Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

शिक्षक आयोगले मेसिनबाट कापी जाँच्ने, लाईसेन्स परीक्षाबाट शुरु गरिने

शुक्रबार, २४ साउन २०७६

भक्तपुर - शिक्षक सेवा आयोगले वस्तुगत खण्डको उत्तर पुस्तिका परीक्षणको काम मेसिनबाट गर्ने भएको छ । अध्यापन अनुमति पत्र लाईसेन्सको परीक्षाबाट आयोगले पहिलो पटक अप्टिकल मार्क रिडर (ओएमआर) मेसिनको प्रयोग गर्ने भएको हो । 

मेसिनबाट परीक्षण गरिने उत्तर पानालाई मोड्न वा कुच्याउनु हुँदैन । त्यस्तो पानाको उत्तर मेशिनले पढ्न नसक्ने हुँदा परीक्षार्थीले वस्तुगत प्रश्नमा उल्लेख गरेको प्रश्नको की वा सेट आफ्नो वस्तुगत उत्तर पानाको क, ख, ग वा घ मध्ये कुनै एकमा रहेको गोलाकार संकेतमा मसी भरेर चिन्ह लगाउनु पर्ने हुन्छ । यस्तै उत्तर दिदाँ पनि कुनै एक उत्तरमा उसै गरी मसी भर्नु पर्ने हुन्छ । वस्तुगत प्रश्नको उत्तर गलत भएमा प्रत्येक उत्तरको लागि २०  प्रतिशत अँक कट्टा गरिने आयोगले जनाएको छ । 

परीक्षालाई चुस्त र परीक्षणमा त्रुटि कम गर्ने तथा लाग्ने समय बचत गरी छिटो नतिजा निकाल्न प्रविधिको प्रयोग गर्ने निर्णय गरेको आयोगका  प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए । यस अघि नै शिक्षा मन्त्रालयले एमविविएस परीक्षाको कापी परीक्षण गर्नका लागि ल्याएको मेसिन खाली रहेकोले आयोगले त्यही मेसिनको प्रयोग गर्ने भएको हो । त्यसका लागि आवश्यक पर्ने प्रश्न तयारीको काम अन्तिम चरणमा पुगेको उनको भनाई छ । यसको प्रयोगका बारेमा परीक्षार्थीलाई आवश्यक जानकारी गराईने उनले बताए । 

'यो प्रविधि संसारले प्रयोग गर्दै आएको प्रविधि हो, आयोगलाइ पनि समय सापेक्ष रुपमा प्रविधि मैत्री बनाउने हाम्रो प्रयास हो, यसबाट परीक्षणको समय बचत हुने मात्रै हैन, परीक्षणमा हुने त्रुटि पनि घट्छ, विद्यार्थीलाई न्याय हुन्छ' उनले भने, 'नेपालमा पनि यस अघि लोकसेवा आयोग, एमविविएसको परीक्षाहरुमा मेसिनको प्रयोग हुँदै आएको छ ।'

लाईसेन्सको परीक्षा असोज ९ गते देखि ११ गते सम्म गर्ने गरी आयोगले मिति तय गरेको छ । प्राथमिकको ९ गते माध्यमिकको १० गते र निम्न माध्यमिकको ११ गते गर्ने र सबै परीक्षा विहान ८ बजेबाट शुरु गर्ने गरी आयोगले मिति तय गरेको हो । गत असार २ गते परीक्षा मिति विना लाईसेन्सको विज्ञापन खोलिएको थियो । विज्ञापनको ५३ औं दिनमा बिहीबार बल्ल आयोगले परीक्षा मिति तय गरे पनि परीक्षा सञ्चालन हुने जिल्ला र केन्द्र भने अझै तय गरेको छैन । भदौ १५ गते मात्रै केन्द्र सार्वजनिक गर्ने आयोगले जनाएको छ । 

तिन घण्टाको उक्त परीक्षा अवधिमा वस्तुगतको लागि ४० मिनेट निर्धारण गरिएको छ । उक्त समय अघिनै वस्तुगत प्रश्न हल गरी बुझाएमा विषयगत प्रश्न उपलब्ध गराउने आयोगले जनाएको छ । विषयगत तर्फ शिक्षण कला सम्बन्धि खण्ड क र सामान्य पेशागत ज्ञान सम्बन्धि प्रश्न खण्ड ख मा आउने र यी दुई खण्डको उत्तर अलग अलग उत्तर पुस्तिकामा लेख्नु पर्ने छ ।  

प्रतिक्रिया