आखिर बाहिर जाने नै हो यहाँ पढेर समय किन बर्बाद गर्ने !


कलेजको होस्टलमा बस्ने भाइ लाई सोधेँ – कस्तो चलीरा'छ पढाइ ?

उनले भने – म त कलेज नै जान्न । 

घरबाट निकै टाढा भएकाले कलेजले समेत होस्टलमा बस्न अनुमती दिएको विद्यार्थीले के गर्दा रहेछन् मलाई कौतुहलता बढ्यो । 

उनलाई सोध्दा थाहा भयो – उनी त बिहानै ५ बजे नै उठेर जापानी भाषा सिक्न जाँदा रहेछन् । अनि कहाँ बाट कलेज जानु अनि पढ्नु र सिक्नु !

त्यही होस्टलमा बस्ने अर्को भाइले त झन् उ भन्दा म सिनियर हुँ भने । मैले कुरो बुझिन – के भन्न खोजेको ? उनले बि बि एस तेस्रो वर्ष अध्ययन गर्दथे । उनले भन्न खोजेका रहेछन् – उनी झन् पहिल्यै देखि बिदेशी भाषा सिक्न थालेका रहेछन् । उनले त झन् पहिले कोरियन भाषा सिकिसके पछि अहिले फेरि जापानी भाषा सिक्दै रहेछन् ।

यी त सामान्य दृष्टान्त मात्रै हुन् । ग्रामीण इलाकाका किशोर किशोरी त यसरी लागेका छन् भने शहरी क्षेत्रका युवाहरूको कुरै नगरे हुन्छ । प्लस टु बल्ल बल्ल गरेपछि स्नातक पढ्नै मान्दैनन् । ४ बर्षे स्नातक पढ्नुलाई उनीहरूलाई सुगालाई पिंजडामा थुनिए जस्तो लाग्छ । आखिर बाहिर जाने नै हो किन समय बर्बाद गर्ने भन्ने धारणा छ उनीहरुको । 

एउटा मेधावी छात्रा जो बि. एस्सी. तेस्रो वर्षमा अध्ययनरत थिइन, उनले बाँकी रहेको १ वर्ष मात्रैको अध्ययन छाडेर अष्ट्रेलिया तिर लागिन । अभिभावकले बाँकी अध्ययन पूरा गरेर जानका लागि अनुरोध गर्दा पनि मानिनन् ।

बिदेशी मोह यति बढ्यो कि कुरा गरि साध्य छैन । सकभर अमेरिका जाने । नभए क्रमशः बेलायत, युरोपियन देशहरु, अष्ट्रेलिया, जापान, कोरिया भएनी जान पर्छ भन्ने मानसिकता बिकास भएको छ नयाँ पुस्तामा ।
अधिकांश नर्सिङ पढेका छात्राहरूले नेपालमा जागिरै नपाउने, पाए पनि अति न्यून वेतन, जसले आफ्नो व्यक्तिगत खर्च समेत धान्न नपुग्ने हुदाँ बिदेशीनुको बिकल्प नै देख्दैनन् उनीहरू । हालै एक पत्रिकामा प्रकाशित समाचार अनुसार स्टाफ नर्स पढ्न धेरै रकम खर्च हुने तर जागिर गर्ने बेलामा सरकारी अस्पतालमा सिमित दरबन्दी भएको प्राइभेट हस्पिटलमा ६ महिनासम्म निशुल्क स्वयं सेवक भइ काम गर्नु पर्ने र कतिपयमा उक्त अवधी पछि तलब माग्दा काम संतोषजनक नभएको भनी निकालिदिने गरेको समेत पाइएको उल्लेख छ । 

न्यूतम ६ हजार सम्म तलब दिने समेत गरिएको रहेछ । नर्सिङ पढाई प्रती नकारात्मक धारणा विकास गराउने उद्धेश्य नहुँदा नहुँदै पनि अवस्था विकराल देखिएको कुरा कतै छिपेको छैन । 

बिदेश पढ्न जाने ट्रेण्ड भनौ वा फेसन भनौ, निकै चmेको छ । रोजगारीको लागि त जनशक्ति बिदेशीएको नै थियो अब त शिक्षाका लागि समेत बाहिरिने क्रम एउटा सिलसिला बन्दै गएको छ । 

राजदूतावासमा देखिने भिडले कतै नेपालमा शैक्षिक संस्था तथा विश्वविद्यालय नै छैनन् कि जस्तो लाग्छ । कतै नेपालका शैक्षिक संस्थाको गति आजकल एकादेशको कथा भएको काठमाडौको ट्रली बस जस्तै त हुने होइन ? 

झन एअरपोर्टमा देखिने नेपालीको लस्कर वा संख्याले त केही वर्ष भित्रै नेपाल रित्तिदै त छैन भने जस्तो लाग्दछ । डाक्टर, इञ्जिनियर, नर्स जस्ता दक्ष जनशक्ति देखि लिएर लेबर सम्म बिदेशीएको पाइन्छ । हुदाँ हुँदै व्यङ्ग्यात्मक रुपमा अष्ट्रेलियालाई नेपालको आठौं प्रदेश र प्रान्त समेत भन्दा रहेछन् हिजो आज !

सीप र बिवेक भएका जनशक्ति बाहिरिनु नै ब्रेन ड्रेन अर्थात प्रतिभा पलायन हो । नेपालमा रोजगारको सम्भावना पनि छैन भएकोमा पनि नातावाद कृपावाद लागू हुने भए पछि यहाँ नबस्ने तर्क गर्छन् नयाँ पुस्ताका युवा ।

रोजगारी पाइहाले पनि सेवा सुविधा अत्यन्तै न्यून । शाखा अधिकृतको जागिर गरिरहेका चिनजानका एक ब्यक्ति आफ्नो श्रीमतीलाई डि.भि. परेपछी नेपालको जागिर छाडेर अमेरिका लागे । उनलाई हुँदा खाँदाको यति राम्रो नोकरी छाडेर किन जान थाल्नुभो भनेर सोध्दा आफ्नो जे जस्तो भए पनि सन्ततिको भविष्य बिग्रन नदिनको लागि जान थालेको जवाफ दिए ! 

अब समाजमा कस्को कति सम्पत्ति छ भन्दा पनि कसका सन्तान धेरै बिदेश गएका र कुन मुलुक गएका छन् भन्नेले प्रतिष्ठा निर्धारण गर्ने जस्तो देखिन्छ । 

ज्ञान हासिल गर्न बिदेशीनु नराम्रो हैन, नेपालीहरूले बिदेशबाट ज्ञान, सीप तथा प्रविधि लिएर फर्केको खण्डमा देशकै हित हुने हो । यसलाई ब्रेन गेइन पनि भन्न सकिन्छ । यसले त झन् नेपाल जस्तो बिकासोन्मुख देशलाई फाइदा पुग्न सक्छ । बिकसित देशका ज्ञान, सीप र प्रविधि आर्जन गरेर जनशक्ति नेपालमा फर्कने हो भने यसले देश विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्छ । त्यहाँको टेक्निक र तरिकालाई यहाँ अपनाउन सके देश छिट्टै उन्नतिको चुचुरोमा पुग्न सक्दछ । विडम्बना अधिंकाश बिदेशीनेहरु फर्कने गरेको पाईंदैन, हिजो आज त पुख्र्यौली जेथा बेचेर उतै घर किनेका वग्रेल्ती उदाहरण भेटिन्छ  ।

निष्कर्ष

नेपालमा पछिल्लो समय बिदेशिनेको संख्या उल्लेखनीय रूपमा बढेको छ । सामान्य लेबर गर्न जाने देखि लिएर दक्ष जनशक्ति पनि रोजगारका लागि एका तर्फ बिदेशिएका छन् भने अर्को तर्फ अध्ययनका लागि भन्दै ठूलो संख्यामा युवाहरु पलायन भएको पाइन्छ । ती मध्ये अधिकांश अध्ययन गर्ने भन्दा पनि उतै सेटल हुने उद्देश्य बोकेर गएका हुन्छन् । सरोकारवाला पक्षले बेलैमा उपयुक्त कदम नचाल्ने हो भने देश युव विहिन हुन धेरै दिन कुर्नु पर्ने छाँट छैन । 

सरकारले यी मुद्दाहरुलाई गहन रूपमा लिइ समाधान गर्नुपर्छ । अन्यथा यसले बिकराल रुप लिन सक्दछ । ब्रेन ड्रेनलाई निरुत्साहित तथा न्यूनीकरण गर्नुका साथै ब्रेन गेइन गर्नका लागि उनीहरूलाई प्रोत्साहित गर्नुका साथै उनीहरूका लागि नेपालमा उपयुक्त वातावरण सिर्जना गर्नु आजको मुख्य कार्यभार बनाउन ढिलो गर्नु हुन्न । 

एम.सी. बलभद्र मा.बि. प्युठानका शिक्षक हुन् ।