Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

शिक्षक पदस्थापनाको प्रकृया शुरु, दुई दिन अघिको निर्णय उल्लेख गर्दै परिपत्र

शुक्रबार, ०३ साउन २०७६

भक्तपुर - शिक्षक सेवा आयोगले सिफारिस गरेको डेढ महिना पछि बल्ल शिक्षा तथा मानव श्रोत विकास केन्द्रले शिक्षक पदस्थापनाको प्रकृया शुरु गरेको छ । दुई दिन अघिको मितिमा भएको निर्णय उल्लेख गर्दै केन्द्रले शुक्रबार सबै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेर पदस्थापनाको प्रकृया शुरु गर्न निर्देशन दिएको हो ।

केन्द्रको बुधबारको निर्णय भन्दै गरिएको उक्त परिपत्र सहित उम्मेद्वारहरुको विषयगत नामावली समेत पठाईएको छ ।

२०७५ असारमा भएको खुल्ला तर्फको विज्ञापनको सबै प्रकृया पुरा गरेर आयोगले १ हजार ९७ जनाको नाम गत जेठमा नियुक्तिको लागि सिफारिस गरको थियो ।

कुन शिक्षकको नियुक्ति कहाँ हेर्नुहोस् नामावली सहित :

नियुक्ति दिदाँ यस अघि नै केन्द्रले तय गरेको प्राथमिकता अवलम्बन गर्न पनि परिपत्र मार्फत् निर्देशन दिईएको छ । प्राथमिकता क्रम अनुसार जिल्ला छनौट फारम भर्न गत असार २ गते गरिएको सूचना अनुसार उम्मेद्वारले पेश गरेको प्राथमिकतालाई आधार मान्ने पनि परिपत्रमा निर्देश छ । जस अनुसार समान तह र विषयको रिक्त स्विकृत दरबन्दीमा अस्थायी रुपमका कार्यरतलाई पहिलो, अपाङ्गलाई दोश्रो, स्थायी ठेगाना वा विवाह दर्ताबाट खुल्ले आधारमा महिलालाई तेश्रो र अन्यलाई योग्यताक्रमका आधारमा चौथो प्राथमिकता दिएर नियुक्ति दिन भनिएको छ ।

साविकका नवलपरासी र रुकुम जिल्लाको हकमा साविकका जिल्लाले हालका नयाँ जिल्लासँग समन्वय गरी नियुक्ति दिने व्यवस्था मिलाउन परिपत्रमा निर्देश छ ।

नियुक्ति दिदाँ रिक्त रहेका तह र विषयगत दरबन्दी संख्या अनुसार शिक्षकलाई पालिका रोज्न लगाउने आधार तय गरेको केन्द्रले जनाएको छ । यसरी नियुक्ति भएका शिक्षकको नामावली सहितको विवरण पालिकाहरुमा उपलब्ध गराउनु पर्ने, उक्त विवरणका आधारमा स्थानीय तहले तह, कक्षा, विषय र विद्यार्थी संख्याका आधारमा विद्यालय रोज्न लगाउने र नयाँ नियुक्त शिक्षकहरुको विवरण केन्द्रमा पठाउन उक्त परिपत्रमा निर्देश गरिएको छ ।  

जिल्ला छनौटमा चित्त नबुझेमा आउँदो शुक्रबार सम्म केन्द्रमा निवेदन दिन सकिने व्यवस्था समेत गरिएको छ ।
आफू मातहतका निकायबाट संकलन गर्नु पर्ने तथ्याङ्क समयमा लिन र प्राप्त भएकालाई पनि अद्यावधिक गर्न नसक्ने केन्द्रको कार्य सम्पादन शैलीका कारण सिफारिस भएको यतिका समय सम्म पनि शिक्षक पदस्थापना गर्न नसकेको भन्दै आलोचना भएको थियो ।

पढ्नुहोस् : उल्झनमा शिक्षकको पदस्थापना, धेरै सिफारिसले अप्ठ्यारो परेको तर्क !

प्रतिक्रिया