Edukhabar
मंगलबार, ११ बैशाख २०८१
खबर/फिचर

वडाध्यक्ष भए स्थायी शिक्षक, गोला थुतेर जितेका जनप्रतिनिधिको राजिनामा !

सोमबार, ०२ मंसिर २०७६

काठमाडौं - सल्यानको सिद्ध कुमाख गाउँपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष दिनेश कुमार विएमले वडाध्यक्षबाट राजिनामा दिएर स्थायी शिक्षकको नियुक्ति लिएका छन् । गत स्थानीय निर्वाचनमा प्रतिद्वन्दी संग बराबर मत ल्याएर गोला प्रथाबाट वडाध्यक्ष भएका विएम, मुस्ताङ्को दिव्य ज्ञान आधारभूत विद्यालय चुम्जुङका लागि प्राथमिक तहको स्थायी शिक्षकमा नियुक्त भएका हुन् । 

आफ्नो योग्यताले भ्याए सम्म बालबालिकाको भविष्य सुधारमा संलग्न हुने ईच्छा बमोजिम शिक्षक भएको उनले बताए । 

'म शिक्षक भए पछि सबैले अचम्म मानेका छन्, धेरैको प्रश्न किन भन्ने हुन्छ' पोखरामा रहेका विएमले टेलिफोनमा छोटो प्रतिकृया दिदैं भने,  'शिक्षक भनेको पनि समाज सुधारकै लागि त हो नी, पेशा रोज्न पाउने व्यक्तिगत अधिकार अनुसार मैले यो निर्णय गरेको हो ।'

हिउँद शुरु भएसँगै मुस्ताङ्का विद्यालयहरुलाई पोखरा आसपास घुम्ति विद्यालयका रुपमा झार्ने गरिन्छ । चुम्जुङ् क्षेत्रका ६ वटा विद्यालय गत कात्तिक १५ गते पोखरा झारिएका छन् । नियुक्ति पत्र बुझ्ना साथ आफू पनि त्यहीँ पुगेको विएमले बताए ।  

राजनीति भनेको कमाई खाने बाटो मात्रै बनाउनेहरुको संख्या बढ्दै गएको तर्फ संकेत गर्दै उनले आफ्नो उमेर र काम गर्ने समय अझै बाँकी रहेकाले एक पटक शिक्षक बनेर काम गर्न ईच्छा लागेको बताए ।

जनप्रतिनिधि हुनु अघि उनी विभिन्न सामाजिक संस्थाहरुमा आवद्ध थिए । नेपाली काँग्रेसका तर्फबाट चुनावमा उठेका विएमले तत्कालिन एमालेका देवेन्द्र रोकालाई हराएका थिए । उनीहरु दुवैले बराबर मत पाए पछि गोला प्रथाबाट अध्यक्ष चयन गरिएको थियो । उनीहरुले बराबर ३ सय २१ मत पाए पछि रोकाले गोला थुते पनि उनले हारेका थिए । 

२०६३ सालमा एसएलसी उत्तिर्ण उनी अँग्रेजीमा स्नातक हुन् । स्नातकोत्तरको पढाई शुरु गर्ने उनले बताए । उनको राजीनामा स्वीकृत भएपछि पालिकाले ज्येष्ठ वडा सदस्य मध्येबाट वीरबहादुर खड्कालाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिए । 

प्रतिक्रिया