Edukhabar
शनिबार, १५ बैशाख २०८१
अन्तैवाट

शिक्षक विरुद्ध मुद्दा दर्ता

मंगलबार, २२ पुस २०७६

काठमाडौं २२ पुस / गृहकार्य पूरा नगरेको आरोपमा विद्यार्थी कुट्ने रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ का शिक्षक शैलेन्द्र बरईविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको छ । प्रहरीका अनुसार परिवारले आइतबार दिएको जाहेरीका आधारमा पक्राउ गरेर मुद्दा चलाइएको हो ।

कान्तिपुरमा विद्यार्थी कुट्ने शिक्षकलाई मुद्दा शिर्षकमा छापिएको खबर अनुसार उनीविरुद्ध बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ २ को घ (ङ) अनुसार मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको इलाका प्रहरी मर्चवारका प्रहरी निरीक्षक पोषणराज ढकालले बताए। अनुसन्धान पूरा गरेर अदालत पेस गरिने उनले बताए। शिक्षकको कुटाइबाट गत बुधबार स्थानीय ज्ञानदीप बोर्डिङ स्कुलमा कक्षा ५ मा पढ्ने १३ वर्षीय मोहम्मद तौफिक देवान घाइते भएका थिए।

विद्यालयले उनको उपचार गरेर घटना लुकाउने प्रयास गरेको थियो। पाँच दिनपछि गत आइतबार घटना सार्वजनिक भएपछि प्रहरीले शिक्षकलाई पक्राउ गरेर कारबाही अगाडि बढाएको हो। ‘शून्य सहनशीलताका आधारमा अनुसन्धान गरेर अघि बढ्ने हो,’ प्रहरी निरीक्षक ढकालले भने, ‘बच्चालाई किन, के कारण र कुन वस्तुले कुटेको भन्ने विषयमा अनुसन्धान गर्ने हो।’

गत बुधबार कुटपिटपछि शिक्षकले नै देवानलाई भैरहवास्थित शिक्षण अस्पताल पुर्‍याएर उपचार गरेका थिए। अभिभावकले पुनः बिहीबार अस्पताल लगेका थिए। त्यसपछि आफन्तले हुलाकमार्फत ठाडो जाहेरी दिन देवान परिवारलाई सम्झाएका थिए। आइतबार प्रहरीले पीडितलाई चौकीमै बोलाएर प्रक्रियागत रूपमा जाहेरी दर्ता गराएको ढकालले बताए।

विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बरईले नसोचेको घटना भएको र यसले आफूलगायत विद्यालय परिवारलाई असर पुर्‍याएको बताए। ‘शिक्षकले गरेको गल्तीले विद्यालय प्रभावित भएको छ,’ उनले भने। प्रहरीले मागेको पीडित विद्यार्थीको स्वास्थ्य परीक्षण प्रतिवेदन उनका हजुरबुबा मोहमद हुसेनले सोमबार अस्पतालबाट ल्याएर बुझाएका छन्।

प्रतिक्रिया