Edukhabar
बुधबार, ०२ जेठ २०८१
विचार / विमर्श

लिलाममा उपकुलपति

शनिबार, ११ साउन २०७६

- प्रा.डा. मनप्रसाद वाग्ले शिक्षा क्षेत्रमा परिचत नाम हो । विश्वविद्यालयमा प्राध्यापन गर्नु त उनको पेशा नै भयो त्यसका अलावा विभिन्न कालखण्डमा सरकारले तय गरेका शिक्षाका नीतिगत संरचना र अवधारणा निर्माणमा उनको संलग्नतामा काम भएका थुप्रै उदाहरण छन् । खास गरी शिक्षा सुधारका लागि आवश्यक नीति निर्माण र कार्यान्वयनको बहस पैरवीमा उनको संलग्नता बृहत छ । सार्वजनिक शिक्षा सुधारको कोणबाट आफ्ना अवधारणा र विचार प्रवाह गर्दै आएका वाग्ले पछिल्लो समय साहित्य तर्फ समेत सकृय  छन् । हिजो आज छन्दका कविता सृजनामा समेत संलग्न हुन थालेका उनको सृजना यो साताको शिक्षा साहित्यमा :

आस्था शून्य भएर दैनिक जसो झर्दैछ शिक्षा तल

देखिन्नन् खुद हेर चिन्तित कतै यी राजनेता तर 

जो जो सक्दछ तिर्न मूल्य पदको सम्भावना धेर भो

आफ्नो बुद्धि विवेकको भर यहाँ छैनन् र खोस्टा भयो (१)

 

जस्को शक्ति छ भक्ति सिद्ध उसको साकार पार्ने गरी

पार्टीका तलुवा मुनी सकसले मर्दैछ विद्या हरि 

देखायो अनि चण्ड रूप उसले आफन्त जम्मा गरी

सारा जागिर पोष्छ हेर जसले बाँडेर आफ्ना गनी (२)

 

ती प्राध्यापक हुन् विशिष्ट तहका या कर्मचारीहरु

छानेरै सव भर्ति गर्दछ जहाँ छन् कार्यकर्ताहरु  

बेच्यो बौद्धिक अङ्क स्वर्ण-पदकै चुन्दाममा सक्कियो

यस्तै हर्कतले उँधोतिर गयो शिक्षा सवै मक्कियो (३)

 

ती हुन् योग्य यहाँ लगाउन सके नौनी दली बेसरी

ती हुन् योग्य यहाँ चढाउन सके थैली मुखैमा भरी  

ती हुन् योग्य यहाँ दलीय सपना झोला उठाए भने    

ती हुन् योग्य यहाँ मिलीभगतले छानेर चिट्ठा परे (४)

 

धायो दैनिक कामका निहुँ गरी ढोग्दैछ नेतागण  

खस्क्यो नैतिकता न चिन्तित कतै हा! विश्वविद्यालय

लागे मूल्य अथाह बेच्न पदको जस्ले बढी तिर्दछ

पाए उच्च पदै अयोग्य जनले शिक्षा अझै गिर्दछ (५)

 

आओस् बुद्धि छिटो भनेर अहिले गर्ने पुकारा न हो

छाओस् भित्र स्वयम् र देश पहिलो भन्ने इरादा न हो

शिक्षा ध्वस्त भए पुरै मुलुकको खस्कन्छ आस्था सव    

ल्याओस् योग्य भनेर कुर्दछ अझै त्यो विश्वविद्यालय (६)

छन्द: शार्दूलबिक्रिडित

प्रतिक्रिया