Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

कबुलियतनामा गराएर बढी शुल्क

विहीबार, १६ माघ २०७६

काठमाडौं १६ माघ / काठमाडौँ सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले एमबीबीएसमा भर्ना हुन लागेका विद्यार्थीबाट कबुलियतनामा गराएर चार लाख १५ हजार रुपैयाँ बढी शुल्क उठाउन थालेको छ ।

अतिरिक्त शुल्क उठाउँदै केएमसी शिर्षकमा सुदीप कैनीले लेखेको खबर अनुसार पढाइ सुरु नहुँदै केएमसीले सरकारले तोकेको भन्दा बढी शुल्क असुलेको हो ।

केएमसीकी प्रिन्सिपल चन्दा कार्कीको सक्रियतामा व्यवस्थापन पक्षले पठनपाठन सुरु हुनुभन्दा पहिल्यै बढी रकम उठाउन थालेको अभिभावकले गुनासो गरेका छन् । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले गराएको कबुलियतनामामा इन्टर्नसिप शुल्कबापत दुई लाख, धरौटीबापत दुई लाख, विश्वविद्यालय दर्ता शुल्कका लागि १५ हजार र नेपाल मेडिकल काउन्सिल दर्ता शुल्क पाँच हजार लिने उल्लेख छ । कलेजले तोकेको शुल्क समयमा भुक्तानी नगरे विद्यार्थीको अध्ययन र परीक्षामा पर्न जाने अवरोधलगायत कारबाही भोग्नसमेत अभिभावकलाई मञ्जुर गराइएको छ । चिकित्सा शिक्षा आयोगका अनुसार काउन्सिल दर्ता शुल्कबाहेक अन्य शुल्क लिन पाइँदैन ।

आयोगले उपत्यकाभित्र एमबीबीएसमा प्रतिविद्यार्थी ४० लाख २३ हजार शिक्षण शुल्क तोकेको छ । ‘मेडिकल कलेजले बढी रकम माग्न थाले भन्ने गुनासो हामी कहाँ पनि आइपुगेको छ,’ आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले भने, ‘आयोगको बैठक डाकेर कलेजलाई थप रकम नमाग्न र अभिभावकलाई नतिर्न अपिल गरेका छौं ।’ आयोगले कुनै पनि मेडिकल कलेजलाई इन्टर्नसिप शुल्क लिन सहमति नदिएको उनले जनाए । ‘धरौटी लिने कुरामा सम्बन्धित विश्वविद्यालयले पनि विचार गर्नुपर्छ, शिक्षण शुल्कभित्रै विश्वविद्यालय शुल्क लिनुपर्छ छुट्टै लिन पाइँदैन ।’

‘कबुलियतनामामा सहिछाप नगरेसम्म छोराछोरी भर्ना नै नलिने बताएपछि बाध्य भएर हस्ताक्षर गरेँ,’ एक अभिभावकले भने । प्रवेश परीक्षा उत्तीर्ण गरेर विश्वविद्यालयको काउन्सिलिङपछि कलेजको सम्पर्कमा आएका विद्यार्थीका अभिभावकसँग कबुलियतनामा गराइएको हो । आयोगले तोकेअनुसार शिक्षण शुल्कको पहिलो किस्ताबापत १३ लाख ४१ हजार विश्वविद्यालयको खातामा जम्मा गरेर उनीहरू कलेजको सम्पर्कमा पुगेका हुन् । कलेजले तोकेको रकम नतिरे भर्ना प्रक्रिया अघि नबढ्ने कलेजका कर्मचारीहरूले बताउने गरेको विद्यार्थीले सुनाए ।

केएमसीले चालु शैक्षिक सत्रमा एमबीबीएसका लागि एक सय जनाको कोटा पाएको छ । प्रतिविद्यार्थी चार लाख १५ हजारका दरले अतिरिक्त रकम उठाउँदा कलेजले एकै ब्याचबाट चार करोड १५ लाख अतिरिक्त कमाइ गर्छ । शिक्षा मन्त्रालयको नि:शुल्क छात्रवृत्ति कोटामा छानिएका विद्यार्थीबाट समेत कलेजले चार लाख १५ हजारको दरले रकम लिने तयारी गरेको छ । छात्राबास र खाना खर्चको शुल्क कलेजले आफैं निर्धारण गर्छ । कबुलियतनामामा लेखिएको छ, ‘काठमाडौं विश्वविद्यालयको नियमाअनुसार अनिवार्य रूपमा गर्नुपर्ने इन्टर्नसिप तालिम अवधिमा स्टाइपेन्ड भुक्तानी गर्नुपर्ने भएकाले चिकित्सा शिक्षा आयोगको सहमतिपश्चात् इन्टर्नसिप शुल्क चार लाख र कलेजमा अध्ययन गर्दा अनिवार्य रूपमा धरौटी रकम जम्मा गर्नुपर्ने सर्वमान्य सिद्धान्तअनुसार दुई लाख गरी जम्मा चार लाखसमेत दाखिला गरी यो कबुलियतनामा गरेको छु ।’ अर्को बुँदामा मेडिकल काउन्सिल शुल्क र विश्वविद्यालय शुल्क उल्लेख गरिएको छ । कबुलियतनामामा अभिभावक र विद्यार्थी दुवैको हस्ताक्षर गराइएको छ । यस विषयमा सोध्दा केएमसीकी प्रिन्सिपल कार्कीले टेलिफोनमा बोल्ने फुर्सद नभएको प्रतिक्रिया दिइन् ।

स्रोतका अनुसार काठमाडौं विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएका मेडिकल कलेजहरूले एकै प्रकृतिको कबुलियतनामा बनाएर रकम उठाउने उपाय रचेका हुन् । गत वर्ष कलेजहरूले समयमा शुल्क भुक्तानी नगर्ने विद्यार्थीसँग ब्याजसहित रकम उठाएका थिए । केयूमा एमबीबीएस अध्ययरत एक विद्यार्थीले अन्य मेडिकल कलेजले पनि बढी रकम लिन अभिभावकसँग मोलमोलाइ गरेको जानकारी पाएको बताए । ‘पढ्न नथाल्दै शुल्क फिर्ताको आन्दोलन गर्नुपर्ने बेला आएको छ,’ उनले भने । यस विषयमा आयोगमा उजुरी दिइसकेको पनि उनले जनाए ।

केयूको स्कुल अफ मेडिकल साइन्सेज एमबीबीएस र बीडीएस भर्ना हुँदा बढी शुल्क बुझाउने अभिभावक र विद्यार्थी स्वयं जिम्मेवार हुने भन्दै जिम्मेवारीबाट पन्छिएको छ । अभिभावकका अनुसार विश्वविद्यालयको काउन्सिलिङमा बोलाएर डिन कार्यालयले मन्जुरी गराएपछि कलेजमा बढी शुल्कका लागि कबुलियतनामा गराइएको हो । विश्वविद्यालयका पदाधिकारी, डिन कार्यालय र मेडिकल कलेज सञ्चालककै मिलेमतोमा बढी रकम उठाउन थालिएको विद्यार्थीहरू बताउँछन् । गत वर्ष अतिरिक्त रकम लिने कलेजलाई केयूका पदाधिकारीले संरक्षण गरेका थिए । उनीहरूलाई प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कारबाहीको सिफारिससमेत गरेको छ ।

प्रतिक्रिया