Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

कतै टहरा त कतै जीर्ण भवनमा पढ्न बाध्य !

मंगलबार, २१ माघ २०७६

काठमाडौं २१ माघ / काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदा क्षेत्रमा सञ्चालित विद्यालय पुनर्निर्माणमा विवाद हुँदा चार वर्षदेखि टहरामै पठनपाठन भइरहेको छ । नयाँ पत्रिकामा विश्व सम्पदा क्षेत्रका विद्यालय पुनर्निर्माणमा विवाद स् चार वर्षदेखि टहरामै पठनपाठन शिर्षकमा भवानीश्वर गौतमले लेखेको खबर अनुसार थोरै विद्यार्थी भएका अन्य क्षेत्रका विद्यालयसमेत पुनर्निर्माण भइसक्दा हजारौँ विद्यार्थी अध्ययनरत भक्तपुर, काठमाडौं दरबार क्षेत्रका बालबालिका भने कतै टहरा त कतै जीर्ण भवनमा पढ्न बाध्य छन् । 

विश्व सम्पदा क्षेत्रमा परेको भक्तपुर दरबार क्षेत्रमा तीन माध्यमिक विद्यालय सञ्चालनमा छन् । दरबार क्षेत्रमा सञ्चालित एउटै विद्यालयमा एक हजार ६ सयसम्म विद्यार्थी अध्ययनरत छन् । तर, पुरातात्विक क्षेत्र भएकाले फलामेरड र सिमेन्ट प्रयोग गरेर (आरसिसी) भवन बनाउन नदिएपछि विद्यार्थी पीडामा परेका हुन् । पुरातत्व विभाग तथा भक्तपुर नगरपालिकाले सुर्की प्रयोग गरेर मात्र विद्यालय भवन बनाउने भए अनुमति दिने तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुरक्षाका हिसाबले रड र सिमेन्ट नै प्रयोग गर्ने अडानले विद्यालय भवन निर्माण रोकिएको हो । 

भक्तपुर दरबार क्षेत्रमा सञ्चालित पद्म माध्यमिक विद्यालयका प्रधानाध्यापक राम हाडाले राम्रो भवन नहुँदा विद्यार्थीले चार वर्ष टहरामै बिताएको बताए । करिब १६ सय विद्यार्थी रहेको यो विद्यालय पुरातात्विक  क्षेत्रमा भएकाले कस्तो बनाउने भन्ने विवाद रहेको उनको भनाइ छ । उनले भने, ‘भवन निर्माणका विषयमा धेरैपटक छलफल भयो, अब बन्छ कि भन्ने आशा छ, आधिकारिक चिठी नआएसम्म भन्न सकिँदैन ।’ विद्यालय परिसरको पछाडिपट्टि नयाँ भवन बनाउने र अगाडि पहिलेको जस्तै बनाउने गरी सहमति भएको उनले बताए । यो २००७ सालअघि नै स्थापना भएको विद्यालय हो । 

भक्तपुर दरबार क्षेत्रमै रहेको शारदा र विद्यार्थी निकेतन माध्यमिक विद्यालयमा पनि यस्तै समस्या छ । भूकम्प जानुअघि विद्यार्थी निकेतन माविले नयाँ भवन बनाएकाले कम समस्या भए पनि शारदा माविका विद्यार्थी भने टहरामै छन् । मध्यपुरथिमि नगरपालिकास्थित लामकु दरबारमा रहेको आदर्श आजाद मावि पनि पुरातात्विक  सम्पदाभित्र रहेका कारण पुनर्निर्माण हुन सकेको छैन ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) भक्तपुरका इन्जिनियर अजयकुमार साहले पुरातात्विक सम्पदाभित्र पर्ने भएकाले पुनर्निर्माण गर्न नदिएको बताए । सुर्की प्रयोग गरेर मात्रै विद्यालय भवन पुनर्निर्माण गर्ने भने पनि बनाउन नसकेको इन्जिनियर साहको भनाइ छ । भूकम्प गएपछि ‘रेड स्टिकर’ लगाएको भवनमै बसेर विद्यार्थी अध्ययन गरिरहेको उनले बताए । साहले भक्तपुरमा ८० विद्यालय बन्न नसक्ने अवस्थामा रहेको बताए । कतै थोरै जग्गा, कतै विद्यार्थी न्यून रहेका कारण विद्यालय पुनर्निर्माण हुन सक्ने अवस्था नरहेको उनले बताए । 

काठमाडौंको वसन्तपुर दरबार क्षेत्रभित्र पनि तीन विद्यालय सञ्चालनमा छन् । यहाँ नव आदर्श मावि, कान्ति ईश्वरी मावि र कन्या मावि सञ्चालनमा छन् । जिल्ला आयोजना कार्यान्वयन इकाइ –शिक्षा शाखा) काठमाडौंका प्रमुख अर्जुन रायमाझीले दरबार क्षेत्रमा विद्यालय पुनर्निर्माण नहुने बताए । उनले भने, ‘काठमाडौं महानगरपालिकाले सम्पदालाई खुला बनाउने योजना बनाएको छ, सम्पदामा रहेका विद्यालय व्यवस्थापन गरेर बगैँचा बनाउने भएको छ ।’ सम्पदाभित्र र केही एकदमै न्यून जग्गामा रहेकाले विद्यालय पुनर्निर्माण गर्न सक्ने अवस्था समेत छैन ।

प्रतिक्रिया