Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

कुशल नेतृत्वका कारण विद्यालयको प्रगति, अर्कोलाई अध्यक्ष बनाउन मान्दैनन् अभिभावक

बुधबार, २९ माघ २०७६

काठमाडौं २९ माघ / अधिकाँश सामुदायिक विद्यालय व्यवसथापन समितिको चयनमा लुछाचुँडी हुँदै आउको खबर सामान्य हुँदै आएको बेला नुवाकोटमा भने तीन दशक देखि एकै व्यक्ति अध्यक्ष हुँदै आएका छन् । विद्यालयको सुृधार र प्रगतीका कारण अभिभावकहरु अरुलाई अध्यक्ष बनाउन मान्दैनन् । त्यसैले यसपटक पनि किस्पाङ गाउँपालिका–३ काउले स्थित ऐंसेलु भुमे माध्यमिक विद्यालयको अध्यक्षमा नन्दराम न्यौपाने नै चयन भएका छन् ।

कान्तिपुरमा तीन दशकदेखि विद्यालयका अध्यक्ष शिर्षकमा प्रकाशित खबर अनुसार घरायसी कामकाज गर्नुबाहेक विद्यालयको रेखदेख गर्नु न्यौपानेको दैनिकी हो । 

सरकारले नुमना विद्यालयका रूपमा छनोट गरेको सामुदायिक विद्यालयमा ३० वर्षदेखि न्यौपानेले व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्दै आएका हुन् । उनी विद्यालय स्थापनाकाल (२०४६) का संस्थापकमध्येका एक हुन् । स्थापनाकालका अध्यक्ष उनले त्यसपछिका वर्षमा पनि एकछत्र विद्यालयको व्यवस्थापकीय पक्षको नेतृत्व गर्दै आए । 

अध्यक्षको कुशल नेतृत्वका कारण विद्यालयको प्रगति हुँदै गएको स्थानीय बताउँछन् । २०४६ यता विद्यालयमा चार प्रधानाध्यापक फेरिए तर अध्यक्ष भने सधैं उनै सर्वसम्मत भएका छन् ।

प्राथमिक विद्यालयका रूपमा स्थापित विद्यालयमा अहिले कक्षा १२ सम्म पढाइ हुन्छ । कृषि विषयमा प्राविधिक धारको कक्षासमेत सुरु भएको छ । २०५८ सालमा निमावि र २०६९ सालदेखि कक्षा ११ को पढाइ थालिएको छ ।

नजिकै निजी स्कुल भए पनि ऐंसेलु भूमे माविप्रति अभिभावकको आकर्षण घटेको छैन । शिक्षक विद्यार्थीको शैक्षिक गतिविधिको ख्याल गर्ने, बेलाबेला अभिभावक डाकेर कुरा सुन्ने अध्यक्षको बानी सबैले मन पराएका छन् । न्यौपाने साधारण साक्षर भए पनि विद्यालयको व्यवस्थापनमा अब्बल रहेको वडाध्यक्ष अमृतबहादुर तामाङले बताए ।

प्रतिक्रिया