Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

अभिभावक भन्छन् बढी शुल्क तिर्दैनौं

सोमबार, २० माघ २०७६

काठमाडौं २० माघ / विराटनगरस्थित नोबेल मेडिकल कलेजमा बढी शुल्क तिरेर विद्यार्थी भर्ना नगर्ने घोषणा अभिभावकले गरेका छन् । कान्तिपुरमा नोबेललाई बढी शुल्क तिर्दैनौं : अभिभावक शिर्षकमा सुदीप कैनीले लेखेको खबर अनुसार ४० अभिभावकले आइतबार संयुक्त वक्तव्य निकालेर अतिरिक्त शुल्क नतिर्ने घोषणा गरेका हुन् ।

एमबीबीएस अध्ययनका लागि कलेजले एकमुष्ट होस्टल शुल्कसहित २९ लाख १४ हजारभन्दा बढी शुल्क मागेको छ । ५ वर्षको होस्टल शुल्कबापत अग्रिम ७ लाख ३९ हजार मागिएको अभिभावकले जनाएका छन् । बढी शुल्क मागिएको विरोधमा उनीहरूले विराटनगरमा दबाबमूलक कार्यक्रम सुरु गर्दै प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई भेटेर कलेज सञ्चालक सुनील शर्मालाई कारबाहीको माग गरेका छन् ।

नोबेलले एमबीबीएसको सय सिटमा विद्यार्थीलाई अनिवार्य होस्टल राख्ने र अध्ययन अवधिभरको होस्टल शुल्क अग्रिम एकमुष्ट लिने जनाएको छ । इन्टर्नसिपका विद्यार्थीलाई पारिश्रमिक दिनुको सट्टा भर्नाको अवधिमा ४ लाख ४० हजार गैरकानुनी शुल्क मागिएकामा पनि अभिभावक असन्तुष्ट छन् । ‘हाम्रा मागबारे आयोग, काठमाडौं विश्वविद्यालय, अख्तियार र जिल्ला प्रशासनलाई जानकारी गराएका छौं,’ एक अभिभावकले कान्तिपुरसँग भने, ‘चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कमै विद्यार्थीलेपढ्न पाउनुपर्छ ।’

आयोगले काठमाडौं उपत्यकाबाहिर एमबीबीएस गर्न ४४ लाख ३६ हजार शुल्क तोकेको छ । योभन्दा बढी तिर्नुपरे विद्यार्थी नपढाउने अडान अभिभावकले लिएका हुन् । शैक्षिक सत्रको सुरुमै काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिएका केही निजी मेडिकल कलेजले बढी शुल्क लिन अभिभावकसँग मोलमोलाइ गरिरहेका छन् ।

नोबेलका सञ्चालक शर्माले भने बढी शुल्क लिएरै छाड्ने बताएका छन् । ‘सरकारले तोकेको शिक्षण शुल्क हो, अन्य शुल्क नलिए मेडिकल कलेज चल्दैन,’ अभिभावकसँगको भेटमा उनले भनेको उद्धृत गर्दै एक सहभागीले भने, ‘४४ लाखमा म विद्यार्थी भर्ना गर्न सक्दिनँ ।’ कांग्रेस नेतासमेत रहेका शर्माले राजनीतिक पहुँचका आधारमा विद्यार्थी र बढी शुल्क तिर्न धम्की र दबाब दिने गरेको अभिभावकको आरोप छ ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन राजेन्द्र कोजुले कुनै पनिकलेजले आयोगले तोकेभन्दा बढी लिन नपाउने प्रस्ट्याए । होस्टल र खाना शुल्कबाहेक थप लिन नपाइने उनको भनाइ छ । ‘कलेजले बढी मागेका विषयमा चिकित्सा शिक्षा आयोगसँग पनि कुरा भएको छ, अभिभावकलाई बढी नतिर्न अपिल गरेका छौं,’ उनले भने, ‘कलेजले पनि आयोगले तोकेभन्दा बढी नदिए भर्ना गर्दिन, पढाउँदिन भन्न पाउँदैन ।’

आयोगले शुल्क कार्यान्वयन गराउन विश्वविद्यालयलाई आइतबार पुनः सचेत गराएको छ । विज्ञप्ति जारी गर्दै एमबीबीएस र बीडीएसको शुल्क कार्यान्वयन कडाइपूर्वक गर्नू भनेको हो । निर्देशनको अवज्ञा गरे विश्वविद्यालय र मेडिकल कलेजलाई कारबाही हुने आयोगका सदस्यसचिव हरिप्रसाद लम्सालले बताए । आयोगले अटेर गर्ने कलेजको सिट संख्या घटाउन र सम्बन्धनसमेत खारेज गर्न सक्छ । ‘तोकेभन्दा एक रुपैयाँ पनि दायाँबायाँ गर्न मिल्दैन, अटेर गर्छन् भने ऐन आकर्षित हुन्छ, निर्देशनको अवज्ञा गर्नेलाई कारबाही गर्छौं,’ उनले भने ।

जिल्ला प्रशासन कार्यालय मोरङले अभिभावकको उजुरीलगत्तै बढी शुल्क माग्नुको कारण २४ घण्टाभित्र पेस गर्न नोबेल मेडिकल कलेजलाई ताकेता गरेको छ । स्रोतका अनुसार उक्त कलेजले मञ्जुरीबिना केही अभिभावकसँग बढी रकम लिन जबरजस्ती कबुलियतनामा गरिसकेको छ । कान्तिपुरलाई प्राप्त कबुलियतनामा २९ लाखभन्दा बढी अतिरिक्त रकम नतिरे विद्यार्थीको परीक्षा र पठनपाठन रोकिने उल्लेख छ । कलेजले गत वर्ष पनि विद्यार्थी र अभिभावकबाट ३५ करोड रुपैयाँ बढी शुल्क लिएको थियो । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनमा उक्त रकम ठगी गरेको भेटिएको हो । विश्वविद्यालयले सञ्चालन गरेको प्रवेश परीक्षा उत्तीर्ण गरी मेरिटका आधारमा भर्ना हुन गएका विद्यार्थीसँग बढी रकम मागिएको हो । आयोगको नियमअनुसार अभिभावकले पहिलो किस्ताको १४ लाख ७८ हजार रुपैयाँ विश्वविद्यालयको बैंक खातामा जम्मा गरिसकेका छन् । त्यसपछि दोस्रो वर्षसम्म कलेजलाई कुनै पनि शुल्क तिर्नु पर्दैन ।

प्रतिक्रिया