडागाउँदेखि झन्डै पाँच किलोमिटरको पैदलयात्रा गरेर बूढानीलकण्ठ पुग्न एक घण्टाभन्दा बढी हिँड्नुपर्छ। निकुञ्जभित्रको जंगलको बाटो सुनसान हुने, वन्यजन्तुको पनि डर हुने हुँदा विद्यार्थी सदैव त्रासमा हिने गर्छन्। स्थानीयले यातायात सञ्चालनका लागि यसअघि पहल नगरेका होइनन्। केही समय माइक्रोबस सञ्चालनमा आएकै हो। तर निकुञ्जको बाटो हिँड्नुपर्ने भएकाले प्रहरीले समस्या सिर्जना गर्न थालेपछि यातायात सञ्चालन हुन नसकेको स्थानीयको भनाइ छ।

विद्यालयका प्रधानाध्यापक धोर्जे तामाङले कक्षा ७ सम्म पनि जेनतेन चलाइरहेको बताए। ‘सानो बस्ती छ, दरबन्दी पनि कम। विद्यालय बन्द गर्न सकिने अवस्था पनि छैन,’ उनले भने, ‘विद्यार्थीको सफल भविष्यका लागि सुरक्षाको व्यवस्था गराउनैपर्छ।’ उनले थपे, ‘सुरक्षाका लागि आर्मीसँग आग्रह गर्दा प्रहरीलाई भन्नुहोस् भन्छन्। उनीहरूको आग्रह स्वीकार गरेर प्रहरीलाई खबर ग¥यो, निकुञ्जभित्र हामीले केही गर्न मिल्दैन भन्ने जवाफ पाइन्छ। निकुञ्जका सैनिकले मान्छेभन्दा पनि जनावरलाई ठूलो ठान्दा हाम्रो सुरक्षाचाहिँ कसले गर्ने ?’ डाँडागाउँका १२ विद्यार्थीले यसै वर्ष एसइई उत्तीर्ण गरे। उनीहरू सबैजना बूढानीलकण्ठस्थित पञ्चकन्या माविमा पढेका हुन्। ‘डाँडागाउँका विद्यार्थीलाई एक्लै घर आउनेजाने आउने नगर्न सुझाव दिन्छौं,’ पञ्चकन्या माविका प्रधानाध्यापक शम्भु कुँवरले भने। जंगलको बाटो हिँडेरै कक्षा ९ र १० अध्ययनका लागि डाँडागाउँबाट बर्सेनि १८÷२० जना विद्यार्थी बूढानीलकण्ठ आउनेछ गर्छन्। पढेर छिट्टै रोजगारी नपाउने, अभिभावकको आर्थिक अवस्था कमजोर हुनेजस्ता कारणले गर्दा अधिकांश विद्यार्थीले कक्षा ११÷१२ पछि पढाइ छाड्ने गरेको प्रधानाध्यापक कुँवरले दुखेसो गरे।

‘डाँडागाउँ विकट क्षेत्र हो,’ बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले भने, ‘सो क्षेत्रमा आधारभूत तहको विद्यालय राखिएको भए पनि माथिल्ला कक्षा सञ्चालनमा ल्याउन सकिएको छैन र यो समस्या तत्कालै सामाधान गर्न सम्भव पनि छैन।’

नागरिकमा गणेश पोखरेलले लेखेका छन् । 

प्रतिक्रिया