Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

परीक्षा आउन २ दिन बाँकी : विद्यार्थी संख्या यकिन छैन, भद्रगोल हुने सम्भावना

विहीबार, ३० साउन २०७६

काठमाडौं - कक्षा १० को अन्तिममा लिईने परीक्षा अन्र्तगत ग्रेड वृद्धि (पूरक) परीक्षा आउन २  दिन मात्रै बाँकी हुँदा सम्म परीक्षामा कति विद्यार्थी सम्मिलित हुन्छन् भन्ने संख्या यकिन हुन सकेको छैन । विद्यार्थी संख्या नै यकिन नभएका कारण परीक्षा भद्रगोल हुने सम्भावना बढ्दै गएको छ । 

कहाँ कति विद्यार्थी छन् भन्ने यकिन नभईकन कति प्रश्न पत्र र उत्तर पुस्तिका आवश्यक पर्छ भन्ने तय हुँदैन । तर, भदौ १ गतेबाट हुने उक्त परीक्षाका लागि आवश्यक प्रश्न पत्र र उत्तर पुस्तिका सम्बन्धित जिल्लामा पठाई सकिएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप नियन्त्रक चेतनाथ शर्मा दावी गर्छन् । 

जिल्ला जिल्लाबाट टेलिफोनमा तथ्याङ्क माग गरिएको र सोही आधारमा संख्याको अनुमान गरिएको उनले बताए । कार्यालयले अहिले सम्म १३ जिल्लाको संख्या त अद्यावधिक समेत गरेको छैन । 

'मूल परीक्षामा जस्तै प्रदेश अनुसार फरक फरक प्रश्न पत्र तयार पारेर आवश्यक सबै सामग्री सम्बन्धित जिल्लामा पठाईसकेका छौं' शर्माले भने, 'लगभग डेढ लाख विद्यार्थी सहभागी हुन्छन् की भन्ने अनुमान गरिएको छ, सबै भन्दा धेरै गणितमा मात्रै एक लाख हाराहारी होलान् भन्ने अनुमान गरेर सामग्री पठाईएको छ ।'

तर, विद्यार्थी संख्या नै  यकिन नगरीकन पठाईएको सामग्री पुग नपुग के हुन्छ भन्ने यकिन नभएकोले परीक्षामा भद्रगोल हुन सक्ने खतरा देखिएको कार्यालयका एक कर्मचारीले शँका गरे ।  

'अन्दाजका भरमा सामग्री पठाईएको छ, यसले कतै धेरै हुने र कतै नपुग्ने खतरा देखिएको छ' ती कर्मचारीले भने 'साह्रै फितलो व्यवस्थापन र तयारीमा काम भएको छ, यसले विद्यालय तहको परीक्षा सञ्चालनमा भद्रगोलको पराकाष्टा देखाउने लक्षण देखिएको छ ।'

गत चैत १० गते बाट शुरु भएको कक्षा १० को परीक्षाको नतिजा कार्यालयले गत असार १२ गते सार्वजनिक गरेको थियो । त्यस लगत्तै दुई विषयमा मात्रै ग्रेड वृद्धि गर्न पाउने गरी जारी गरेको सूचनालाई स्थगित गर्न लगाएर मन्त्रालयले उक्त सूचना 'भूलबश प्रकाशित भएको' भन्दै विद्यार्थीले चाहेको विषयमा ग्रेड वृद्धि गर्न सक्ने गरी परीक्षामा सहभागी हुन पाउने ब्यवस्था गरेको थियो । 

विद्यार्थीले चाहेको विषयमा ग्रेड वृद्धि गर्न सक्ने गरी परीक्षा सञ्चालन गर्न मन्त्री गिरिराजमणि पोखरेलले निर्देशन दिए पछि पूरक परीक्षामा सहभागीहरुको संख्या बढ्ने र यही जनशिक्तले काम गर्न नसक्ने भन्दै तत्कालिन नियन्त्रक विष्णुप्रसाद अधिकारले सरुवा मागेका थिए । सोही आधारमा उनलाई मन्त्रालयमा झिकाएर मन्त्री पोखरेलले उपसचिव रामराजा खकुरेललाई परीक्षा सञ्चालनको जिम्मेवारी तोकेका थिए ।  

अक्षरांकन पद्धती कार्यान्वयन कार्यविधि २०७२ अनुसार सी वा सी भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेड वृद्धि गर्न परीक्षामा सम्मिलित हुन सक्ने मन्त्रालयको तर्क छ । साविकको एसएलसी परीक्षालाई अक्षरांकन पद्धतीमा बदलेसँगै २०७२ साल मंसिर २३ गते जारी गरिएको उक्त कार्यविधि ४ पटक संशोधन भईसकेको छ । 

यस पटक मन्त्रीले दिएको निर्देशनलाई धेरै विद्यार्थी असफल  भएको अपजस मेट्न अपनाईएको संज्ञा भन्दै सरोकारवालाले आलोचना गरेका छन् ।

सी वा सी भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेड वृद्धि गर्न परीक्षामा सम्मिलित हुन सक्ने भए सँगै पूरक परीक्षामा सम्मिलित हुने विद्यार्थीको संख्या अत्यधिक बढ्न सक्ने देखिएको थियो । उक्त समूह अन्र्तगत सबै भन्दा धेरै रहेका गणितमा मात्रै ३ लाख २० हजार ८ सय ३८ विद्यार्थी पूरकका लागि योग्य छन् । विभिन्न ८९ विषयको समष्टिगत जोड हेर्ने हो भने यो संख्या अझै बढ्न सक्ने देखिन्छ । तर, के कति विद्यार्थीले परीक्षाका लागि फारम भरेका छन् भन्ने यकिन तथ्याङ्क विनै परीक्षा सञ्चालन गर्न लागिएको छ । 

शिक्षा ऐनको आठौं सँशोधनले विद्यालय शिक्षाको संरचना परिवर्तन गरेर साविकको एसएलसीको व्यवस्थालाई परिवर्तन गरी विद्यालयको अन्तिम परीक्षा कक्षा १२ हुने ब्यवस्था गरेको छ । तर शिक्षा मन्त्रालयका उच्च कर्मचारी र मातहतका निकायले उक्त व्यवस्था कार्यान्वयनका लागि आवश्यक प्रभावकारी कार्य सम्पादन गर्न नसक्दा कक्षा १० को अन्तिमको परीक्षामा पुरानै ’धंङधंङी’ कायम छ ।

यो पनि पढ्नुहोस् : कक्षा १० को नतिजाको तामझाम : असफल राजनीतिक नेतृत्व, व्यापारीको पञ्जामा कर्मचारीतन्त्र !

 

प्रतिक्रिया