Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

शिक्षकको ध्यान पढाउन छाडेर बजेट हिनामिनामा, दोहन गर्ने शिक्षक हटाउन सुझाव

शनिबार, २६ पुस २०७६

काठमाडौं २६ पुस  / सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले विद्यालयलाई पैसा कमाउने तथा राज्यकोषको दोहन गर्ने भाँडो बनाएका शिक्षक हटाउनुपर्ने बताएका छन् । राज्यकोषको दोहन गर्ने शिक्षक हटाऔं शिर्षकमा राजधानीमा प्रकाशित खबर अनुसार  शिक्षकले पढाउनेभन्दा पनि पैसा कमाउनेमा ध्यान दिएकाले उनले यस्तो बताएका हुन् ।

राज्यले जनतालाई शिक्षित बनाउन सञ्चालन गरेका विद्यालयमा पढाउनको सट्टा शिक्षकले पैसा कमाउनमा ध्यान केन्द्रित गर्दा शिक्षा क्षेत्रमा बेथिति सिर्जना भएको प्रदेश अध्यक्ष साहले आरोप लगाए ।

विद्यालय व्यवस्थापन, संरचना निर्माण, विद्यार्थीलाई सहुलियतजस्ता विभिन्न शीर्षकमा राज्यले पठाउने बजेट हिनामिनामा मात्र शिक्षकको ध्यान गएकाले त्यस्ता शिक्षकलाई बर्खास्त गर्नुको विकल्प नभएको उनले बताए ।

‘विगत लामो समयदेखि शिक्षा क्षेत्रमा ठूलो बेथितिले जरा गाडेर बसेको छ । त्यो के हो भने एकातिर विद्यालयमा गाउँका मुखिया महाजनले आफ्ना छोराछोरीलाई शिक्षकका रूपमा भर्ती गरेर राख्नु र अर्कातिर विद्यालयलाई पैसा कमाउने भाँडो बनाएर शिक्षक बन्नु,’ उनले भने, ‘यही कारण आजसम्म शैक्षिक क्षेत्रमा सुधार हुन सकेको छैन ।’

उनले मुखिया महाजनका छोराछोरीले पढाउन नजाने पनि आफूलाई शिक्षा क्षेत्रको ठेकेदारका रूपमा उभ्याएर बेथिति सिर्जना गरेको आरोप लगाए ।

प्रतिक्रिया