Edukhabar
शनिबार, १५ बैशाख २०८१
अन्तैवाट

स्ववियु चुनाव : क्याम्पस प्रमुखहरूद्वारा ठूला विद्यार्थी संगठनको प्रतिवद्धता र सुरक्षाको माग

मंगलबार, २९ पुस २०७६

काठमाडौं २९ पुस / त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सामुदायिक क्याम्पसमा १४ फागुनमा हुने स्वतन्त विद्यार्थी युनियन (स्ववियु) चुनावमा क्याम्पस प्रमुखहरूले ठूला विद्यार्थी संगठनको प्रतिबद्धता र सुरक्षाको माग गरेका छन् ।

नयाँ पत्रिकामा स्ववियु चुनाव गराउन क्याम्पसहरू तयार , विद्यार्थी संगठनसँग प्रतिबद्धता र राज्यसँग सुरक्षा माग शिर्षकमा भवानीश्वर गौतमले लेखेको खबर अनुसार केन्द्रीय स्ववियु निर्वाचन अनुगमन समितिले स्ववियु चुनावबारे छलफल गर्न सोमबार गरेको उपत्यकाका क्याम्पसहरूको भेलामा प्रमुखहरू स्ववियु चुनाव गराउनुपर्ने पक्षमा देखिए पनि ठूला संगठन अन्तिमसम्म तयार हुनेमा भने आशंका व्यक्त गरेका छन् । विगतका वर्षमा स्ववियु चुनावको तयारी भए पनि अन्तिममा स्थगित भएको स्मरण गर्दै उनीहरूले प्रतिबद्धता र सुरक्षित वातावरण बनाउन आग्रह गरे ।

भेलामा क्याम्पस प्रमुखहरूले नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु र कांग्रेसको विद्यार्थी संगठन नेविसंघ अन्तिमसम्ममा स्ववियु चुनावको पक्षमा उभिए मात्र सम्पन्न गर्न सकिने धारणा राखे । अन्तिमसम्म चुनाव गराउने विषयमा ठूला विद्यार्थी संगठन एकमत हुनेमा क्याम्पस प्रमुखहरूले आशंका व्यक्त गरे । नेविसंघमा केन्द्रीय कार्यसमिति नहुँदा र क्याम्पसमा समेत धेरै समूह हुँदा समस्या हुने धारणा क्याम्पस प्रमुखले राखेको छलफलमा सहभागी त्रिविका एक अधिकारीले बताए । त्यसैगरी, नेकपाको विद्यार्थी संगठन एक भए पनि तलसम्म एकीकृत नभएकाले समस्या हुने आशंकासमेत उनीहरूको थियो ।

अनेरास्ववियुको केन्द्रीय कमिटी एक भए पनि क्याम्पस कमिटी एकीकृत भइसकेका छैनन् । भेलामा स्ववियु चुनाव गराउन त्रिविले क्याम्पस प्रमुखहरूलाई पत्रसमेत दिएको छ । अघिल्लो वर्ष कार्यतालिका सार्वजनिक गरेर मिति नजिकै आउँदा चुनाव स्थगित भएकाले त्यस्तो अवस्था आउन नदिन क्याम्पस प्रमुखहरूले ध्यानाकर्षण गराएका छन् । स्नातकोत्तर प्रथम सेमेस्टरमा भर्ना प्रक्रिया चलिरहेकाले त्यसलाई ख्याल गरेर मात्र तालिका ल्याउनसमेत उनीहरूको सुझाब छ ।

विद्यार्थी कल्याण निर्देशनालयका प्रमुख गंगा थापाले स्ववियु चुनाव गराउन क्याम्पस प्रमुखहरू तयार रहेको बताए । क्याम्पस प्रमुखहरूबाट केही सुझाब लिएको र अब विद्यार्थी संगठनसँग बसेर अघि बढ्ने उनले बताए ।

त्रिवि परिसर कीर्तिपुरमा भएको भेलामा उपत्यकाका १४ ठूला क्याम्पसका प्रमुखको उपस्थिति थियो । क्याम्पस प्रमुखहरूले स्ववियु चुनाव भएमा आफूहरूलाई नै धेरै सहज हुने बताएका छन् ।

स्नातकोत्तर प्रथम वर्षको भर्ना प्रक्रिया चलिरहेकाले १ फागुनबाट चुनावको कार्यतालिका ल्याउन प्रमुखहरूले सुझाब दिएका थिए । उनीहरूले स्नातक तहमा शिक्षा, व्यवस्थापन र मानविकी संकायमा भर्नाका लागि निश्चित समय दिन पनि सुझाब दिएका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघका कारण स्ववियु चुनावमा कुनै असर नपर्ने बताएका छन् ।

अनेरास्ववियुले १४ फागुनमा स्ववियु चुनाव गर्ने त्रिविको निर्णयलाई स्वागत गर्दै कार्यकर्तालाई चुनावमा लाग्न निर्देशन दिएको छ । अनेरास्ववियुका अध्यक्ष ऐन महरले एकताको प्रथम पूर्ण बैठकले कार्यकर्तालाई त्रिविको स्ववियु चुनावमा लाग्न निर्देशन दिने र अन्य विश्वविद्यालयमा समेत १४ फागुनमा चुनाव गर्न माग गर्ने निर्णय गरेको बताए ।

प्रतिक्रिया