Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

शिक्षक लाईसेन्सको परीक्षामा लापरवाही, आयोग भन्छ परीक्षा रद्द हुँदैन

शुक्रबार, १० असोज २०७६

भक्तपुर - शुक्रबार भएको शिक्षक लाईसेन्सको परीक्षामा लापरवाही गरिएको छ । शिक्षक सेवा आयोगले लिएको माध्यमिक तहको अध्यापन अनुमति पत्रको परीक्षा अन्तर्गत अंग्रेजी विषयको समूह ‘घ’ को बस्तुगत तर्फको प्रश्न पत्रमै उत्तर समेत सार्वजनिक भएको छ । वस्तुगत प्रश्नपत्रको उत्तरलाई बोल्ड अक्षरमा छापिएको फेला परे पछि उक्त लापरवाही सार्वजनिक भएको हो । 

तर उक्त घटनालाई ठूलो रुपमा लिन जरुरी नभएको भन्दै आयोगका अध्यक्ष ताना गौतमले परीक्षा रद्द नहुने बताएका छन् । हरेक केन्द्रमा पठाईएको ४ अलग अलग सेट मध्ये उत्तर बोल्ड भएको सेट वितरण भएको थाहा पाउना साथ तुरुन्तै अर्को प्रश्न पत्रको सेट खोलेर परीक्षा सञ्चालन गरिएकाले रद्द गर्नु जरुरी नभएको उनको तर्क छ । उक्त प्रश्न वितरण हुनुलाई कमजोरी स्विकारर्दै गौतमले समयमै थाहा पाएकाले समाधान गरिएको दावी गरे । 

'परीक्षा शुरु हुनु आधा घण्टा पहिले केन्द्र र आयोगमा सँगै प्रश्न पत्र खोलिएको थियो, पछि कापी परीक्षण गर्दा सजिलो होस् भनेर उत्तर बोल्ड गरिएको प्रश्नपत्र वितरण भएको थाहा पाउना साथ हामीले तुरुन्तै केन्द्रमा भएको मध्ये अर्को सेटबाट प्रश्न बाँड्न भनेर परीक्षा सञ्चालन गर्यौं' उनले भने 'कतिपय केन्द्रमा परीक्षार्थीको हातमा पुगिसकेको प्रश्न थुतेर नयाँ दिएर समस्या समाधान गरिएको छ ।'

तर परीक्षार्थीले भने घटनालाई आयोगको हदै सम्मको लापरवाहीको संज्ञा दिएका छन् । आयोगको लापरवाहीका कारण यस्तो अवस्था आएको भन्दै उनीहरुले आलोचना गरेका छन् ।  

५२ जिल्लाका ३ सय १ परीक्षा केन्द्र मध्ये शुक्रबारको अँग्रेजीका लागि ८२ वटा केन्द्रमा झण्डै १३ हजार परीक्षार्थी सहभागी भएको आयोगको प्रारम्भिक तथ्याङ्क छ । यी मध्ये उक्त त्रुटीका कारण करीव ३ हजार जति परीक्षार्थीलाई मात्रै प्रभाव पर्ने गौतमले दावी गरे । 

'कमजोरी त रह्यो नै तर यो प्रतिस्पर्धात्मक परीक्षा नभएका कारण त्यसको त्यति ठूलो असर हुँदैन' उनले भने, 'एक परीक्षार्थीको अर्कोसँग प्रतिस्पर्धा नहुने भएका कारण पनि परीक्षा रद्दै गर्नु पर्छ भन्ने हुँदैन ।'

 

प्रतिक्रिया