पढ्दा पढ्दै शसस्त्र युद्धमा होमिएकी राईलाई मानार्थ विद्यावारिधी


काठमाडौं - कक्षा ७ मा पढ्दा पढ्दै छोडेर तत्कालिन माओवादीले शुरु गरेको शसस्त्र युद्धमा होमिएकी अष्ट्रा धावक मीरा राईलाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरिएको छ । अमेरिका स्थित वेस्टक्लिफ युनिभर्सिटीले राईको साहसिक कार्यको सम्मान गर्दै आईतबार एक कार्यक्रमका बीच उपाधि प्रदान गरेको हो । 

उक्त विश्वविद्यालयबाट सम्बन्धन लिएको नेपाल स्थित प्रेसिडेन्सियल बिजनेश स्कुलद्वारा आयोजित दीक्षान्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र युनिभर्सिटीका प्रा.डा. डेभिड मेकेनीले राईलाई संयुक्त रुपमा विद्यावारिधी उपाधि प्रदान गरेका हुन् । 

उक्त अवसरमा राईले पढाइ छोडेर 'जनयुद्ध'मा होमिएको र त्यस पछि फेरी पढाइमा लागेको कुरा स्मरण गरिन् । आइपर्ने संघर्ष देखि हार नमानेर अगाडि बढ्दा जीवनमा महत्वपूर्ण उपलब्धि हासिल हुने उनले उल्लेख गरिन् । 

‘यो उपाधि पाउँला भनेर सपनामा पनि सोचेकी थिइन' उनले भनिन् 'यसले मलाई औधी खुशी बनाएको छ ।’

यो उपाधिबाट आफू जस्तै परिश्रम गरेर अष्ट्रा धावनमा संलग्न हुन चाहने नवप्रतिभाहरुलाई थप मेहनेत गर्न प्रेरणा मिल्ने आशा व्यक्त गरिन् । 

भोजपुरमा जन्मिएकी राई अन्तर्राष्ट्रिय अष्ट्रा धावनमा चर्चित छन् ।  

कार्यक्रममा उपराष्ट्रपति पुन र डेभिडले उक्त विश्वविद्यालयको सम्बन्धनमा प्रेसिडेन्सियल विजनेश स्कुलमा अध्ययन गरेका स्नातक र स्नातकोत्तर तह उत्तीर्ण ९५ छात्रछात्रालाई दीक्षन्तको प्रमाणपत्र प्रदान गरेका थिए ।

दीक्षान्त समारोहमा बोल्दै स्कुलका कार्यकारी निर्देशक लक्ष्मण केसीले आफूलाई चिनेर अगाडि बढ्दा मीरा राईजस्तै सफल बन्न सकिने भन्दै विद्यार्थीको मनोवल बढाएका थिए । युनिभर्सिटीका डेभिडले बजारको आवश्यकता र माग अनुसार विश्वविद्यालयले पठनपाठन गरिरहेको चर्चा गर्दै नेपाली छात्रछात्राको अध्ययन उत्कृष्ट रहेको दाबी गरे । स्कुलकी शैक्षिक कार्यक्रम निर्देशक कल्पना गुरुङले प्रेसिडेन्सियल बिजनेश स्कुलमा सैद्धान्तिक मात्रै नभई व्यवहारिक अध्ययन हुने दावी गरिन् ।

फोटो : प्रेसिडेन्सियल बिजनेश स्कुल