Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

पाठ्यक्रम परिवर्तन भए पछि शिक्षकद्वारा देशव्यापी आन्दोलनको चेतावनी

शनिबार, १८ माघ २०७६

काठमाडौं १८ माघ / कक्षा ११ र १२ को जीवविज्ञान समूहमा गणित विषय नरहनेगरी पाठ्यक्रम परिवर्तन भएपछि सम्बन्धित विषयका शिक्षकले देशव्यापी आन्दोलनको चेतावनी दिएका छन्। जीवविज्ञानबाट गणित हटाएपछि शिक्षक आन्दोलित शिर्षकमा नागरिकमा रुबी रौनियारले लेखेको खबर अनुसार पाठ्यक्रम विकास केन्द्र सानोठिमीले नयाँ शैक्षिक सत्रदेखि कार्यान्वयन हुनेगरी तयार पारेको राष्ट्रिय पाठ्यक्रम जीवविज्ञान समूहका विद्यार्थीले गणित विषय अध्ययन गर्नुनपर्ने गरी तयार पारिएको छ। प्रारुप सरकारले स्वीकृत गरिसकेको छ।

शिक्षामन्त्रीस्तरीय बैठकबाट भदौ २० गते पारित गरिएको प्रारुपमा कक्षा ११ बाटै जीवविज्ञान अध्ययन गर्ने विद्यार्थीलाई गणित विषय अनिवार्य छैन। पुरानो पाठ्यक्रमअनुसार जीवविज्ञानका विद्यार्थीले कक्षा ११ मा गणित विषय अनिवार्य अध्ययन गर्नुपथ्र्यो।

नेपाल गणित समाज, त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभाग, त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, उमन अफ नेपाल इन म्याथेमेटिक्स साइन्स तथा स्कुल स्ट्रक्चर संघले संयुक्त विज्ञप्ति प्रकाशन गरी सरकारले जीवविज्ञान समूहबाट गणित विषय हटाए स्कुलकलेज ठप्प पारेर आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

नयाँ पाठ्यक्रम प्रारुपअनुसार कक्षा ११ र १२ मा जीवविज्ञानका विद्यार्थीले गणित अनिवार्य विषयका रुपमा अध्ययन गर्न पाउनेछैनन्। प्रारुपमा गणितलाई ‘ननक्रेडिट’ (लब्धांकपत्रमा अंक नजोडिने गरी) विषयका रुपमा राखिएको छ। नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ र १२ मा चार समूह कायम गरिएको छ, जसमा भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान र गणित रहेका छन। ११ र १२ कक्षामा विद्यार्थीले कुल ६ विषय अध्ययन गर्नुपर्ने छ, जसमा तीन अनिवार्य र तीन ऐच्छिक विषय छन्। नयाँ पाठ्यक्रम संरचना अनुसार कक्षा ११ र १२ दुवैमा जीवविज्ञान समूहका विद्यार्थीले अंग्रेजी, नेपाली र सामाजिक विषय अनिवार्य अध्ययन गर्नुपर्ने छ भने ऐच्छिक विषयमा जीवविज्ञान, भौतिकशास्त्र र रशासयनशास्त्र पढ्नुपर्छ। विद्यार्थीले चाहेमा गणित अध्ययन गर्न सक्छ तर त्यो ननक्रेडिट हुने केन्द्रले जनाएको छ।

नेपाल गणित समाजका सभापति चेतराज भट्टले नयाँ प्रारुपमा गणित तथा विज्ञानका विद्या ओझेलमा पारेकोमा आक्रोश व्यक्त गरे। उनले कक्षा ११ बाट गणित हटाउने खेल मान्य नहुने चेतावनी दिए। ‘दातृ निकायले दिएको अनुदान हात पार्न उत्तीर्ण प्रतिशत बढाउन गणितलाई कक्षा ११ बाटै हटाउनु गलत विषय हो,’ भट्टले भने, ‘गणितबिना विज्ञान अधुरो शिक्षा हुन्छ।’

पाठ्यक्रम विकास केन्द्र गणित विषय समिति अध्यक्ष प्राडा राममान श्रेष्ठले आफूसँग सल्लाह नै नगरी प्रारुप तयार पारेको बताए। उनले भने, ‘मैले प्रारुपबारे आइतबारमात्रै थाह पाएँ। मसँग कुनै छलफल नै नगरी कक्षा ११ मा विज्ञान समूहबाटै गणित हटाएछन्। गणित नपढी विज्ञान समूह अधुरो हुन्छ।’

त्रिवि गणित केन्द्रीय विभागका प्रमुख प्राडा टंकनाथ धमलाले विज्ञान पढ्ने विद्यार्थीका लागि गणित विषय अनिवार्य र अन्य विषय ऐच्छिक बनाउनुपर्नेमा जोड दिए। ‘केही सरकारी हाकिमले स्कुलमा गणित विषयमा विद्यार्थी फेल भएकै तथ्यांक देखाएर कक्षा ११ र १२ बाट गणित हटाइनु गलत हो,’ धमलाले भने, ‘सरकारले निर्णय तत्काल सच्चाएर कक्षा ११ मा गणित विषय नराखे त्रिवि गणित विभाग चुप लागेर बस्दैन। हामी पनि आन्दोलनमा उत्रिनेछौं।’

नेपाल गणित समाजका सहसचिव डा. जीवन काफलेले जीवविज्ञानका विद्यार्थीलाई गणित अध्ययनबाट वञ्चित गर्नु भनेको विज्ञानतर्फ कमजोर जनशक्ति उत्पादन गर्नु भएको बताए।

पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकृत गणेश भट्टराईले जीवविज्ञान समूहका विद्यार्थीले कक्षा ११ मा गणित विषय अनिवार्य विषयका रुपमा अध्ययन गर्न नपाउने स्पष्ट पारे। ‘स्वीकृत पठ्यक्रममा जीवविज्ञानका विद्यार्थीका लागि नेपाली, अंग्रेजी र सामाजिक अनिवार्य छन्। ऐच्छिकमा जीवविज्ञान, भौतिकशास्त्र र रसायनशास्त्र अध्ययन गर्नै पर्छ,’ भट्टराईले भने, ‘ऐच्छिक विषयमै थप गणित पनि पढ्न पाइन्छ। तर त्यो कोर्समा जोडिने छैन।’ प्रारुप पारित भए पनि पाठ्यक्रम स्वीकृत हुन बाकी रहेको जनाउँदै उनले सुझाव अनुसार सुधार्दै अघि बढ्ने बताए।

प्रतिक्रिया