Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
अन्तैवाट

सरकारले तोकेभन्दा बढी शुल्क

शुक्रबार, १७ माघ २०७६

काठमाडौं १७ माघ / विराटनगरको नोबेल मेडिकल कलेजले एमबीबीएसमा भर्ना हुन आएका विद्यार्थीका लागि सरकारले तोकेभन्दा २९ लाख १४ हजार रुपैयाँ बढी शुल्क निर्धारण गरेको छ । कान्तिपुरमा सुदीप कैनीले नोबेल मेडिकल कलेजमा २९ लाख बढी शुल्क शिर्षकमा लेखेको खबर अनुसार सरकारले तोकेको पहिलो किस्ताको रकम विश्वविद्यालयको खातामा जम्मा गरेर कलेजको सम्पर्कमा पुगेका विद्यार्थी र अभिभावकसँग कलेजले बढी रकम मागेको हो । 

नोबेलले एमबीबीएसमा एक सय सिट पाएको छ । विद्यार्थीसँग २९ लाख १४ हजारका दरले शुल्क उठाउँदा उसले २९ करोड रुपैयाँभन्दा बढी अतिरिक्त कमाइ गर्छ । नोबेल कलेज प्रशासनले इन्टर्नसिप शुल्कबापत ४ लाख ४० हजार मागेको छ । ९ वटा सेमेस्टरको आन्तरिक परीक्षाका लागि ९५ हजारका दरले रकम मागिएको छ । विश्वविद्यालय परीक्षाबापत ९५ हजारका दरले छुट्टै शुल्क लिन खोजिएको छ । यस्तो परीक्षा चारपटक हुने गर्छ ।

कलेजले साढे ५ वर्षको होस्टल शुल्क पनि भर्नाअगावै माग गरेको छ । मञ्जुरीनामामा होस्टलका लागि ७ लाख ३९ हजार ६ सय ५३ रुपैयाँ अग्रिम दिनुपर्ने उल्लेख छ । एमबीबीएस अध्ययन गर्दा होस्टल अनिवार्य बस्नु पर्दैन । नोबेलले होस्टल अनिवार्य गरेर ५ वर्षसम्मको शुल्क अग्रिम लिन लागेको हो । एक अभिभावकका अनुसार होस्टलमा एउटा कोठामा दुई जना विद्यार्थी राखिन्छ । खाटबाहेक पर्दा, कार्पेट विद्यार्थीले आफैं किन्नुपर्छ । पहिलो वर्षका लागि १ लाख २० हजार, दोस्रो वर्षका लागि १ लाख २६ हजार, तेस्रो, चौथो र पाँचौं वर्षका लागि होस्टल शुल्क क्रमश: १ लाख ३१ हजार, एक लाख ३८ हजार र एक लाख ४५ हजार अहिल्यै मागिएको हो । विद्युत् महसुल विद्यार्थी आफैंले तिर्नुपर्ने सर्त कलेज प्रशासनले राखेको छ ।

नोबेलमा शिक्षा कर, विश्वविद्यालय, मेडिकल काउन्सिल दर्ता शुल्क छुट्टै तिर्नुपर्ने भनिएको छ । ‘अरू कलेजले ४ देखि ६ लाखसम्म अतिरिक्त रकम मागे भनेको सुनिएको थियो, नोबेलमा त तोकिएको भन्दा २९ लाख बढी तिर्न पहिल्यै मञ्जुर गराएर मात्र भर्ना गरिदो रहेछ,’ छोरा भर्ना गराउन विराटनगर पुगेकी एक अभिभावकले भनिन् ।

चिकित्सा शिक्षा आयोगका अनुसार होस्टल शुल्कबाहेक कलेजले अन्य रकम लिन मिल्दैन । आयोगले तोकेको काठमाडौं उपत्यकाबाहिर एमबीबीएस पढ्न लाग्ने शुल्क ४४ लाख ३६ हजार रुपैयाँ तोकेको छ । कलेजले आइतबार विद्यार्थी र अभिभावकलाई काउन्सिलिङमा बोलाएको छ । ‘चिकित्सा शिक्षा आयोगले भनेअनुसार पहिलो किस्ताको १४ लाख ७८ हजार काठमाडौं विश्वविद्यालयको खातामा जम्मा गरेपछि कलेजको सम्पर्कमा आएका थियौं,’ एक अभिभावकले भने, ‘बढी पैसा मागेपछि छोराछोरी भर्ना गर्ने कि नगर्ने भनेर अन्योलमा परेका छौं ।’

विद्यार्थी र अभिभावकले बढी रकम नतिर्ने विकल्पमा छलफल गरिरहेका छन् । ‘विश्वविद्यालयले काउन्सिलिङमा बढी पैसा नतिर्ने भनेर कागज गराइसकेको छ,’ एक छात्रले भने, ‘बिल भरपाइ वा कुनै कागज नगराई बढी पैसा नदिने सल्लाह भएको छ ।’ बढी लिने रकमको बिल भरपाइ माग्दा कलेज प्रशासनका कर्मचारीले दिन नमानेको उनले जनाए ।

नोबेल मेडिकल कलेजले अघिल्ला ४ वर्षमा अतिरिक्त ३५ करोड ४७ लाख रुपैयाँ उठाएको राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनबाट खुलेको थियो । गत वर्ष शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बढी रकम फिर्ता गर्न निर्देशन दिँदा कलेजका सञ्चालक सुनील शर्माले शुल्क फिर्ता गराउनुपरे शिक्षामन्त्रीलाई पदबाटै हटाइदिने चेतावनी दिएका थिए । शर्मा निजी मेडिकल एसोसिएसनका महासचिवसमेत हुन् । कान्तिपुरले अतिरिक्त शुल्कका विषयमा टेलिफोन गर्न खोज्दा उनी सम्पर्कमा आएनन् ।

प्रतिक्रिया