Edukhabar
शनिबार, १५ बैशाख २०८१
अन्तैवाट

थोरै विद्यार्थी धेरै शिक्षक : हेडसरले ताला लगाएर गए पछि विद्यार्थी छिमेकीको आँगनमा

मंगलबार, २९ पुस २०७६

काठमाडौं २९ पुस / सामुदायिक विद्यालयमा शिक्षकको संख्या विद्यार्थी भन्दा धेरै भएको खबर आउने क्रम जारी नै छ । कतिपय विद्यालयमा शिक्षक अभाव भएर विद्यार्थीले पढ्न नपाएको अवस्था भए पनि कतिपयमा शिक्षक धेरै छन् ।

समयमा सरकारले शिक्षक दरबन्दी मिलानमा ध्यान नदिदाँ यस्तो अवस्था आएको हो ।

नयाँ पत्रिकाले 'चार विद्यार्थी पढाउन  पाँच शिक्षक : कक्षा कोठामा ताला, विद्यार्थी छिमेकीको आँगनमा' शिर्षकमा सिराहाको खबर प्रकाशन गेको छ । सुरेन्द्रकुमार कामतीले लेखेको उक्त खबर अनुसार सिराहा नगरपालिका–९ गुलरियास्थित आधारभूत विद्यालयमा पाँच शिक्षकको दरबन्दी छ । तर, ती शिक्षकले पढाउने विद्यार्थी भने चारजना मात्रै छन् । सदरमुकामदेखि तीन किलोमिटर दूरीमा रहेको यो विद्यालयमा ४५ विद्यार्थी भर्ना भएको रेकर्ड छ । कक्षा एकमा १२, दुईमा ६, तीनमा पाँच, चारमा ११ र पाँचमा ११ विद्यार्थी भर्ना भएका छन् । तर, प्रधानाध्यापक र शिक्षक नियमित विद्यालय आउन छाडेपछि विद्यार्थीको उपस्थिति पनि घटेको हो । आजभोलि विद्यालयका कक्षाकोठामा अधिकांश समय ताला झुन्डिएको हुन्छ ।

बिहीबार कुनै सार्वजनिक बिदा थिएन, तर विद्यालयका सबै कक्षाकोठामा ताला लागेको थियो । विद्यालयछेवैमा रहेको दैवसुनैर ठाकुरको घरअगाडि चार विद्यार्थी पढाउँदै थिइन् शिक्षिका सावित्रा शर्मा । शर्माले कक्षा तीनका एक र पाँचका तीन विद्यार्थी एकैठाउँमा राखेर पढाउँदै थिइन् । कक्षाकोठामा ताला लागेकाले अरूको घरमा ल्याएर पढाउनुपरेको शिक्षिका शर्माले बताइन् ।

विद्यालयका प्रधानाध्यापक हुन्, श्याम यादव । उनी नआउँदा कक्षाकोठाका ताला खुल्दैनन् । कर्मचारी नभएका कारण प्रअले नै साँचो बोक्ने गरेको शिक्षिका शर्माले बताइन् । बिहीबार मात्रै होइन, शुक्रबार पनि सबै कोठामा ताला लगाइएका थिए । शुक्रबार त एउटै शिक्षक–विद्यार्थी भेटिएनन् ।

विद्यालय नआएको विषयमा जिज्ञासा राख्दा प्रअ यादवले श्रीमती बिरामी परेकाले बिदा बसेको बताए । ‘श्रीमती बिरामी भएकाले म बिदा बसेको छु । अरू शिक्षकहरूलाई टेलिफोन गरेर जानकारी दिएको थिएँ । उनीहरू किन विद्यालय गएनन्, त्यो थाहा भएन,’ प्रअ यादवले नयाँ पत्रिकासँग भने । विद्यालयमा प्रअ यादव र शिक्षिका शर्माबाहेक, शिक्षकहरू चन्देश्वर यादव, भुवनेश्वर यादव र जगदीश दास कार्यरत छन् ।

शिक्षक नआएपछि विद्यार्थीसमेत आउन छाडेको विद्यालयका दुई कोठा सडक निर्माण गर्ने ठेकेदारलाई मजदुर राख्न दिइएको छ । सघन सहरी विकास योजनाअन्तर्गत सिराहा नगरपालिका क्षेत्रमा सडक र नाला निर्माणमा खटिएका रमन कन्स्ट्रक्सन कम्पनीका ३० मजदुर त्यहाँ बस्दै आएका छन् । मजदुरले भान्सा, सुत्ने कोठाका रूपमा दुवै कोठा प्रयोग गर्दै आएका छन् । ठेकेदार कम्पनीले निर्माण सामग्री विद्यालयको चउरमा थुपारेर राखेको छ । रड, सिमेन्टजस्ता निर्माण सामग्री राख्दा विद्यालय जाने केही बालबालिका पनि जोखिममा रहेको स्थानीयको गुनासो छ । उनीहरू ६÷७ महिनादेखि बस्दै आएका छन् ।

अभिभावक भन्छन्– शिक्षक आए पो विद्यार्थी आउँछन्, नगरशिक्षा शाखा मौन !

प्रतिक्रिया