Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

मेयरसँग विद्यार्थीको गुनासो

शुक्रबार, १० माघ २०७६

काठमाडौं १० माघ / काभ्रे, धुलिखेलस्थित सञ्जीवनी नमुना माध्यमिक विद्यालयमा बालबालिकाले नगरप्रमुखसँग प्रश्न गर्ने कार्यक्रम चलिरहेको थियो । नगरपालिका आफैंले आयोजना गरेको ‘मेयरसँग विद्यार्थी’ कार्यक्रममा सहभागी उक्त विद्यालयको बाल क्लबकी अध्यक्ष प्रशंसा श्रेष्ठले प्रश्न गरिन्, ‘नगरका सबै विद्यालय बालमैत्री छन् त मेयर सा’प ? बालमैत्री बनाउन तपाईंका योजना के–के छन् ?’ 

कान्तिपुरमा विद्यार्थीको गुनासो - ‘सार्वजनिक बसले चढाउनै मान्दैनन्’ शिर्षकमा नगेन्द्र अधिकारीले लेखेको खबर अनुसार जवाफमा नगरप्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले सन् २०२० भित्र नगरलाई बालमैत्री घोषणा गर्ने योजना रहेको जानकारी दिए । ‘बालमैत्री घोषणा हुन ३९ वटा सूचक पूरा गर्नुपर्छ, १० नं वडा घोषणा भइसकेको छ, फागुन ५ गते ५ वटा वडा घोषणा गर्ने तयारी छ,’ नगरप्रमुख व्याञ्जुले भने, ‘विद्यालयलगायत सबै संरचना बालमैत्री हुन्छन्, तपाईंहरूको अपेक्षा पूरा हुन्छ ।’

बालबालिकासँग सरोकार राख्ने नीति, योजना, कार्यक्रम, बजेटबाट जानकारी दिने र आगामी दिनका लागि सुझाव लिने उद्देश्यले आयोजित अन्तरक्रियामा बालबालिकाले आफ्ना समस्या र जिज्ञासा खुलेरै राखे । कक्षा ८ मा अध्ययनरत कृपा राउतले विद्यालय बसको व्यवस्था नहुँदा टाढाबाट आउने विद्यार्थीको पहिलो कक्षा छुट्ने गरेको बताइन् । ‘म दैनिक बनेपाबाट आउँछु, विद्यार्थी भनेपछि सार्वजनिक बसले चढाउनै मान्दैनन्,’ कृपाले गुनासो गरिन्, ‘टाढाटाढाबाट आउने विद्यार्थी साथी हुनुहुन्छ, स्कुलको बस नहुँदा समस्या भइरहेको छ ।’ प्रधानाध्यापक लोकेन्द्र ढकालका अनुसार, बनेपा आसपासका क्षेत्रबाट दैनिक दुई सय विद्यार्थी पढ्न धुलिखेल आउँछन् ।

दैनिक २ घण्टा हिँडेर विद्यालय आउने विद्यार्थी पनि छन् । गुनासो सुनेपछि प्रमुख व्याञ्जुले विद्यालय बससेवा छिट्टै उपलब्ध गराउने प्रतिबद्धता जनाए । विद्यार्थीहरूले नगरपालिकाले बनाएको प्रश्नपत्रको गुणस्तर नभएको, त्रुटि भेटिएको, संगीत र नृत्य सिक्न चाहे पनि व्यवस्था नभएको, खेलमैदान, खेल प्रशिक्षण अभाव भएको गुनासो गरेका थिए । छात्रा रिया फुँयालले सामुदायिक विद्यालयको लागि कति बजेट छुट्याउनुभएको छ भन्दै प्रश्न गरिन् । कक्षा ८ की सुशीला हुमागाईंले छात्रवृत्तिको व्यवस्थाबारे जिज्ञासा राखिन् । नगरप्रमुख व्याञ्जुले विद्यार्थीका चाहना, समस्या उनीहरूबाटै सुनौं भनेर कार्यक्रम सुरुवात गरेको जानकारी दिँदै सबै विद्यालयमा कार्यक्रम विस्तार गरिने बताए ।

‘शिक्षक, अभिभावक, सरोकारवाला विज्ञको कुरामात्रै सुनिने तर विद्यार्थीको समस्या सुनिने गरेको थिएन,’ व्याञ्जुले भने, ‘शिक्षा क्षेत्रमा १७ करोड लगानी भएकाले नगरपालिकाले नयाँ–नयाँ कार्यक्रम ल्याउनेछ ।’

प्रतिक्रिया